लुका 10:1-24
10
अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी जनालाई नियुक्‍त गर्नुभयो, र जहाँ उहाँ आफैँ जान चाहनुहुन्‍थ्यो हरेक सहर र ठाउँमा तिनीहरूलाई उहाँको अगि-अगि जोडी-जोडी बनाएर पठाउनुभयो ।
2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर, ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन् ।
3 आफ्नो बाटो लाग। हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडा जस्‍तै पठाउँदै छु ।
4 पैसाको थैली नबोक, यात्राको निम्ति झोला नबोक, न त फाल्तु चप्‍पलहरू, र बाटोमा कसैलाई अभिवादन नगर ।
5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन “यस घरमा शान्‍ति होस् ।”
6 यदि एउटा शान्‍तिप्रिय मानिस त्‍यहाँ छ भने, तिमीहरूको शान्‍ति उसँग रहनेछ, तर यदि होइन भने, यो तिमीहरूमा नै फर्कनेछ ।
7 तिनीहरूले जे दिन्‍छन्, त्‍यहीँ खादै र पिउँदै त्‍यही घरमा रहो, किनकि खेताला उसको ज्‍यालाको योग्य हुन्‍छ । एउटा घरबाट अर्को घरमा नजाओ ।
8 तिमीहरू जुन सहरमा जान्‍छौ, त्‍यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ,
9 र त्‍यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्‍य तिमीहरूको नजिक आएको छ ।”
10 तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्‍यस सहरका सडकहरूमा गएर यसो भन,
11 “तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउँदछौं । तर यो जान कि परमेश्‍वरको राज्‍य तिमीहरूको नजिक आएको छ ।”
12 म तिमीहरूलाई भन्‍दछु, कि न्‍यायको दिन त्‍यस सहरलाई भन्‍दा सदोमका निम्ति सह्य हुनेछ ।
13 खोराजीन, तँलाई धिक्‍कार छ ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्‌ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे ।
14 तर न्‍यायको दिनमा तिमीहरूलाई भन्‍दा टुरोस र सदोमलाई बढी सहज हुनेछ ।
15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्‍छस् जस्‍तो लाग्छ ? होइन, तँलाई पातालमा खसालिनेछ ।
16 जसले तिमीहरूले भनेको सुन्‍छ, त्‍यसले मैले भनेको सुन्‍छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्‍यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्‍यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
17 सत्तरी जना आनन्‍दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन् ।”
18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली जस्‍तै खसेको देखिरहेको थिएँ ।
19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन ।
20 तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्‍दित होओ ।”
21 त्‍यही समय उहाँ पवित्र आत्मामा आनन्‍दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो ।”
22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्‍दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्‍छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्‍दैन ।”
23 चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्‍यका हुन् ।
24 म तिमीहरूलाई भन्‍दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्‍ने इच्‍छा गरे र तिनीहरूले देखेनन्, तिमीहरूले सुनेको कुरा सुन्‍ने इच्‍छा गरे र पनि तिनीहरूले सुनेनन् ।”
लुका 10:25-42
25 हेर, एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्‍दै उहाँलाई जाँचे “गुरु, मैले अनन्‍त जीवन पाउन के गर्नुपर्छ ?”
26 येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ ? तिमीहरू यसलाई कसरी पढ्छौ ?”
27 तिनले जवाफ दिँदै भने, “तिमीले आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू ।”
28 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दियौ । त्यसै गर, र तिमी जिउनेछौ ।”
29 तर ती व्यवस्थाको शिक्षकले आफैलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने, “मेरो छिमेकी को हो ?”
30 येशूले जवाफ दिँदै भन्‍नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अधमरोअवस्थामा छोडे ।
31 त्‍यसै बेला एक जना पूजाहारी त्‍यही बाटो भएर झरे र जब उनले त्‍यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए ।
32 त्यसै गरी, एक जना लेवी पनि त्‍यस ठाउँमा आइपुगे र त्‍यसलाई देखे र अर्को छेउबाट भएर गए ।
33 तर एक जना सामरी पनि यात्रा गर्दा त्‍यो भएको ठाउँमा आइपुगे । जब उनले त्‍यसलाई देखे, उनी दयाले भरिए ।
34 उनी त्‍यसको नजिक गए र उसको घाउमा पट्टी बाँधिदिए अनि तेल र दाखमद्य लगाइदिए । उनले आफ्नो जनावरमाथि राखेर त्‍यसलाई पौवामा ल्याए र उसको हेरचाह गरे ।
35 अर्को दिन उनले दुई दिनार झिकेर पौवाको मालिकलाई दिएर भने, “यसको हेरचाह गर, तिमीले गरेको अन्‍य खर्च पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।”
36 यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तीन जनामध्‍ये कुनचाहिँ हो जस्‍तो तिमीलाई लाग्छ ?”
37 ती शिक्षकले भने, “जसले त्‍यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमीले पनि त्‍यसै गर ।”
Parable of the Good Samaritan
38 जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन् ।
39 मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्‍दथिन् ।
40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन ? त्‍यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् न।”
41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्‍ता गर्दछ्यौ ।
42 तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबै भन्‍दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”