11
“जब इस्राएल जवान मानिस थियो, तब मैले त्‍यसलाई प्रेम गरेँ, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ ।2 जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्‍यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।3 तापनि एफ्राइमलाई हिँड्न सिकाउने म नै थिएँ । तिनीहरूका हात समातेर तिनीहरूलाई उठाउने म नै थिएँ, तर मैले तिनीहरूको वास्ता गरेँ भन्‍ने कुरा तिनीहरूलाई थाहै भएन ।4 तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्‍याएँ । तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्यक्ति जस्‍तै म तिनीहरूका निम्ति थिएँ, र तिनीहरूका अगि म झुकेँ र तिनीहरूलाई खुवाएँ ।5 के तिनीहरू मिश्र देशमा फर्कनेछैनन् र ? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्शूरले तिनीहरूमाथि राज्‍य गर्नेछैन र ?6 तिनीहरूका सहरहरूमा तरवार चल्नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्‍ट गर्नेछ । तिनीहरूका आफ्नै योजनाहरूका कारणले, त्‍यसले तिनीहरूलाई नष्‍ट गर्नेछ ।7 मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्‍चित गरेका छन् । तिनीहरूले सर्वोच्‍चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन ।8 ए एफ्राइम, म कसरी तँलाई त्‍याग्‍न सक्छु ? ए इस्राएल, म कसरी तँलाई अरूहरूकहाँ सुम्पिन सक्छु र ? म तँलाई कसरी अदमाझैँ बनाउन सक्छु ? म तँलाई कसरी सबोयीमझैँ बनाउन सक्छु ? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।9 म आफ्नो प्रचण्ड क्रोधलाई प्रयोग गर्नेछैनँ । म फेरि एफ्राइमलाई नष्‍ट गर्नेछैनँ । किनकि म परमेश्‍वर हुँ र म मानिस होइनँ । तिमीहरूका बीचमा म परमपवित्र हुँ, र म क्रोधमा आउनेछैनँ ।10 तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैँ गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्‍छ, उहाँका छोराछोरीहरू पश्‍चिमबाट थरथर काम्दै आउनेछन् ।11 तिनीहरू मिश्र देशबाट चराझैँ र अश्शूरबाट ढुकुरझैँ काम्दै आउनेछन् । तिनीहरूका आफ्नै घरमा बस्‍ने म तिनीहरूलाई बनाउनेछु - यो परमप्रभुको घोषणा हो ।12 एफ्राइमले झूटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिँ अझै पनि म, परमेश्‍वरसँग हिँड्दैछ, र म, परमपवित्रमा विश्‍वासयोग्य छ ।”