4
ए इस्राएलका मानिसहरू हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्‍दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्‍यता, करारको विश्‍वस्तता, परमप्रभुको ज्ञान छैन ।2 त्‍यहाँ सराप, झूटो बोली, हत्‍या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।3 यसैले त्‍यो देश सुक्‍खा हुँदैछ, र त्‍यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्रमा भएका माछाहरूसमेत मारिँदैछन् ।4 तर कसैलाई मुद्धा ल्याउन नदेओ । कसैले कसैलाई पनि दोष नलगाओस् । किनकि मैले दोष लगाइरहेको तिमी, पूजाहारीहरूलाई नै हो ।5 तिमी पूजाहारीहरू दिनमा ठेस खानेछौ । तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन्, र तिमीहरूकी आमालाई म नष्‍ट गर्नेछु ।6 मेरा मानिसहरू ज्ञानको कमीले गर्दा नष्‍ट भइरहेका छन् । तिमी पूजाहारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पूजाहारी हुनबाट म पनि इन्कार गर्नेछु । तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीहरूलाई बिर्सनेछु ।7 पूजाहारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो,त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।8 मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन्, र उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ ।9 पूजाहारीहरूलाई जस्‍तो गरियो मानिसहरूलाई त्‍यस्तै गरिनेछः तिनीहरूका अभ्यासहरूका निम्ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु ।10 तिनीहरूले खानेछन् तर तिनीहरूसँग यथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् ।11 तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।12 मेरा मानिसहरूले काठका मूर्तिहरूसँग सल्लाह लिन्‍छन्, र तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्‍छन् । किनभने यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको छ, र आफ्ना परमेश्‍वरमा विश्‍वासयोग्य हुन छोडेर वेश्याहरूले जस्‍तो व्यवहार तिनीहरूले गरेका छन् ।13 पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शीतल हुन्‍छ । यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन् ।14 तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा म तिनीहरूलाई दण्ड दिनेछैन, न त तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु । किनकि पुरुषहरूले पनि आफैलाई वेश्याहरूकहाँ दिन्‍छन्, र पवित्र वेश्याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन् । यी मानिसहरू जसले बुझ्दैनन्, तिनीहरू तल फालिनेछन् ।15 तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिँ दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैँ” भनेर शपथ नखाओ ।16 किनकि एउटी अटेरी साँढी-गाईले झैँ इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैँ परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ ?17 एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्‍यसलाई वास्तै नगर ।18 तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्‍तर व्यभिचार गर्छन् । र त्‍यसको शासकहरूले आफ्नो लज्‍जास्पद कुरालाई ज्‍यादै मन पराउँछन् ।19 हावाले त्‍यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन् ।