9
“हद्राकको देशको विषयमा परमप्रभुको यस्तो वचन घोषणा भयो, र उहाँको वचन दमस्कसको विषयमा पनि आयो, किनभने सबै मनुष्यजाति र इस्राएलका सबै कुलहरूका आँखा परमप्रभुतिर छन् ।2 दमस्कसको सिमानामा भएको हमात, र टुरोस र सीदोनको निम्ति पनि यो घोषणा हो, किनकि तिनीहरू धेरै बुद्धिमान् छन् ।3 टुरोसले आफैँ एउटा गढी बनाएको छ, र त्यसले सडकहरूमा धूलोसरह चाँदी र माटोसरह निखुर सुन थुपारेको छ ।4 हेर ! परमप्रभुले त्यसबाट सबै खोस्नुहुनेछ र त्यसको बललाई समुद्रमा नष्ट गर्नुहुनेछ, अनि त्यो आगोले भस्म हुनेछ ।5 अश्कलोनले त्यो देख्नेछ र डराउनेछ ! गाजा पनि थरथर काँप्नेछ ! एक्रोनको आशा निराशामा परिणत हुनेछ । गाजाबाट राजा नष्ट हुनेछ, र अश्कलोनमा कोही वास गर्नेछैन !6 अश्दोदमा परदेशीहरूले घर बसाल्नेछन्, र म पलिश्तीहरूको घमण्ड तोडिदिनेछु ।7 किनकि म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दा कुराहरू हटाइदिनेछु । तिनीहरू हाम्रा परमेश्वरको निम्ति बाँकी रहेकाहरू, यहूदाको एउटा कुलझैँ हुनेछन्, र एक्रोन यबूसी जस्तै हुनेछ ।8 शत्रुका सेनाहरूको विरुद्ध म मेरो भूमिवरिपरि छाउनी लगाउनेछु, ताकि त्यहाँबाट न त कोही छिरोस् वा निस्कोस्, किनकि कोही अत्याचारीले पनि तिनीहरूलाई कुल्चनेछैन, किनभने म मेरै आँखाले नजर लगाउनेछु !9 ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ ! यरूशलेमकी छोरी खुशीले कराऊ ! हेर ! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।10 अनि म एफ्राइमबाट रथ र यरूशलेमबाट घोडा हटाइदिनेछु, र युद्धबाट धनु हटाइनेछन्, किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ, र एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ !11 तँसँग मेरो करारको रगतको कारण, ती सुक्खा खाडलबाट म तेरा कैदीहरूलाई मुक्त गरिदिनेछु ।12 आशा भएका कैदीहरू, गढीमा फर्क ! आज म यो घोषणा गर्दै छु कि म तिमीहरूलाई दोब्बर फिर्ता गरिदिनेछु,13 किनभने मैले यहूदालाई मेरो धनुझैँ बङ्गाएको छु । मैले मेरो तूणलाई एफ्राइमले भरेको छु । ए सियोन, मैले तेरा छोराहरूलाई ग्रीसका छोराहरूको विरूद्धमा उक्साएको छु, र सियोन, मैले तँलाई योद्धाको तरवारझैँ बनाएको छु !14 परमप्रभु तिनीहरूकहाँ देखापर्नुहुनेछ, उहाँको काँड बिजुलीझैँ निस्कनेछ ! किनकि मेरा परमप्रभु परमेश्वरले तुरही फुक्नुहुनेछ र उहाँ तेमानबाट आँधीको साथ अगि बढ्नुहुनेछ ।15 सेनाहरूका परमप्रभुले तिनीहरूको सुरक्षा गर्नुहुनेछ, र तिनीहरूले उनीहरूलाई नाश गर्नेछन् र घुयेँत्रोका ढुङ्गाहरूलाई पराजय गर्नेछन् । तिनीहरूले पिउनेछन् र मद्यले मातेका मानिसहरूझैँ ठूलो स्वरमा कराउनेछन्, र तिनीहरू बटुकाझैँ, र वेदीका छेउहरूझैँ मद्यले भरिनेछन् ।16 यसैकारण परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई त्यस दिन आफ्ना मानिसहरूको बगाललाई झैँ बचाउनुहुनेछ । तिनीहरू उहाँको देशमा चम्कने मुकुटका रत्नहरू हुन् ।17 तिनीहरू कति असल र कति सुन्दर हुनेछन् ! जवान मानिसहरू अन्नले र कन्याहरू नयाँ मद्यले हृष्टपुष्ट हुनेछन् ।”