11
उहाँले प्रार्थना गरिसक्नुपछि उहाँका चेलाहरूमध्ये एक जनाले भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्नाले आफ्नो चेलालाई सिकाएका थिए ।”
2 येशूले तिनीहरूलाई भन्नुभयो, “जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् ।
3 हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस् ।
4 हाम्रा पापहरू क्षमा गर्नुहोस, जसरी हामीले हाम्रा अपराधीहरूलाई क्षमा गरेका छौँ । हामीलाई परीक्षामा नडोर्याउनुहोस् ।’
5 येशूले तिनीहरूलाई भन्नुभयो, “तिम्रो यस्तो मित्र होला जसले मध्य-रातमा गएर तिमीलाई भन्नेछ ‘हे मित्र, मलाई तीन वटा रोटी सापट दिनुहोस् ।
6 मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’
7 त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’
8 म तिमीलाई भन्दछु, कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा र लगातार मागिरहेको कारणले ऊ उठ्नेछ र तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ ।
9 म तिमीलाई भन्दछु, “माग, र तिमीलाई यो दिइनेछ; खोज, र तिमीले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिम्रो लागि यो उघारिनेछ ।
10 माग्ने हरेकले यो पाउनेछ; र खोज्ने व्यक्तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्तिका लागि उघारिनेछ ।
11 तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला अथवा माछा माग्दा सर्प देला र ?
12 अथवा उसले अन्डा माग्दा, तिमीले बिच्छी दिन्छौ र ?
13 त्यसैकारण, तिमीहरू दुष्ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछैन र ?”
14 त्यसपछि, येशूले बोल्न नसक्ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भीड छक्क पर्यो ।
15 त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, “भूतहरूको शासक बालजिबुलद्वारा त्यसले भूतात्मालाई निकाल्यो ।”
16 तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो ।
17 तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्नुभयो र भन्नुभयो, हरेक राज्य एक-अर्काको विरुद्धमा विभाजन गरिनेछ र घरहरू एक-आपसको विरुद्धमा खडा भइ नष्ट हुन्छ।
18 यदि भूतहरू एक आपसमा विभाजित हुन्छन् भने, कसरी तिनीहरूको राज्य रहन सक्दछ ? तिमीहरूले भन्छौ, मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु ।
19 यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त ? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् ।
20 तर यदि मैले परमेश्वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्वरको राज्य तिमीहरूमा आएको छ ।
21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने, त्यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्छन् ।
22 तर कुनै अझ बलियो मानिसले त्यसलाई जित्यो भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछ र मानिसका धन सम्पत्तिहरू लुट्नेछ ।
23 मसंग नहुने, मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपष्ट पार्छ ।
24 जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, त्यो पानी नभएको ठाउँ भएर गयो र त्यसले आरामको लागि ठाउँ खोज्छ। त्यसले कुनै ठाउँ पनि बस्नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्कीजानेछु ।
25 फर्की सकेपछि, त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो ।
26 त्यसपछि, ऊ जानेछ र अन्य सात वटा भूतात्मालाई पनि बोलाउनेछ र तिनीहरूसँगै बस्नेछ र त्यो मानिसको अवस्था पहिलेको भन्दा अझ खराब हुनेछ ।
27 उहाँले यो कुरा भन्दै गर्नुहुँदा, एउटी स्त्रीले भीडबाट कराएर उहाँलाई भनी “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् र दूध चुसाइन् र हुर्काइन् ।”
28 तर उहाँले भन्नुभयो, “त्यो भन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।”
29 जब अझ धेरै मानिसहरू जम्मा भए, उहाँले तिनीहरूलाई भन्नुभयो, “यो पुस्ता दुष्ट पुस्ता हो, यिनीहरूले चिह्न खोज्नेछन्, तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन ।
30 जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए, त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ ।
31 दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन्, किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्न आएकी थिइन् र हेर, सोलोमन भन्दा पनि महान् यहाँ छ ।
32 निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् र यिनीहरूलाई दोष लगाउनेछन् । तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरे र हेर, योना भन्दा पनि महान् कोही यहाँ छ ।
33 कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन, तर त्यसलाई सामदानमा राख्दछ, ताकि त्यो भएर जाने हरेकलाई उज्जालो होस् ।
34 तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्नेछ ।
35 त्यसैकारण, होशियार रहो, कि तिमीमा भएको ज्योति अन्धकार नहोस् ।
36 यदि त्यसो भए, तिम्रो पुरै शरीर ज्योति हो, यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन, त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमक जस्तै तिमीमा चम्कोस् ।
37 उहाँले बोलिसक्नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्नुभयो ।
38 खाना खानु भन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्क परे ।
39 तर प्रभुले तिनीहरूलाई भन्नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।
40 हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र ?
41 तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् ।
42 धिक्कार तिमी फरिसीहरू, किनभने तिमीहरूले पुदिना, सुप र जडीबुटीको दशांश त दिन्छौ, तर तिमीहरू न्याय र परमेश्वरको प्रेमलाई बेवास्ता गर्छौ । तर तिमीहरूले परमेश्वरको प्रेम र धार्मिकताबमोजिम काम गर्नुपर्ने हो । यी काम गर्न असफल नहोओ ।
43 धिक्कार फरिसीहरू, तिमीहरूले सभाघरको अगाडि बस्ने मानिसहरूलाई सहरहरूमा आदर र इज्जत गर्दछौ ।
44 तिमीहरूलाई धिक्कार होस्, तिमीहरू चिह्न नलगाइएको चिहान जस्तै छौ । मानिसहरू केही थाहा नपाईकन हिँड्ने छन् ।”
45 अनि केही यहूदी व्यवस्थाका शिक्षकहरूले जवाफ दिँदै भने, “गुरु, तपाईं हामीलाई किन अपमान गर्नुहुन्छ ।”
46 येशूले भन्नुभयो, “तिमीहरूलाई धिक्कार व्यवस्थाका शिक्षकहरू, तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ, तर तिमीहरूले आफ्नो एक औँलाले पनि ती भारहरूलाई उठाउँदैनौ ।
47 तिमीहरूलाई धिक्कार, किनभने तिमीहरूले अगमवक्ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् ।
48 त्यसैले, तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ ।
49 त्यसैकारणले गर्दा, परमेश्वरको विवेकले भन्दछ, “म तिनीहरूकहाँ अगमवक्ता र प्रेरितहरू पठाउनेछु र तिनीहरूले सताउनेछन् र उनीहरू मध्ये कतिलाई मार्नेछन् ।
50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ ।
51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।
52 यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ । तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ र तिमीहरूले प्रवेश गर्नेहरूलाई रोक्यौ।
53 येशू त्यहाँबाट गइसक्नुभएपछि, शास्त्रीहरू र फरिसीहरूले उहाँको विरोध गरे र धेरै विषयहरूमा उहाँसंग वादविवाद गर्न लागे ,
54 उहाँको आफ्नै वचनको कारण उहाँलाई पासोमा पार्ने कोसिस गरे ।
