5
“ए पूजाहारीहरू हो, यो कुरा सुन ! ए इस्राएलको घराना, ध्यान देओ ! ए राजाको घराना, सुन ! किनकि तिमीहरू सबैका विरुद्धमा न्याय आउँदैछ । तिमीहरू मिस्पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।2 विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्न हुन्छन्, तर म तिनीहरू सबैलाई दण्ड दिनेछु ।3 एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्दछु । ए एफ्राइम, तँ अब वेश्याझैँ भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।4 तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्वरतर्फ फर्कन दिँदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।5 इस्राएलको घमण्डले उसकै विरुद्धमा गवाही दिन्छ । यसैले इस्राएल र एफ्राइम आफ्नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ ।6 आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्, किनकि उहाँले आफैलाई तिनीहरूबाट टाढा लानुभएको छ ।7 तिनीहरू परमप्रभुप्रति विश्वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरीहरू जन्माएका छन् । अब औँसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ ।8 गिबामा तुरही र रामामा बिगुल फुक । बेथ-आवनमा युद्ध-ध्वनी बजाओः ‘ए बेन्यामीन, हामी तेरो पछि लाग्छौँ !’9 न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बीचमा निश्चय हुन आउने कुरा मैले घोषणा गरेको छु ।10 यहूदाका अगुवाहरू त्यस्ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ । पानी खन्याएझैँ तिनीहरूमाथि म आफ्नो क्रोध खन्याउनेछु ।11 एफ्राइम कुल्चिइएको छ, त्यो न्यायमा कुल्चिइएको छ, किनभने त्यो आफ्नै इच्छामा मूर्तिहरूको पछि लागेको छ ।12 यसैले एफ्राइमको निम्ति म कपडा काट्ने कीराझैँ हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैँ हुनेछु ।13 जब एफ्राइमले आफ्नो रोग देख्यो, र यहूदाले आफ्नो घाउ देख्यो, तब एफ्राइम अश्शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन ।14 यसैले एफ्राइमको निम्ति म सिंहझैँ हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैँ हुनेछु । म नै तिनीहरूलाई टुक्राटुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन ।15 तिनीहरूले आफ्ना दोष स्वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्ना दुःखको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”