3
धिक्कार त्‍यो बागी सहर ! त्‍यो हिंस्रक सहर अशुद्ध भएको छ ।2 त्‍यसले परमेश्‍वरको आवाज सुनेको छैन, न त त्‍यसले परमप्रभुबाटको सुधारलाई ग्रहण गर्यो । त्‍यसले परमप्रभुमा विश्‍वास गर्दैन र त्‍यो आफ्नो परमेश्‍वरको समीप जाँदैन ।3 त्‍यसको माझमा त्‍यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्‍यसका न्‍यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् ।4 त्‍यसका अगमवक्ताहरू ढीट र विश्‍वासघाती मानिसहरू हुन् । त्‍यसका पूजाहारीहरूले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्धमा हिंसा गरेका छन् ।5 त्‍यसको बीचमा परमप्रभु धार्मिक हुनुहुन्‍छ । उहाँले कुनै खराबी गर्नुहुन्‍न । हरेक बिहानी उहाँले आफ्नो न्‍याय प्रदान गर्नुहुन्‍छ । त्‍यो प्रकाशमा लुक्‍नेछैन, तर पनि अधर्मीहरूलाई कुनै शर्म छैन ।6 “मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका सहरहरू नष्‍ट पारिएका छन्, अनि त्‍यहाँ कोही मानिस बसोबास गर्दैनन् ।7 मैले भनेँ, ‘निश्‍चय नै तैँले मेरो भय मान्‍नेछस् । मेरो सुधारलाई स्वीकार गर् र मैले तेरो विरुद्धमा गरिदिनेछु भनी योजना गरेझैँ, तँ तेरो घरबाट बहिष्कार हुनेछैनस् ।’ तर तिनीहरू हरेक बिहानीलाई भ्रष्‍ट कामहरूद्धारा सुरुवात गर्न आतुर हुन्‍छन् ।8 त्‍यसैकारण जुन दिनसम्म म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ, त्‍यस बेलासम्म मलाई पर्ख, परमप्रभु घोषणा गर्नुहुन्‍छ । किनकि मेरो निर्णय जाति-जातिहरूलाई एकठ्ठा गर्ने, राज्‍यहरूलाई जम्मा गर्ने, र तिनीहरूमाथि मेरो क्रोध, मेरो सम्पूर्ण ज्वलन्‍त क्रोध खन्‍याउने हो, किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ ।9 तर त्‍यसपछि म मानिसहरूका ओठहरूलाई शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले काँधमा काँध मिलाएर परमप्रभुको सेवा गर्नको निम्ति उहाँको नाउँ पुकारून् ।10 कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, र तितरबितर भएका मेरा मानिसहरूले मेरो निम्ति बलिदानहरू ल्याउनेछन् ।11 त्‍यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस्, किनभने त्‍यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बीचबाट म हटाइदिनेछु, र मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहंकारी भएर काम गर्नेछैनस् ।12 तर तेरो बीचमा म नम्र र गरीब मानिसहरूलाई छोडिदिनेछु, र तिनीहरूले परमप्रभुको नाउँमा शरण पाउनेछन् ।13 इस्राएलका बाँकी रहेकाहरूले अब उसो अन्‍याय गर्नेछैनन् वा झूटो बोल्नेछैनन्, र तिनीहरूको मुखमा छलपूर्ण जिब्रो पाइनेछैन । यसैकारण तिनीहरू खानेछन् र पल्टिनेछन्, र तिनीहरू भयभीत हुनेछैनन् ।14 ए सियोनकी छोरी, गा ! इस्राएल, उच्‍च स्‍वरमा करा । यरूशलेमकी छोरी आनन्‍दित हो र आफ्नो सारा हृदयले रमाहट गर् ।15 परमप्रभुले तेरो दण्ड तँबाट टाढा गरिदिनुभएको छ, तेरा शत्रुहरूलाई धपाइदिनुभएको छ । तेरो बीचमा परमप्रभु इस्राएलका राजा हुनुहुन्‍छ । अबदेखि उसो तैँले दुष्‍टको भय मान्‍नेछैनस् ।16 त्‍यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, “ए सियोन, नडरा । तेरा हात कमजोर हुन नदे ।17 परमप्रभु तिमीहरूका परमेश्‍वर तेरो बीचमा हुनुहुन्‍छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्‍छ । उहाँले तेरो निम्ति आनन्‍द मनाउनुहुन्‍छ । उहाँ आफ्नो प्रेममा तँसित शान्‍त हुनुहुन्‍छ । उहाँ आनन्‍दको स्‍वरले तँसित रमाउनुहुनेछ ।18 नियुक्त गरिएका भोजहरूमा उपस्थित हुन नसकेर शोक गर्नेहरूलाई म भेला गराउनेछु, यसैकारण अबदेखि तँ त्‍यसको निम्ति शर्ममा पर्नेछैनस् ।19 हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्‍यसबेला, म लङ्‌गडाहरूलाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।20 त्‍यसबेला, म तिमीहरूलाई अगुवाइ गर्नेछु, र तिमीहरूलाई भेला गराउनेछु । जब म तिमीहरूलाई पुनर्स्थापित गर्नेछु, म पृथ्वीका सारा जातिहरूलाई तिमीहरूको सम्मान र प्रशंसा गर्न लगाउनेछु”, परमप्रभु भन्‍नुहुन्‍छ ।