7
अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो ।
2 तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।
3 पतिले पत्‍नीलाई उसको वैवाहिक हक देओस् र त्‍यसरी नै पत्‍नीले पनि आफ्नो पतिलाई ।
4 आफ्नो शरीरमाथि पत्‍नीको अधिकार हुँदैन; उसको पतिको हुन्‍छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्‍नीको भने हुन्‍छ ।
5 पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्‍यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस् ।
6 म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्‍दछु ।
7 सबै जना म जस्‍तै भएको म इच्‍छा गर्दछु । तर हरेकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ । एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ ।
8 अविवाहित र विधवाहरूलाई म भन्‍दछु कि तिनीहरू म जस्‍तै अविवाहित रहन्‍छन् भने यो तिनीहरूका लागि असल हुन्‍छ ।
9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नु भन्‍दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।
10 अब विवाहितका निम्ति म यो आज्ञा दिन्‍छु । मैले होइन, तर प्रभुले दिनुहुन्‍छः
11 तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्‍छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”
12 तर बाँकीलाई म भन्‍दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्‍छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्‍तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्‍छेद नगरोस् ।
13 यदि पत्‍नीसँग अविश्‍वासी पति छ भने र ऊ तिनीसँग सन्‍तुष्‍ट छ भने, तिनले ऊसँग सम्बन्ध विच्‍छेद नगरुन् ।
14 किनकि अविश्‍वासी पति पत्‍नीद्वारा पवित्र ठहरिन्‍छ र अविश्‍वासी पत्‍नी विश्‍वासी पतिको कारण पवित्र ठहरिन्‍छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।
15 तर यदि अविश्‍वासी जीवन साथी छुट्टिन्‍छ भने, त्‍यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन । परमेश्‍वरले हामीलाई शान्‍तिमा बस्‍न बोलाउनुभएको छ ।
16 स्‍त्री हो, तिमीलाई के थाहा शायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि ? अथवा पुरुष हो, तिमीलाई के थाहा, शायद तिमीले आफ्नी पत्‍नीलाई बचाउन सक्छौ कि ?
17 प्रभुले खटाएबमोजिम र परमेश्‍वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस्, । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो ।
18 के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो ? उसले आफूलाई खतना नभएको जस्‍तो नदेखाओस् । विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो ? उसले खतना नगरोस् ।
19 न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।
20 परमेश्‍वरले बोलाउनुहुँदा कुनै व्यक्‍ति जस्‍तो अवस्थामा थियो, हरेक त्‍यही बोलावटमा रहोस् ।
21 के परमेश्‍वरले बोलाउनुहुँदा तिमीहरू कमारा थियौ ? यसको बारेमा तिमी फिक्री नगर । तर तिमीहरू स्वतन्‍त्र हुन सक्छौ भने यसको फाइदा उठाओ ।
22 किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको छ भने ऊ प्रभुको स्वतन्‍त्र मानिस हो । यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्‍त्र थियो भने ऊ ख्रीष्‍टको दास हो ।
23 तिमीहरू दाम तिरी किनिएका हौ, त्‍यसैले मानिसहरूको दास नबन ।
24 भाइहरू हो, हामीलाई विश्‍वास गर्न बोलावट हुँदा हामी जस्‍तो अवस्थामा थियौँ, हामी त्‍यही अवस्थमा रहौँ ।
25 अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्‍वासयोग्य ठहरिएको व्यक्‍तिको रूपमा म मेरो राय दिन्‍छु ।
26 त्‍यसकारण, आउन लागेको सङ्‌कष्‍टको कारणले गर्दा जुन व्यक्‍ति जस्‍तो अवस्थामा छ, त्‍यही अवस्थामा बस्‍नु असल हुन्‍छ ।
27 के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ ? तिनीबाट स्वतन्‍त्र हुन नखोज । के तिमी अविवाहित छौ ? पत्‍नीको खोजी नगर ।
28 तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ । कुनै कन्‍या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्‍छु ।
29 तर भाइहरू हो, म यो भन्‍छु कि समय छोटो छ । अब उप्रान्‍त पत्‍नी हुनेहरू पत्‍नी नभए जस्‍तो गरी जिऊन् ।
30 रुनेहरू नरोएको जस्‍तै गरी बसून्; खुसी हुनेहरू खुसी नभएझैँ गरी बसून र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैँ गरून् ।
31 अनि संसारसित व्यवहार गर्नेहरूले यससँग पूर्ण रूपमा नभएझैँ व्यवहार गरून्, किनकी यो संसारको प्रणालीको अन्‍त्‍य हुँदै छ र यो बितेर जाँदै छ ।
32 तिमीहरू निस्फिक्री होओ भन्‍ने म चाहन्‍छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्‍ता गर्दछ ।
33 तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ ।
34 ऊ दोहोरो मनको हुन्‍छ । अविवाहित स्‍त्री वा कन्‍याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्न सकिन्‍छ भनी संसारका कुराहरूको चिन्‍ता गर्दछे ।
35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्‍यही भन्‍दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।
36 कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्‍यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्‍ने ठान्‍छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् ।
37 तर यदि ऊ हृदयमा पक्‍का छ, ऊ कुनै करकापमा परेको छैन भने र उसले आफ्नो इच्‍छा वशमा राख्‍न सक्छ, र उसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्‍यालाई कुमारी नै राख्‍ने निर्णय गरिसकेको छ भने उसले असल नै गर्दछ ।
38 त्‍यसैले, जसले आफ्नी कन्‍यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्‍छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ ।
39 स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्‍छिन् । तर तिनको पतिको मृत्‍यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्‍छिन् त्‍यससँग विवाह गर्न स्वतन्‍त्र हुन्‍छिन्, तर त्‍यो व्यक्‍ति प्रभुमा हुनुपर्छ ।
40 तापनि मेरो विचारमा यदि तिनी त्‍यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्‍छिन् । अनि मसँग पनि परमेश्‍वरको आत्मा छ भनी म विचार गर्दछु ।