15
भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्‍यसैमा रहन्‍छौ ।
2 मैले प्रचार गरेको वचनमा अटल रह्यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्‍छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।
3 किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका लागि मर्नुभयो,
4 उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।
5 त्‍यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो ।
6 त्‍यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्‍ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिँ मरिसकेका छन् ।
7 त्‍यसपछि उहाँ याकूब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो ।
8 अन्‍त्‍यमा उहाँ असमयमा जन्‍मेको बालककहाँ जस्‍तै गरी मकहाँ देखा पर्नुभयो ।
9 किनकि म प्रेरितहरूमध्‍ये सबै भन्‍दा तुच्‍छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।
10 तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्‍दा बढी परिश्रम गरेँ । तरै पनि त्‍यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो ।
11 यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।
12 अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्‍छ भने कसरी तिमीहरूमध्‍ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ ?
13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।
14 र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्‍छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्‍छ ।
15 अनि परमेश्‍वरले ख्रीष्‍टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्‍छौँ ।
16 यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।
17 तर यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्‍छ र तिमीहरू अझै पनि पापमा नै छौ ।
18 तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन् ।
19 यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा भविष्यको निश्‍चयता पाएका छौँ भने त हामी सबै मानिसहरू भन्‍दा बढी दयनीय हुन्‍छौँ ।
20 तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।
21 किनकि मृत्‍यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।
22 किनकि जसरी आदममा सबैको मृत्‍यु हुन्‍छ, त्‍यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् ।
23 तर प्रत्‍येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्‍ट पहिलो फल हुनुहुन्‍छ र त्‍यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।
24 त्‍यसपछि अन्‍त्‍य आउनेछ, जुन बेला ख्रीष्‍टले राज्‍यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ । त्‍यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्‍मूलन गरिदिनुहुनेछ ।
25 किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म उहाँले शासन गर्नुहुनेछ ।
26 नष्‍ट गर्नुपर्ने अन्‍तिम शत्रु मृत्‍यु हो ।
27 किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्‍नुभएको छ” भन्‍नाले यसको अर्थ हुन्‍छ कि सबै कुरा उहाँको अधीनमा राख्‍नेचाहिँ यसमा पर्नुहुन्‍न ।
28 जब सबै कुरा उहाँको अधीनमा राखिन्‍छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्‍वर पिता सबै कुरामा सर्वोच्‍च ठहरिन सक्‍नुभएको होस् भनेर यसो हुनेछ ।
29 नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त ? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्‍तिस्मा लिए ?
30 र किन हामी हरपल खतरामा छौँ ?
31 म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु ।
32 यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्‍यानलाई नै जोखिममा पारेर जङ्‌गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्‍छ र ? त्‍यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ ।”
33 भर्ममा नपर “खराब सङ्‌गतले असल चरित्रलाई बिगार्छ ।”
34 धोका नखाओ ! धार्मिकतामा जिओ ! पाप गरी नरहो । किनकि तिमीहरूमध्‍ये कतिलाई त परमेश्‍वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्‍जित पार्न म यो भन्‍दछु ।
35 तर कसैले यसरी भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्‍छन् ? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन् ?”
36 तिमीहरू अति अन्जान छौ ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन,
37 अनि तिमीहरूले जे रोप्छौ त्‍यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो । त्‍यो गहुँ या अन्‍य कुनै कुरा बन्‍न सक्छ ।
38 तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्‍यसलाई दिनुहुनेछ र प्रत्‍येक बिउलाई त्‍यसको आफ्नै शरीर दिनुहुनेछ ।
39 सबै शरीर उस्तै हुँदैनन् । मानवीय शरीर एक किसिमको हुन्‍छ भने पशुको शरीर अर्को किसिमको र त्‍यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्‍छ ।
40 त्‍यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्‍छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्‍छ ।
41 सूर्यको महिमा एक किसिमको हुन्‍छ र चन्‍द्रमाको अर्कै र त्‍यसरी नै ताराहरूको महिमा फरक हुन्‍छ । किनकि एउटा ताराको महिमा अर्को ताराको भन्‍दा फरक हुन्‍छ ।
42 मृतकहरूको पुनरुत्थान पनि त्‍यस्तै हो । रोपिएको कुरा नष्‍ट भएर जानेछ र उठाइएको कुरा नष्‍ट हुनेछैन ।
43 त्‍यसलाई अनादरमा रोपिन्‍छ र महिमामा उठाइन्‍छ; त्‍यसलाई कमजोरीमा रोपिन्‍छ र शक्‍तिमा उठाइनेछ ।
44 त्‍यसलाई प्राकृतिक शरीरमा रोपिन्‍छ र आत्मिक शरीरमा उठाइन्‍छ । यदि प्राकृतिक शरीर हुन्‍छ भने आत्मिक शरीर पनि हुन्‍छ ।
45 त्‍यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्‍यो ।” अन्‍तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो ।
46 तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्‍यसपछि आत्मिक आयो ।
47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
48 माटोबाट बनेको मानिस जस्‍तो हो; माटोबाट बनिएकाहरू पनि त्‍यस्तै हुन् । र स्वर्गको मानिस जस्‍तो छ, स्वर्गकाहरू पनि त्‍यस्तै हुन्‍छन् ।
49 जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्‍यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ ।
50 त्‍यसैले, अब भाइहरू हो म भन्‍छु कि मासु र रगत परमेश्‍वरको राज्‍यको हकदार हुन सक्‍नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ ।
51 हेर ! म तिमीहरूलाई गोप्य सत्‍य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ ।
52 हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्‍तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्‍नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ ।
53 किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ ।
54 यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्‍यु विजयमा निलिएको छ ।”
55 “हे मृत्‍यु तेरो विजय कहाँ छ ? मृत्‍यु तेरो खिल कहाँ छ ?”
56 मृत्‍युको खिल पाप हो र पापको शक्‍ति व्यवस्था हो ।
57 तर येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्‍वरलाई धन्‍यवाद होस् !
58 त्‍यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैँ परमेश्‍वरको काममा व्यस्त रहो, किनकि परमेश्‍वरमा तिमीहरूको काम व्यर्थ हुँदैन ।