लुका 12:1-21
12
त्‍यसै बेला, जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए । उनीहरूको सङ्ख्या अत्‍यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थिए,उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍न सुरु गर्नुभयो, “फरिसीहरूको खमिरदेखि होशियार रहो, जुनचाहिँ पाखण्डीपना हो ।
2 तर कुनै पनि कुराहरू गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन् र कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस् ।
3 यसकारण, तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ, त्‍यो ज्‍योतिमा सुनिनेछ र जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ, त्‍यो घरको धुरीबाट घोषणा गरिनेछ ।
4 मेरा मित्रहरू, म तिमीलाई भन्‍दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्‍यसपछि तिनीहरूले केही गर्न सक्दैनन् ।
5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्‍छु । त्‍यो व्यक्‍तिसँग डराओ जससित मरेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्‍दछु, उहाँसँग नै डराओ ।
6 के पाँच वटा भङ्‌गेरा दुई सिक्‍कामा बेचिँदैनन् र ? परमेश्‍वरको दृष्‍टिबाट एउटा पनि बिर्सेको हुँदैन ।
7 तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ । उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्‌गेराहरू भन्‍दा पनि मूल्यवान् छौ ।
8 म तिमीलाई भन्‍दछु, कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ, परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन् ।
9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।
10 हरेक जसले परमेश्‍वरका पुत्रको विरुद्धमा बोल्दछ, उसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्‍दा गर्दछ, उसलाई क्षमा गरिनेछैन ।
11 जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक र अधिकारीहरूको अगि ल्याउनेछन्, कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने विषयमा चिन्‍तित नहोओ ।
12 पवित्र आत्माले तिमीहरूलाई त्‍यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ ।
13 त्‍यसपछि भीडबाट एक जनाले उहाँलाई यसो भन्‍यो, “गुरुज्‍यू, मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस् ।”
14 येशूले त्‍यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्‍यायधीश र मध्‍यस्तकर्ता बनायो ?”
15 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैलाई लोभी इच्‍छाहरूबाट अलग राख, किनभने कसैको जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”
16 तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
17 र उसले मनमनै भन्‍न लाग्यो, ‘म के गरूँ, किनकि मसँग अन्‍नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन ?‘
18 उसले भन्‍यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु । त्‍यहीँ नै सबै अन्‍नहरू र अन्‍य सामग्री भण्डारण गर्नेछु ।’
19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर, खा, पि र आनन्‍दित हो ।’
20 तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ ?’
21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछ र परमेश्‍वरको दृष्टिमा त्यो धनी होइन।”
लुका 12:22-48
22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्‍दछु, आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्‍ता नगर ।
23 जीवन खानेकुरा भन्‍दा र शरीर लगाउने कुरा भन्‍दा अझ बढी उत्तम छ ।
24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न त बटुल्दछन् । उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन, तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्‍छ । तिमी चराहरू भन्‍दा धेरै मूल्यवान् छौ ।
25 र के तिमीहरूमध्‍ये कसैले चिन्‍ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्‍न सक्छौ र ?
26 तिमीहरू सबै भन्‍दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्‍तित हुन्‍छौ ?
27 मैदानका लिली फुलहरूलाई विचार गर, तिनीहरू कसरी बढ्छन् ? न त तिनीहरूले परिश्रम गर्छन्, न त मेहनत नै गर्छन, म तिमीहरूलाई भन्‍दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन् ।
28 यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्‍छ जुन आज अस्तित्वमा छ, तर भोली आगोमा फालिनेछ भने, हे अल्प विश्‍वासी हो, त्‍यो भन्‍दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ ।
29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्‍ता नगर ।
30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्‍छ ।
31 तर उहाँको राज्‍यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।
Teaching About Prayer and Faith
32 सानो बगाल हो, नडराओ, किनकि तिमीहरूका पिताले तिमीहरूलाई राज्‍य दिन अति प्रसन्न हुनुहुन्‍छ ।
33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । आफ्नो निम्ति थोत्रो नहुने थैली बनाओ - कहिल्यै नष्ट नहुने धन स्वर्गमा संचय गर, जहाँ चोर नजिक आउँदैन, र किराले पनि नष्ट पार्दैन ।
34 जहाँ तिम्रो धन छ, त्‍यहीँ नै तिम्रो मन पनि हुनेछ ।
35 तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् ।
36 आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । ताकि जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्‍तै ढोका खोल्न सकून् ।
37 धन्‍य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्‍दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।
38 यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रो चोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने, तिनीहरू धन्‍यका हुन् ।
39 तर पनि यो जानी राख, कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो ।
40 जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्‍ने कुरा थाहा छैन ।”
41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो दृष्‍टान्‍त हामीलाई मात्रै भन्‍नुभएको हो, कि सबैलाई ?”
42 प्रभुले भन्‍नुभयो, “विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्‍छन् ।
43 धन्‍य हो त्‍यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।
44 म साँचो भन्‍दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ ।
45 तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्‍दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्‍त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्‍छ ।
46 त्‍यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्राटुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ ।
47 त्‍यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैलाई तयार नगरी वा आफ्नो इच्‍छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ ।
48 तर जसले थाहै नभईकन मुक्‍का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्‍काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ ।
लुका 12:49-59
49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ र म जे चाहन्‍छु त्‍यो भइसकेको छ ।
50 तर मैले एउटा बप्‍तिस्‍मा लिनुपर्नेछ, यो पुरा नहुन्जेलसम्म मैले कष्‍ट भोग्‍नुपर्छ ।
51 के म पृथ्वीमा शान्‍ति ल्याउन आएको हुँ भनी सोच्द्छौ ? होइन, म तिमीहरूलाई भन्‍दछु, कि म बरु विभाजन ल्याउन आएँ ।
52 अब परिवारमा भएका पाँच जना मानिसमध्‍ये तिन जना दुई जनाको विरुद्धमा वा दुई जना तिन जनाको विरुद्धमा हुनेछन् ।
53 त्‍यहाँ विभाजन हुनेछ । बाबुको विरुद्धमा छोरा र छोराको विरुद्धमा बाबु हुनेछ; आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा हुनेछिन् ।
54 येशूले भीडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठेको देख्दछौ र तुरुन्‍तै भन्‍दछौ, ‘वृष्‍टि हुनेछ र त्‍यस्तै हुनेछ ।’
55 जब दक्षिणबाट बतास बहन्‍छ, तिमीहरू भन्‍दछौ, ‘त्‍यो एकदमै प्रचण्ड तातो हुनेछ र त्‍यस्तै हुनेछ ।’
56 पाखण्डीहरू हो, तिमीहरू जान्‍दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्‍यो भन्‍न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्‍न सक्दैनौ ?
57 तिम्रो आफ्नै लागि जे कुरा ठिक छ, त्‍यसमा किन न्‍याय गर्दैनौ ?
58 तिमी आफ्नो विरोधीसँग प्रशासककहाँ जाँदा, बाटोमा नै आफ्नो मुद्दा मिलाऊ ताकि उसले तिमीलाई न्‍यायमा नडोर्‍याओस् र हाकिमकहाँ नसुम्पोस्, नत्रता हाकिमले तिमीलाई झ्यालखानामा हाल्नेछ ।
59 म तिमीलाई भन्‍दछु, “तिमी कहिल्यै पनि त्‍यहाँबाट मुक्‍त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्‍यसको पैसा चुक्‍ता गर्दैनौ ।”