9
ए इस्राएल, अरू मानिसहरूझैँ आनन्‍दित नहोओ । किनकि आफ्ना परमेश्‍वरलाई त्‍यागेर, तिमीहरू विश्‍वासहीन भएका छौ । अन्‍नका सबै खलामा वेश्यालाई तिर्नुपर्ने ज्‍याला तिर्न तिमीहरू मन पराउँछौ ।2 तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्त हुनेछैन ।3 तिनीहरू परमप्रभुको देशमा सधैँभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्र देशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्शूरमा अशुद्ध भोजन खानेछन् ।4 तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्‍न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैँ हुनेछ । जतिले त्‍यो खान्‍छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्‍यो परमप्रभुको मन्‍दिरमा आउनेछैन ।5 तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ ?6 किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्र देशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।7 दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहिँ बौलाहा हुनेछ ।8 अगमवक्ताचाहिँ एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्यक्ति हो । तर त्‍यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्‍यसको परमेश्‍वरको मन्‍दिरमा त्‍यसप्रति शत्रुता छ ।9 गिबाका दिनहरूमा झैँ, तिनीहरूले आफैलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।10 परमप्रभु भन्‍नुहुन्‍छ, “मैले इस्राएललाई भेट्टाउँदा, त्‍यो उजाड-स्थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैँ, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैलाई त्‍यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैँ तिनीहरू पनि घृणित भए ।11 एफ्राइमको बारेमाचाहिँ, तिनीहरूको महिमा चराझैँ उडिजानेछ । त्‍यहाँ कुनै जन्‍म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन ।12 तिनीहरूले छोराछोरीहरूलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्कार होस् ।13 मैले एफ्राइमलाई टुरोस जस्‍तै सुन्‍दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीहरूलाई त्‍यसकहाँ लानेछ, जसले तिनीहरूको हत्‍या गर्नेछ ।14 हे परमप्रभु, तिनीहरूलाई दिनुहोस् - तपाईंले तिनीहरूलाई के दिनुहुन्‍छ ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् ।15 “तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले, तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरेँ । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्‍दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् ।16 एफ्राइम रोगले ग्रस्त भएको छ, र तिनीहरूको जरा सुकेको छ । तिनीहरूले फल दिँदैनन् । तिनीहरूका छोराछोरीहरू भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीहरूलाई म मार्नेछु ।17 मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्‍छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बीचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।