10
वसन्‍त ऋतुको मौसममा परमप्रभुबाट वर्षा माग, परमप्रभु जसले आकाशमा बिजुली र आँधी बनाउनुहुन्‍छ, अनि उहाँले सबैलाई वर्षाको झरी र भूमिमा उब्जनी दिनुहुनेछ ।2 किनकि घरका मूर्तिहरू झूट बोल्छन्, र भविष्य बताउनेहरू झूटा दर्शनहरू देख्छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्‍त्वना दिन्‍छन् । यसैकारण तिनीहरू भेडाझैँ बरालिन्‍छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।3 “मेरो क्रोध गोठालाहरूमाथि खनिन्‍छ । भाले बोको, अर्थात् अगुवाहरूलाई म दण्ड दिनेछु । सेनाहरूका परमप्रभुले उहाँको बगाल अर्थात् यहूदाको घरानाको हेरचाह गर्नुहुनेछ र तिनीहरूलाई युद्धको घोडाझैँ बनाउनुहुनेछ !4 कुने-ढुङ्‌गो यहूदाबाट आउनेछ । पालको कीला त्‍यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्‍यसैबाट आउनेछ ।5 युद्धको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्‍छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।6 म यहूदाको घरानालाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।7 अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्‍दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्‍द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्‍दित हुनेछन् !8 म तिनीहरूलाई सुस्केराले बोलाउनेछु र तिनीहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई बचाउनेछु, र तिनीहरू पहिलेको झैँ महान् हुनेछन् !9 मैले तिनीहरूलाई मानिसहरूका बीचमा छरेँ, तर तिनीहरूले मलाई टाढा-टाढाका देशहरूमा सम्झनेछन्, यसैकारण तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्‍नेछन् र फर्कनेछन् ।10 किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्‍यहाँ लानेछु ।11 म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्‍यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।12 तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्‍छ ।”