12
भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍नँ ।
2 तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ । तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्‍ने मूर्तितिर बहकाइएका थियौ ।
3 त्‍यसकारण, तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु कि परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्‍दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्‍छ” भन्‍न सक्दैन ।
4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्‍छ ।
5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्‍छ ।
6 कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्‍छ ।
7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ ।
8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।
9 त्‍यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ ।
10 एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्‌याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ ।
11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्‍छ । उहाँको इच्‍छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्‍छ ।
12 जसरी शरीर एउटै हुन्‍छ र अङ्‌गहरू धेरै हुन्‍छन् अनि ती सबै अङ्‌ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्‍यस्तै हुन्‍छ ।
13 किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्‍त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।
14 किनकि शरीर एउटै अङ्‌गले मात्र होइन, तर धेरै अङ्‌गहरूले बनेको हुन्‍छ ।
15 यदि खुट्टाले “म हात होइन, त्‍यसैले म शरीरको अङ्‌ग होइन” भन्‍छ भने पनि त्‍यो शरीरको कुनै पनि अङ्‌ग भन्‍दा कम ठहरिँदैन ।
16 र त्‍यसरी नै कानले “म शरीरको आँखा होइन, त्‍यसैले म शरीरको अङ्‌ग होइन” भन्‍छ भने पनि त्‍यो शरीरको कुनै पनि अङ्‌ग भन्‍दा काम ठहरिँदैन ।
17 यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्‍ने कहाँबाट ? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्‍ने कहाँबाट ?
18 तर परमेश्‍वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्‌गहरू मिलाएर राख्‍नुभयो ।
19 यदि सबै अङ्‌गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्‍थ्‍यो र ?
20 यसकारण अङ्‌गहरू धेरै भए तापनि शरीर एउटै छ ।
21 आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्‍न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्‍छ ।
22 बरु कमजोर ठानिएका शरीरका अङ्‌गहरू अत्‍यावश्यक हुन्‍छन् ।
23 अनि हामीले कम आदरका ठान्‍ने शरीरका अङ्‌गहरूलाई हामी झन् बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्‌गहरूलाई झनै बढी भद्रतासाथ राख्छौँ ।
24 देखाउन मिल्ने अङ्‌गहरूलाई इज्‍जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्‍जत पाएका छन् । तर परमेश्‍वरले सम्पूर्ण अङ्‌गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।
25 शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्‌गले उही स्‍नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो ।
26 कुनै एउटा अङ्‌गले दुःख पाउँदा सबै अङ्‌गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्‌गको आदर हुँदा सबै अङ्‌गहरू सँगै आनन्‍दित हुन्‍छन् ।
27 अब तिमीहरू ख्रीष्‍टका शरीर हौ अनि व्यक्‍तिगत रूपले यसका अङ्‌ग हौ ।
28 अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, त्‍यसपछि शक्‍तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्‍तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको छ ।
29 के तिनीहरू सबै प्रेरितहरू हुन् ? के सबै अगमवक्‍ताहरू हुन् ? के सबै शिक्षकहरू हुन् ? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं ?
30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छन् ? के तिनीहरू सबै अन्‍य भाषाहरूमा बोल्छन् ? के तिनीहरू सबैले अन्‍य भाषाहरूको अर्थ खोल्छन् ?
31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।