5
तिमीहरूका बीचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौँ । यस्तो खालको व्यभिचार त अन्‍यजातिहरूमा पनि स्वीकार्य हुँदैन । तिमीहरूमध्‍ये एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ भन्‍ने खबर हामीले पाएका छौँ ।
2 तिमीहरू यति अहंकारी छौ ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र ? यस्तो काम गर्ने व्यक्‍तिलाई तिमीहरूका माझबाट हटाइनुपर्दछ ।
3 किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु; त्‍यस्तो काम गर्नेलाई म त्‍यहीँ भए जस्‍तै गरेर मैले अगिबाटै न्‍याय गरिसकेको छु ।
4 जब तिमीहरू येशू प्रभुको नाउँमा एक साथ भेला हुन्‍छौ, येशू प्रभुको शक्‍तिमा मेरो आत्मा त्‍यहाँ उपस्थित हुन्‍छ; त्‍यस मानिसलाई मैले अगि नै न्‍याय गरेको छु ।
5 शरीरको विनाशको निम्ति त्‍यस मानिसलाई मैले शैतानको हातमा सुम्‍पेको छु, ताकि प्रभुको दिनमा त्‍यस मानिसको आत्माचाहिँ बाँचोस् ।
6 तिमीहरूको घमण्ड ठिक होइन । के थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्‍ने तिमीहरू जान्‍दैनौ ?
7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक; फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्‍न सक । किनभने हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ ।
8 त्‍यसैकारण, पुरानो खमिर अर्थात् दुष्‍टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्‍यताको अखमिरी रोटीका साथ चाड मनाऔँ ।
9 मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ ।
10 त्‍यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्‌गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्‍छ ।
11 तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्‌गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ ।
12 किनभने म किन मण्डली बाहिरकाहरूको न्‍याय गर्ने काममा संलग्‍न हुनु ? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्‍याय गर्नुपर्ने होइन र ?
13 तर बाहिरकाहरूको न्‍याय परमेश्‍वरले गर्नुहुन्‍छ । “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ ।”