13
मानौँ, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर मसँग प्रेम छैन भने म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्‍छु ।
2 मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
3 र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्‍छु अनि मेरो शरीरलाई जलाउन दिन्‍छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन ।
4 प्रेम सहनशील र दयालु हुन्‍छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहंकारी हुँदैन ।
5 वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ ।
6 प्रेम अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्‍यतामा रमाउँछ ।
7 प्रेमले सबै कुरा सहन्‍छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्‍छ अनि सबै कुरामा स्थिर रहन्‍छ ।
8 प्रेमको कहिलै अन्‍त्‍य हुँदैन । अगमवाणीहरू बितेर जानेछन् । भाषाहरू बन्‍द हुनेछन् । अनि ज्ञान बितेर जानेछ ।
9 किनकि हामी थोरै जान्‍दछौँ र थोरै अगमवाणी बोल्छौँ ।
10 तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ ।
11 जब म बालक थिएँ बालकले जस्‍तै बोलेँ र बालकले जस्‍तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ ।
12 किनकि अहिले हामी ऐनामा अप्रत्‍यक्ष देख्छौँ, तर त्‍यस बेला आमने-सामने देख्‍नेछौँ । अहिले म थोरै जान्‍दछु, तर त्‍यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।
13 तर अब यी तिन वटा कुरा रहन्‍छन्ः विश्‍वास, भविष्‍‍यको निश्‍चयता र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।