लुका 15:1-10
15
अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए ।
2 फरिसीहरू र शास्‍त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ ।”
3 येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो,
4 “तिमीहरूमध्‍ये कुनचाहिँ होला, यदि उसका सय वटा भेडा छन् र त्‍यसमध्‍ये एउटा हराएमा, उनान्‍सय वटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन ?
5 त्‍यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ ।
6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्‍छ, ‘मसँग आनन्‍दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’
7 म पनि तिमीहरूलाई भन्‍दछु, कि उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरू भन्‍दा पश्‍चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठूलो रमाहट हुनेछ ।
8 अथवा कुन स्‍त्री होला जससँग दस वटा चाँदीका सिक्‍काहरूमध्‍ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्‍यानसाथ खोज्दिनन् र ?
9 जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्‍का भेट्टाएकी छु ।’
10 त्‍यसै गरी, म तिमीहरूलाई भन्‍दछु, कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्‍द हुनेछ ।”
लुका 15:11-32
11 त्‍यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,
12 र कान्‍छाले उसका बुबालाई भन्‍यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस् ।’ त्‍यसैले, तिनीहरूका बीचमा उनले सम्पत्ति बाँडिदिए ।
13 धेरै दिन नबित्दै, कान्‍छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनाअवश्यक थोकहरू किनेर त्‍यहाँ उनले जथाभावी रुपियाँ-पैसा खर्च गरे ।
14 जब उनले सबै खर्च गरी सिध्‍याए, त्‍यहाँ देशभरि ठूलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले ।
15 उनी त्‍यस देशको एक जना नागरिककहाँ गए र काम खोजे, ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए ।
16 उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्‍थे ।
17 तर जब कान्‍छा छोरा आफैले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु !
18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु ।
19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्‍ये एक नोकर बनाउनुहोस् ।’
20 यसरी कान्‍छो छोराले त्‍यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए ।
21 छोराले बुबालाई भन्‍यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्‍टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’
22 बुबाले सेवकहरूलाई भने, ‘तुरुन्‍तै उत्तम वस्‍त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ ।’
23 त्‍यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ ।
24 किनकि मेरो छोरा मरेको थियो, अब जीवित भएको छ; हराएको थियो, तर अब भेटिएको छ। तिनीहरूले उत्सव मनाउन सुरु गरे ।’
25 अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने ।
26 उनले सेवकहरूमध्‍ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे ।
27 सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो ।
28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले ।
29 तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ, मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ, तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्‍द मनाउन एउटा पाठो पनि दिनुभएन,
30 तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्‍यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’
31 बुबाले उनलाई भने, ‘छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन् ।
32 तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेको थियो र अहिले जीवित भएको छ; र ऊ हराएको थियो र अहिले भेटिएको छ‘ ।”