लुका 14:1-24
14
एक विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।
2 हेर, त्‍यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो ।
3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन ?
4 तर तिनीहरू मौन रहे । त्‍यसैले, येशूले त्‍यसलाई समातेर निको पार्नुभयो र उसलाई पठाइदिनुभयो ।
5 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्‍तै बाहिर निकाल्दैन र ?”
6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।
7 जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्‍ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा दृष्टान्त भन्‍नुभयो ।
8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस किनकि तिमी भन्‍दा अझै आदरको मानिसलाई बोलाएको हुन सक्दछ ।
9 जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्‍दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘ भन्ला र लाजकासाथ तिमीले त्‍यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्‍नुपर्ने हुन्‍छ ।
10 तर जब तिमीलाई निमन्‍त्रणा गरिन्‍छ, गएर कम महत्त्‍वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्‍नेहरूका बीचमा तिम्रो आदर हुनेछ ।
11 हरेक जसले आफूलाई उचाल्दछ त्‍यसलाई होच्‍याइनेछ, र जसले आफूलाई होच्‍याउँछ त्‍यो उच्‍च पारिनेछ ।
12 उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्‍नुभयो, “जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्‍यसको बदला बोलाउन सक्दछन् ।
13 तर जब तिमीले भोज दिन्‍छौ, गरिब, लुला-लङ्‌गडा र दृष्‍टिविहीनहरूलाई बोलाऊ ।
14 र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
15 येशूसँगै टेबिलमा बस्दा तिनीहरूमध्‍ये एक जना जसले यी कुराहरू सुन्‍यो, जब उसले उहाँलाई भन्‍यो, “त्‍यो धन्‍यको हो जसले परमेश्‍वरको राज्‍यमा भोज खानेछ ।”
16 तर येशूले त्‍यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठूलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो ।
17 जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’
18 तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्‍यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्‍यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
19 र अर्कोले भन्‍यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्‍नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
20 र अर्को मानिसले भन्‍यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्‍यसकारण म आउन सक्दिनँ ।’
21 त्‍यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्‍यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्‌गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’
22 तब सेवकले भन्‍यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्‍यहाँ अझै ठाउँ बाँकी छ ।’
23 मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।
24 किनकि म तिमीलाई भन्‍दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’
लुका 14:25-35
25 ठूलो भीड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्‍नुभयो,
26 “यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिनी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
27 जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।
28 तिमीहरूमध्‍ये को होला, जसले एउटा धरहरा बनाउने इच्‍छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्‍यसको हिसाब गर्दैन र ?
29 नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, यसलाई देख्‍ने सबैले उसको गिल्ला गर्नेछन् र
30 भन्‍नेछन्, ‘यो मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’
31 अथवा त्‍यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन ?
32 र यदि सक्दैन भने, अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्‍तिको शर्त राख्‍न सक्छ ।
33 त्‍यसैले, तिमीहरूमध्‍ये कसैले आफूसँग भएको सबै कुरा त्‍याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
34 नून असल हो, तर यदि नूनले यसको स्वाद गुमायो भने, यसलाई कसरी फेरि नुनिलो बनाउने ?
35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । यो कुल्चन र फ्याँक्‍नको लागि मात्र हुन्‍छ । जसको कान छ,त्‍यसले सुनोस् ।”