मत्ती 15:1-20
15
त्‍यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,
2 “किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्‌घन गर्दछन् ? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन् ?”
3 येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिं किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्‌घन गर्दछौ ?
4 किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ, त्‍यो निश्‍चय नै मर्नेछ ।’
5 तर तिमीहरू भन्‍छौ, ‘जसले आफ्नो बुबा र आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्‍यो अब परमेश्‍वरलाई चढाइएको छ’ भनेर भन्‍दछ भने,
6 त्‍यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन । यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई बेकम्मा बनाएका छौ ।
7 ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,
8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् ।
9 तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्‍तहरूलाई मानिसहरूले आज्ञा गरेअनुसार सिकाउँदछन्’ ।”
10 त्‍यसपछि उहाँले भीडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ–
11 मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु, जुन कुरा मुखबाट बाहिर आउँछ, त्‍यसले मानिसलाई अपवित्र बनाउँदछ ।”
12 त्‍यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ ?”
13 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्‍यो उखेलिनेछ ।
14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”
15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्‍तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”
16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ ?
17 के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्‍यो पेटमा जान्‍छ र त्‍यो शौचालयमा बाहिर निस्कन्‍छ ।
18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन् । यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन् ।
19 किनकि दुष्‍ट विचारहरू, हत्‍या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झूटो गवाही र अपमान हृदयबाट निस्कन्‍छन् ।
20 यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन् । तर हात नधोई खाना खाँदा त्‍यसले मानिसलाई अपवित्र बनाउँदैन ।”
मत्ती 15:21-39
21 त्‍यसपछि येशू त्‍यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।
22 र हेर, एउटी कनानी स्‍त्री त्‍यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन् ।”
23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्‍दै बिन्‍ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्‍च्‍याइरहेकी छन् ।”
24 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।”
25 तर तिनी आइन् र उहाँको अगाडि घोप्‍टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस् ।”
26 उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।”
27 तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबिलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन् ।”
28 त्‍यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “ए नारी, तिम्रो विश्‍वास महान् छ । तिमीले इच्‍छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्‍यही घडी तिनकी छोरी निको भइन् ।
29 येशूले त्‍यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्‍यसपछि उहाँ डाँडामाथि जानुभयो र त्‍यहीं बस्‍नुभयो ।
30 ठूलो भीड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्‌गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
31 गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्‌गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भीडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्‍यवाद दिए ।
32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भीडमाथि दया लागेको छ, किनकि तिनीहरू तीन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”
33 चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भीडलाई सन्‍तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौं ?”
34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन् ?” तिनीहरूले भने, “सात वटा र केही स-साना माछा छन् ।”
35 त्‍यसपछि येशूले भीडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो ।
36 उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्‍यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भीडलाई दिए ।
37 मानिसहरू सबैले खाए र सन्‍तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।
38 स्‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, खानेहरू चार हजार पुरुषहरू थिए ।
39 त्‍यसपछि येशूले भीडलाई पठाउनुभयो र डुङ्‌गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।