6
तिमीहरूमध्‍ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्‍यसले न्‍यायको लागि विश्‍वासीहरूको अगाडि नगएर विश्‍वास नगर्ने न्‍यायाधीशको अगाडि जाने आँट गर्छ ?
2 के विश्‍वासीहरूले संसारको न्‍याय गर्छन् भन्‍ने तिमीहरूलाई थाहा छैन ? अनि तिमीहरूले संसारको न्‍याय गर्ने हो भने महत्त्वहीन कुराहरूलाई मिलाउन सक्दैनौ र ?
3 के हामीले स्वर्गदूतहरूको न्‍याय गर्नेछौँ भन्‍ने तिमीहरूलाई थाहा छैन ? त्‍यसो भए, यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्‍याय गर्न सक्छौँ ?
4 त्‍यसो हो भने तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्‍याय गर्नुपर्छ । त्‍यस्ता मुद्धाहरू किन ती मानिसहरूका अगाडि राख्छौ, जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन ।
5 तिमीहरूलाई शर्ममा पार्न म यसो भन्‍दछु । के तिमीहरूको माझमा दाजुभाइका बीचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन ?
6 तर यस्‍तो भएको छ, एक विश्‍वासी अर्को विश्‍वासीको विरुद्धमा अदालत जान्‍छ र अविश्‍वासी न्‍यायाधीशको अगि मुद्धा राख्‍दछ ।
7 वास्तवमा ख्रीष्‍टियानहरूका बीचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो । बरु, किन अन्‍याय नसहनु ? बरु, किन आफैँलाई ठगिन नदिनु ?
8 तर तिमीहरूले अरूको अन्‍याय गरेका र ठगेका छौ, अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन् !
9 अधर्मीहरूले परमेश्‍वरको राज्‍यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन ? झुटको विश्‍वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्‌गीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्‍यको उत्तराधिकारी हुनेछैनन् ।
11 अनि तिमीहरूमध्‍ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्‍वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ ।
12 “सबै कुरा मेरो निम्ति न्‍यायसङ्‌गत छन्”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा मेरो निम्ति न्‍यायसङ्‌गत छन्”, तर म तिनीहरूमध्‍ये कुनै कुराको अधीनमा हुन्‍नँ ।
13 “खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ । शरीर अनैतिक यौन सम्बन्धको लागि होइन । यसको साटो शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुन्‍छ ।
14 परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ ।
15 तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्‌गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन ? तब के मैले ख्रीष्‍टका अङ्‌गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ ? त्‍यसो नहोस् !
16 वेश्यासँग जोडिने व्यक्‍ति त्‍यससँग एउटै शरीर हुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन ? धर्मशास्‍त्रले भन्‍छ, “दुई जना एउटै शरीर हुन्‍छन् ।”
17 प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्‍छ ।
18 यौन अनैतिकतादेखि भाग ! कुनै पनि व्यक्‍तिले गरेका अन्‍य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ ।
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्‍दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र रहनुहुन्‍छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन ?
20 किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ । त्‍यसकारण, तिमीहरूको शरीरमा परमेश्‍वरलाई महिमा देओ ! [टिपोटः केही पुराना प्रतिलिपिहरूमा यस्तो लेखिएको छ] यसकारण तिमीहरूको शरीर र आत्मामा परमेश्‍वरको महिमा गर, जुन परमेश्‍वरको हो । तर उत्तम प्रतिलिपिहरूमा यो छैन ।