10
इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्‍यसको फलको जति बढ्‌यो, त्‍यसले त्‍यति नै धेरै वेदी बनायो । त्‍यसको देशले जति धेरै उब्‍जनी दियो, त्‍यसले त्‍यति नै धेरै स्तम्भ खडा गर्‍यो ।2 किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्काउनुहुन्‍छ, तिनीहरूका स्तम्भहरू नाश गर्नुहुन्‍छ ।3 किनकि तब तिनीहरूले यसो भन्‍नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौँ, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्थे र ?4 तिनीहरू फोस्रा शब्दहरू बोल्छन्, र झूटो कसम खाएर करार बाँध्छन् । यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैँ, न्‍याय बढ्नेछ ।5 बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउनेछन् । त्‍यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्‍द मनाउने ती मूर्तिपूजक पूजाहारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्‍यहाँ छैनन् ।6 महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्शूरमा लगिनेछन् । एफ्राइम अपमानित हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।7 पानीको सतहमाथिको काठको एउटा टुक्राझैँ, सामरियाका राजा नष्‍ट पारिनेछ ।8 दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछन् । यो इस्राएलको पाप हो ! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप !” अनि पहाडहरूलाई, “हामीमाथि खस !” भन्‍नेछन् ।9 “ए इस्राएल, तैँले गिबाको दिनदेखि नै पाप गरेको छस् । तँ अहिले त्‍यहाँ नै बसेको छस् । के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र ?10 जब म चाहन्‍छु, तब म तिनीहरूलाई अनुशासित गर्नेछु । तिनीहरूका विरूद्धमा जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्बर अधर्मको निम्ति तिनीहरूलाई बन्धनमा राख्‍नेछन् ।11 एफ्राइम दाइँ गर्न मन पराउने दाइएको बाछोझैँ हो, यसैले त्‍यसको सुन्‍दर काँधमा म एउटा जुवा हाल्नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु, यहूदाले हलो जोत्‍नेछ । र याकूब आफैले लिंड्को लगाउनेछ ।12 आफ्‍ना निम्ति धार्मिकता छर, अनि करारको विश्‍वस्तताको फल कटनी गर । आफ्नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो ।13 तिमीहरूले दुष्‍टता जोतेका छौ, अनि तिमीहरूले अन्‍यायको कटनी गर्‍यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्ना धेरै सिपाहीहरूमा भर पर्‍यौ ।14 यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँ त्‍यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्ना छोराछोरीहरूसितै टुक्राटुक्रा पारिएको थियो ।15 यसैले ए बेथेल, तेरो ठूलो दुष्‍टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।