मत्ती 14:1-21
14
त्‍यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।
2 उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्‍यसकारण, यी शक्‍तिहरूले उनमा काम गरिरहेका छन् ।”
3 किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई पक्री उनलाई बाँधेर झ्यालखानामा हालेका थिए ।
4 किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।”
5 हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्‍थे ।
6 तर जब हेरोदको जन्‍म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् ।
7 त्‍यसको जवाफमा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।
8 आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर दिनुहोस् ।”
9 राजा तिनको बिन्‍तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए ।
10 हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए ।
11 अनि उनको शिर थालमा राखेर ल्याइयो र त्‍यस ठिटीलाई दिइयो र तिनले त्‍यो आफ्नी आमाकहाँ लगिन् ।
12 अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे । त्‍यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
13 जब येशूले यो कुरा सुन्‍नुभयो, उहाँले त्‍यस ठाउँलाई छोडेर डुङ्‌गाबाट एकान्‍त स्थानमा जानुभयो । जब भीडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
14 त्‍यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठूलो भीड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो ।
15 जब साँझ पर्‍यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भीडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून् ।”
16 तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”
17 उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन् ।”
18 येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ ।”
19 अनि येशूले भीडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्‍यवाद दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भीडहरूलाई दिए ।
20 तिनीहरू सबैले खाए र टन्‍न भए । त्‍यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।
21 त्‍यहाँ खाएकाहरूमध्‍ये स्त्रीहरू र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार पुरुषहरू थिए ।
मत्ती 14:22-36
22 उहाँले आफ्ना चेलाहरूलाई तुरुन्‍तै डुङ्‌गामा चढेर उहाँ भन्‍दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भीडलाई चाहिं उहाँ आफैले बिदा गर्न चाहनुभयो ।
23 उहाँले भीडलाई पठाइसक्‍नुपछि उहाँ आफै डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्‍यहाँ एकलै हुनुहुथ्यो ।
24 तर त्‍यस बेला डुङ्‌गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्‍यो अनियन्‍त्रित भयो ।
25 बिहान तीन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो ।
26 जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले ।
27 तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर ! मै हुँ ! नडराओ ।”
28 पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्‍छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस् ।”
29 येशूले भन्‍नुभयो, “आऊ ।” त्‍यसैले, पत्रुस डुङ्‌गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे ।
30 तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्‍न थाले, उनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस् !”
31 येशूले तुरुन्‍तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्‍नुभयो र उनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी ! तिमीले किन शङ्‌का गर्‍यौ ?”
32 त्‍यसपछि जब येशू र पत्रुस डुङ्‌गामा जानुभयो, तब बतास रोकियो ।
33 त्‍यसपछि डुङ्‌गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ।”
34 जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।
35 जब त्‍यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्‍यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।
36 तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्‍ती गरे, र जतिले छोए सबै जना निको भए ।