2
निर्लज्ज जाति, एकठ्ठा होओ, जम्मा होओ,2 आज्ञा लागु हुनु भन्दा अगि र भुसझैँ त्यो दिन बितिजान भन्दा अगि, परमप्रभुको भयङ्कर क्रोध तिमीहरूमाथि आउनअगि, परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउन अघि ।3 उहाँका आज्ञाहरू पालन गर्ने पृथ्वीका सबै नम्र मानिसहरू, परमप्रभुको खोजी गर । धार्मिकताको खोजी गर, नम्रताको खोजी गर, र शायद परमप्रभुको क्रोधको दिनमा तिमीहरू सुरक्षित हुनेछौ ।4 किनभने गाजा त्यागिनेछ, र अश्कलोन सर्वनाश हुनेछ । तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन्, र तिनीहरूले एक्रोनलाई उखेल्नेछन् ।5 ए सुमुद्रको किनारमा बस्ने करेती जाति, तिमीहरूलाई धिक्कार ! ए पलिश्तीहरूको देश कनान, परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको छ । कोही पनि नरहने गरी म तँलाई नाश गर्नेछु ।6 यसैकारण समुद्रको किनारा गोठालाहरूका निम्ति खर्क र भेडाहरूका निम्ति बस्ने ठाउँ हुनेछ ।7 तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बगाललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।8 “मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसहरूलाई उपहास गरेका थिए र तिनीहरूका सिमानाहरू तोडेका थिए ।9 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नूनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् । तर मेरा मानिसहरूका बाँकी रहेकाहरूले तिनीहरूलाई लुट्नेछन्, र मेरो जातिका बाँकी रहेकाहरूले तिनीहरूको अधिकार गर्नेछन् ।”10 तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।11 अनि तिनीहरूले परमप्रभुको भय मान्नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।12 ए कूशी, तिमीहरूलाई पनि मेरो तरवारद्धारा प्रहार हुनेछ,13 र परमेश्वरको हातले उत्तरलाई आक्रमण गर्नेछ र अश्शूरलाई सर्वनाश गर्नेछ, अनि निनवे त्यागिएको र सर्वनाश हुनेछ, र मरुभूमिझैँ उजाड हुनेछ ।14 त्यसपछि सबै पशुका बगाल त्यहाँ पल्टिनेछन्, मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेरो त्यसका स्तम्भहरूका टुप्पोमा बस्नेछन् । झ्यालहरूबाट एउटा पुकाराको गीत सुनिनेछ, ढोका अगाडि भग्नावशेष हुनेछ, त्यसका देवदारुका कुँदिएका दलिनहरू प्रकट गरिनेछन् ।15 यो त्यो उल्लसित सहर हो, जो कुनै भय बिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्ने भयानक ठाउँ बनेको छ । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्का देखाउँनेछन् ।