3
परमप्रभुले मलाई भन्‍नुभयो, "फेरि जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्‍त्रीलाई प्रेम गर्, तर त्‍यो एक जना व्यभिचारिणी हो । इस्राएलका मानिसहरू अन्‍य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि, जसरी म परमप्रभुले तिनीहरूलाई प्रेम गरेँ, त्‍यसरी नै त्‍यसलाई प्रेम गर् ।"2 यसैले मैले त्‍यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनेँ ।3 मैले त्‍यसलाई भनेँ, "तिमी मसँग धेरै दिन बस्‍नुपर्छ । तिमी अब वेश्या हुनेछैनौ र कुनै अर्को पुरुषको हुनेछैनौ । त्‍यसरी नै म पनि तिमीसँगै रहनेछु ।4 किनकि इस्राएलका मानिसहरू राजा, राजकुमार, बलिदान, ढुङ्‌गाको स्तम्भ, एपोद र घरघरका मूर्तिहरूबिना धेरै दिनसम्म रहनेछन् ।5 त्‍यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्ना परमेश्‍वर र आफ्ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्‍तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउनेछन् ।"