12
एफ्राइमले हावा खान्‍छ र त्‍यसले पूर्वीय बतासको पछि लाग्छ । त्‍यसले झूट र हिंसालाई निरन्‍तर बढाउँछ । तिनीहरूले अश्शूरसँग करार बाँध्दछन् र मिश्र देशमा जैतूनको तेल लान्‍छन् ।2 यहूदाको विरुद्धमा परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्‍यसको लागि दण्ड दिनुहुनेछ । त्‍यसका कामहरूका निम्ति उहाँले त्‍यसलाई बदला दिनुहुनेछ ।3 गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे ।4 तिनले स्वर्गदूतसँग लडन्‍त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्‍ती गरे । तिनले बेथेलमा परमेश्‍वरलाई भेटे । त्‍यहाँ तिनीसँग परमेश्‍वर बोल्नुभयो ।5 उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।6 यसैले आफ्नो परमेश्‍वरकहाँ फर्क । करारको विश्‍वस्तता र न्‍याय कायम राख र आफ्नो परमेश्‍वरमा निरन्‍तर पर्ख ।7 व्यापारीहरूका हातमा छलको तराजू रहेको छ, तिनीहरू छल गर्न मन पराउँछन् ।8 एफ्राइमले भन्‍यो, "निश्‍चय नै म धेरै धनी भएको छु । आफ्नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्टाउनेछैनन् ।"9 "मिश्र देशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । तोकिएको चाडका दिनहरूमा झैँ, तिमीहरूलाई फेरि म पालहरूमा बस्‍ने बनाउनेछु ।10 म अगमवक्ताहरूसँग बोलेँ, र तिमीहरूका निम्ति मैले तिनीहरूलाई धेरै दर्शनहरू दिएँ । अगमवक्ताहरूका हातद्वारा मैले दृष्‍टान्‍तहरू दिएँ ।11 गिलादमा दुष्‍टता छ भने, निश्‍चय नै त्‍यहाँका मानिसहरू बेकामका छन् । गिलगालमा तिनीहरू साँढेहरू बलि चढाउँछन् । तिनीहरूका वेदीहरू जोतेको खेतमा ढुङ्‌गाका थुप्रोझैँ हुनेछन् ।12 याकूब अरामको देशमा भागे । एक जना पत्‍नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्‍नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे ।13 परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्र देशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो ।14 एफ्राइमले परमप्रभुलाई अत्‍यन्‍तै क्रोधित पारेको छ । यसैले त्‍यसका परमप्रभुले त्‍यसको रगतको दोष त्‍यसमाथि नै छोड्नुहुनेछ र त्‍यसको अपमान त्‍यसैलाई फर्काउनुहुनेछ ।