मत्ती 13:1-30
13
त्‍यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।
2 उहाँको वरिपरि एउटा ठूलो भीड जम्मा भयो । त्‍यसैले, उहाँ एउटा डुङ्‌गाभित्र जानुभयो र त्‍यहाँ बस्‍नुभयो । सबै भीड समुद्रको किनारमा उभियो ।
3 तब येशूले दृष्‍टान्‍तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्‍छे बिउ छर्न निस्क्यो ।
4 जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।
5 अरू बिउहरूचाहिं ढुङ्‌गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्‍तै उम्रे, किनकि त्‍यहाँ माटो गहिरो थिएन ।
6 तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।
7 अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।
8 अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए ।
9 जोसँग कान छ, उसले सुनोस् ।”
10 चेलाहरू आएर येशूलाई भने, “तपाईं भीडहरूसँग किन दृष्‍टान्‍तहरूमा बोल्नुहुन्‍छ ?”
11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्‍यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
12 किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।
13 त्‍यसैले, तिनीहरूसँग म दृष्‍टान्‍तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्‍दैनन्, न त तिनीहरूले बुझ्दछन् ।
14 तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पूरा हुन्‍छ, जसले यसो भन्‍छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्‍छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
15 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्‍द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्‍दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’
16 तर धन्‍यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्‍दछन् ।
17 साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्‍छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्‍छा गरे, तर तिनीहरूले ती सुनेनन् ।
18 तब बिउ छर्नेको दृष्‍टान्‍त सुन ।
19 जब कसैले राज्‍यको वचन सुन्‍छ तर त्‍यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्‍यो खोसेर लैजान्‍छ । योचाहिं त्‍यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।
20 ढुङ्‌गेनी माटोमा छरिएको चाहिं त्‍यो हो जसले वचन सुन्‍छ र तुरुन्‍तै खुसीसाथ त्‍यसलाई ग्रहण गर्छ ।
21 तर ऊ आफैमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्‍छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्‍तै ठेस खान्‍छ ।
22 काँडाघारीमा छरिएको चाहिं त्‍यो हो, जसले वचन सुन्‍छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्‍छ, अनि ऊ निष्फल हुन्‍छ ।
23 असल माटोमा छरिएको चाहिं त्‍यो हो, जसले वचन सुन्‍छ र त्‍यसलाई बुझ्छ । त्‍यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”
24 येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्‍य यस्तो मानिस जस्‍तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।
25 तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।
26 जब बोट देखा पर्‍यो र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।
27 त्‍यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र ? अहिले यिनमा सामाहरू कसरी आए ?’
28 तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्‍यसलाई उखालेको तपाईं चाहनुहुन्‍छ ?’
29 त्‍यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।
30 कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, “पहिले सामाहरूलाई उखेल र त्‍यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”
मत्ती 13:31-43
31 त्‍यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्‍यचाहिं रायोको दाना जस्‍तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।
32 यो बिउ अरू सबै बिउ भन्‍दा सानो हुन्‍छ । तर जब यो हुर्कन्‍छ, यो बगैँचामा भएका सबै बोट भन्‍दा ठूलो हुन्‍छ । यो एउटा रुख बन्‍छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”
33 त्‍यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्वर्गको राज्‍यचाहिं खमिर जस्‍तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्‍यो नफुलेसम्म मिसाइन् ।”
34 येशूले यी सबै कुरा भीडलाई दृष्‍टान्‍तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्‍तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।
35 योचाहिं अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्‍य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्‍तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”
36 तब येशूले भीडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्‍त हामीलाई व्याख्या गरिदिनुहोस् ।”
37 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिं मानिसका पुत्र हुन् ।
38 बारीचाहिं संसार हो; अनि असल बिउचाहिं राज्‍यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिं दुष्‍टका छोराहरू हुन्,
39 र त्‍यो शत्रु जसले ती सामाहरू छरे, त्‍योचाहिं दुष्‍ट हो । फसलको कटनी संसारको अन्‍त हो, र कटनी गर्नेहरूचाहिं स्वर्गदूतहरू हुन् ।
40 त्‍यसैले, जसरी सामाहरू बटुलिन्‍छन् र आगोमा जलाइन्‍छन्, यो संसारको अन्‍तमा यस्तै हुनेछ ।
41 मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्‍यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।
42 तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
43 तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्‍यमा सूर्यझैं चम्कनेछन् । जससँग कान छ, त्यसले सुनोस् ।
मत्ती 13:44-58
44 स्वर्गको राज्‍यचाहिं जमिनमा लुकाइएको धन जस्‍तै हो । एक जना मानिसले त्‍यो भेट्टायो अनि त्‍यसलाई लुकायो । उसको आनन्‍दमा ऊ जान्‍छ, उसँग भएका सबैथोक बेच्‍छ, अनि उसले त्‍यो जमिन किन्‍छ ।
45 फेरि, स्वर्गको राज्‍य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजे जस्‍तै हो ।
46 जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्‍यो र त्‍यो किन्‍यो ।
47 फेरि, स्वर्गको राज्‍य समुद्रमा फ्याँकिएको जाल जस्‍तो हो, अनि त्‍यसले सबै खालका प्राणीलाई बटुल्यो ।
48 जब त्‍यो भरियो, जालाहारीहरूले त्‍यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।
49 संसारको अन्‍तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्‍टहरूलाई छुट्‌ट्‌याउनेछन् ।
50 उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
51 के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौं ।”
52 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसकारण, स्वर्गको राज्‍यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिस जस्‍तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पूराना चिजहरू निकाल्छ ।”
53 येशूले यी दृष्‍टान्‍तहरू सक्‍नुभएपछि उहाँ त्‍यस ठाउँबाट जानुभयो ।
54 तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिं यस्तो भयो, कि तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन् ?
55 के यी मानिस सिकर्मीका छोरा होइनन् र ? के उनकी आमा मरियम होइनन् र ? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र ?
56 अनि उनका सबै बहिनीहरू हाम्रै माझमा छैनन् र ? त्‍यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त ?”
57 तिनीहरू उहाँसंग चिढिए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”
58 र तिनीहरूको अविश्‍वासको कारण उहाँले त्‍यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन ।