लुका 16:1-18
16
येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्‍यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।
2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्‍दै छु ? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्‍त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’
3 त्‍यो व्यवस्थापकले आफैसँग भन्‍यो, ‘मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्, म के गरूँ ? मेरो खन्‍ने तागत छैन; मलाई माग्‍न पनि लाज लाग्दछ ।
4 मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ । मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्‍याऊन् भनी म यसो गर्नेछु ।’
5 तब त्‍यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्‍येकलाई बोलायो र पहिलो चाहिँलाई भन्‍यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ ? ’
6 उसले भन्‍यो, ‘एक सय माना जैतूनको तेल ।’ उसले त्‍यसलाई भन्‍यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्‍तै बसेर पचास लेख ।’
7 तब त्‍यस व्यवस्थापकले अर्कोलाई भन्‍यो, ‘तिम्रोचाहिँ ऋण कति छ ?’ उसले भन्‍यो, ‘एकसय माना गहुँ ।’ उसले त्‍यसलाई भन्‍यो, ‘तिम्रो तमसुक ल्याऊ र असी लेख ।’
8 तब ती मालिकले त्‍यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्‍योतिका सन्‍तान भन्‍दा यस संसारका सन्‍तानहरू बढी चतुर हुन्‍छन् ।
9 म तिमीहरूलाई भन्‍दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्‍त वासस्थानमा स्वागत गरून् ।
10 जो अत्‍यन्‍तै थोरैमा विश्‍वासयोग्य हुन्‍छ, त्‍यो धेरैमा पनि विश्‍वासयोग्य हुन्‍छ र जो अत्‍यन्‍तै थोरैमा अधर्मी हुन्‍छ, त्‍यो धेरैमा पनि अधर्मी हुन्‍छ ।
11 त्‍यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र ?
12 त्‍यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र ?
13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्‍यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्‍छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”
14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने र तिनीहरूले उहाँको गिल्ला गरे ।
15 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको दृष्‍टिमा तिमीहरूले आफैलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्‍छ । जो मानिसहरूका माझमा उच्‍च हुन्‍छ, त्‍यो परमेश्‍वरको नजरमा घृणित हुन्‍छ ।
16 यूहन्‍ना आउनअगि अगमवक्‍ता र व्यवस्थाले काम गर्दथे । त्‍यस समयदेखि, परमेश्‍वरको राज्‍यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् ।
17 स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन ।
18 प्रत्‍येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्‍छ र अर्कीसँग विवाह गर्छ, त्‍यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्‍यसले पनि व्यभिचार गर्छ ।
लुका 16:19-31
19 अब कोही एक जना धनी मानिस थियो र उसले सधैँ मसिनो मलमल र वैजनी वस्‍त्र पहिरन्‍थ्यो र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्‍द गर्दथ्यो ।
20 लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्‍थे ।
21 उसले त्‍यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्‍छा गर्थ्‍यो र त्‍यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे ।
22 यसपछि त्‍यो भिखारी मर्‍यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्‍यो धनी मानिस पनि मर्‍यो र गाडियो ।
23 र नरकमा कष्‍ट भोगिरहेको बेला, उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो ।
24 अनि उसले कराएर भन्‍यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’
25 तर अब्राहामले भने, ‘बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ र त्‍यसै गरी लाजरसले खराब कुराहरू पायो भन्‍ने कुरा याद राख । तर अहिले ऊ यहाँ आराममा छ र तिमी पीडामा छौ ।
26 र यी सबै बाहेक तिम्रो र हाम्रो बीचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’
27 धनी मानिसले भन्‍यो, ‘म बिन्‍ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् ।
28 किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी देओस् र तिनीहरू यस कष्टको ठाउँमा आउनु नपरोस् ।’
29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’
30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्‍चात्ताप गर्ने थिए ।’
31 अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्‍युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्’ ।”