मत्ती 16:1-12
16
फरिसीहरू र शास्‍त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।
2 तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “जब साँझ हुन्‍छ, तिमीहरू भन्‍छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’
3 र बिहान तिमीहरू भन्‍छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्‍दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।
4 एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्‍यसलाई दिइनेछैन ।” त्‍यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्‍यहाँबाट टाढा जानुभयो ।
5 चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से ।
6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
7 चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्‍दै हुनुहुन्‍छ ।”
8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनें भनेर भन्‍दछौ ?
9 पाँच हजार जनाको निम्ति पाँच वटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ ?
10 अथवा चार हजार जनाको निम्ति सात वटा रोटी र तिमीहरूले कति टोकरी उठायौ ?
11 मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ ? ध्‍यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
12 त्‍यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
मत्ती 16:13-28
13 जब येशू कैसरिया फिलिप्‍पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्‍छन् ?”
14 उनीहरूले भने, “कोही भन्‍छन् बप्‍तिस्मा-दिने यूहन्‍ना, कोहीले एलिया, र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्‍ये एक हुन् भनेर भन्‍दछन् ।”
15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्‍छौ ?”
16 सिमोन पत्रुसले उत्तर दिँदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्‍छ ।”
17 येशूले उत्तर दिनुभयो र उनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्‍यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
18 म तिमीलाई यो पनि भन्‍दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् ।
19 म तिमीलाई स्वर्गको राज्‍यका साँचाहरू दिनेछु । तिमीले पृथ्वीमा जे कुरा बाँध्‍नेछौ, त्‍यो स्वर्गमा बाँधिनेछ, र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ, त्‍यो स्वर्गमा फुकाइनेछ ।”
20 त्‍यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।
21 त्‍यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पूजाहारीहरू र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्‍छ भनी बताउन थाल्नुभयो ।
22 तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्‍दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”
23 तर येशू फर्कनुभयो र पत्रुसलाई भन्‍नुभयो, “शैतान, मबाट टाढा होइजा ! तँ मेरो लागि बाधा होस्, किनकि तैंले परमेश्‍वरका कुराहरूलाई ध्‍यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्‍यान लगाउँछस् ।”
24 त्‍यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्‍छा गर्छ भने, उसले आफैलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
25 किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्‍यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्‍यसले त्‍यो प्राप्‍त गर्नेछ ।
26 किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिं गुमायो भने उसलाई के लाभ हुन्‍छ र ? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ ?
27 किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्‍यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
28 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यहाँ खडा भएकाहरूमध्‍ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्‍यमा आउँदै गरेको नदेखुन्जेलसम्म मृत्‍यु चाख्‍नेछैन ।”