6
"आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्राटुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्टी लगाउनुहुनेछ ।2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौँ ।3 हामी परमप्रभुलाई चिनौँ । परमप्रभुलाई चिन्नुपर्ने दबाबमा हामी परौँ । झिसमिसे बिहानीझैँ उहाँको आगमन निश्चित छ । उहाँ हामीकहाँ झरीझैँ, जमिनलाई भिजाउने वसन्त ऋतुको झरीझैँ आउनुहुनेछ ।"4 ए एफ्राइम, म तँलाई के गरूँ ? ए यहूदा, म तँलाई के गरूँ ? तेरो विश्वस्तता बिहानीको बादलझैँ, चाँडै हराएर जाने शीतझैँ छ ।5 यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्राटुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैँ छन् ।6 किनकि म बलिदान होइन, विश्वस्तता चाहन्छु, र होमबलिहरू भन्दा धैरे परमेश्वरको ज्ञान भएको चाहन्छु ।7 आदमले झैँ तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्वासहीन भएका छन् ।8 गिलादचाहिँ दुष्ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ ।9 डाँकूहरूका समूहले कसैलाई पर्खिरहेझैँ, शकेम जाने बाटोमा पूजाहारीहरू मार्नलाई समूहमा बस्छन् । तिनीहरूले लज्जास्पद अपराधहरू गरेका छन् ।10 इस्राएलको घरानामा मैले घिनलाग्दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।11 ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु ।