मत्ती 12:1-21
12
त्‍यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे ।
2 तर जब फरिसीहरूले त्‍यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्‍यही गर्छन् ।”
3 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ ?
4 कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्‍यो पूजाहारीहरूका लागि मात्रै उचित थियो ?
5 र शबाथमा पूजाहारीहरूले त्‍यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्‍छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र ?
6 तर म तिमीहरूलाई भन्‍दछु, मन्‍दिर भन्‍दा महान् एक जना यहाँ हुनुहुन्‍छ ।
7 ‘म कृपा चाहन्‍छु र बलिदान होइन’ भन्‍ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्‍दा गर्ने थिएनौ ।
8 किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”
9 त्‍यसपछि येशू त्‍यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।
10 हेर, त्‍यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ ?”
11 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्‍यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्‍यसलाई समातेर बाहिर ननिकाल्ला ?
12 त्‍यसो भए, एउटा मानिसको मूल्य त्‍यो भेडा भन्‍दा कति बढी छ ! त्‍यसैले, शबाथमा असल गर्नु न्‍यायसङ्‌गत छ ।”
13 अनि येशूले त्‍यस व्यक्‍तिलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्‍यो, र उसको त्‍यो हात अर्को हात जस्‍तै निको भयो ।
14 तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्‍छ भनेर मौका खोज्‍न थाले ।
15 अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्‍यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
16 उहाँको बारेमा अरूहरूलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,
17 ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्‍य साबित होस्,
18 “हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्‍याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्‍यायको घोषणा गर्नेछन् ।
19 उनले सङ्‌घर्ष गर्नेछैनन्, न त ठूलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्‍नेछ ।
20 उनले कुनै फुटेको नरकटलाई भाँच्‍नेछैनन्; उनले न्‍यायलाई विजयमा नपुर्‍याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् ।
21 अनि उनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन् ।”
मत्ती 12:22-37
22 अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्‍ने व्यक्‍ति येशूकहाँ ल्याइयो । उहाँले त्‍यसलाई निको पार्नुभयो र फलस्वरूप त्‍यो बोल्न नसक्‍ने व्यक्‍ति बोल्न सक्‍ने र देख्‍न सक्‍ने भयो ।
23 सबै भीड छक्‍क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन् ?”
24 तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
25 तर येशूले तिनीहरूको विचार जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “आफैमा विभाजित भएको हरेक राज्‍यलाई उजाड पारिनेछ, अनि आफैमा विभाजित भएको हरेक सहर वा घराना टिक्‍नेछैन ।”
26 यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्‍यो आफैमा विभाजित हुन्‍छ । त्‍यसको राज्‍य कसरी टिक्ला ?
27 अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त ? यसकारण, तिनीहरू तिमीहरूका न्‍यायाधीश हुनेछन् ।
28 तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्‍य तिमीहरूमा आएको छ ।
29 र कुनै मानिसले एक बलियो व्यक्‍तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ ? त्‍यस बलियो व्यक्‍तिलाई बाँधेपछि उसको घरका सामानहरू त्‍यसले चोर्छ ।
30 जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्‍छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्‍ट पार्छ ।
31 त्‍यसैले म भन्‍दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन ।
32 अनि जसले परमेश्‍वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्‍यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ ।
33 कि त रुखलाई असल बनाओ र त्‍यसको फललाई पनि असल बनाओ, वा कि त त्‍यो रुखलाई खराब बनाओ र त्‍यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्‍यसको फलद्वारा चिनिनेछ ।
34 ए सर्पका सन्‍तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ ? किनकि हृदयमा जे छ, त्‍यही मुखबाट निस्कन्‍छ ।
35 एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्‍यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्‍यो नै बाहिर ल्याउँछ ।
36 र म तिमीहरूलाई भन्‍दछु, कि न्‍यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।
37 किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्‍याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
38 त्‍यसपछि केही शास्‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्‍छौं ।”
39 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्‍यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।
40 किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्‍यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।
41 निनवेका मानिसहरू न्‍यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्‍दा गर्नेछन् । किनकि योनाको सन्‍देश सुनेर तिनीहरूले पश्‍चात्ताप गरेका थिए, र हेर, योना भन्‍दा अझै महान् कोही यहाँ छन् ।
42 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्‍यायको दिनमा उठ्नेछिन् र यसको निन्‍दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्‍न आइन्, तर हेर, सोलोमन भन्‍दा महान् कोही यहाँ छन् ।
43 जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्‍यो पानी नभएको ठाउँ हुँदै जान्‍छ र त्‍यसले आराम खोज्छ, तर त्‍यसले त्‍यो भेट्टाउँदैन ।
44 अनि त्‍यसले भन्‍छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्‍यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।
45 त्‍यसपछि त्‍यो गएर आफू भन्‍दा दुष्‍ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्‍यहाँभित्र बस्‍न आउँछन् । अनि त्‍यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्‍दा अझ खराब हुन्‍छ । यस दुष्‍ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
46 जब येशू भीडसँग बोल्दै हुनुहुन्‍थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।
47 कसैले उहाँलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।”
48 तर येशूले उत्तर दिनुभयो र त्‍यसो भन्‍ने व्यक्‍तिलाई भन्‍नुभयो, “मेरी आमा को हुन् ? र मेरा भाइहरू को हुन् ?”
49 अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् !
50 किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्‍छाअनुसार गर्दछ, त्‍यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”