2
आफ्ना दाजुभाइलाई ‘मेरा मानिसहरू’ र आफ्ना दिदीबहिनीलाई ‘तिमीहरूलाई कृपा गरिएको छ’ भन ।2 आफ्नी आमाको विरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्नो वेश्यागमन, र आफ्ना स्तनहरूको बीचबाट आफ्नो व्यभिचारका कामहरूलाई हटाओस् ।3 होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्मको दिनमा झैँ म त्यसको नग्नता देखाउनेछु । उजाड-स्थान जस्तै, एउटा सुक्खा पारिएको देश जस्तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बनाउनेछु ।4 त्यसका छोराछोरीहरूलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्यागमनका सन्तान हुन् ।5 किनकि तिनीहरूकी आमा वेश्या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्जास्पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्ना प्रेमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।6 यसकारण त्यसको मार्ग रोक्नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्धमा पर्खाल लगाउनेछु ।7 त्यो आफ्ना प्रेमीहरूको पछि लाग्नेछ, तर त्यसले तिनीहरूलाई भेट्टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्नेछ, “म आफ्नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिले भन्दा त्यो नै मेरो निम्ति असल थियो ।"8 किनकि त्यसलाई अन्न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन,र जसले त्यसलाई प्रशस्त चाँदी र सुन दियो, जसलाई तिनीहरूले त्यस बेला बालको निम्ति प्रयोग गरे ।9 यसैले फसलको समयमा म त्यसको अन्न, र दाखमद्यको मौसममा म त्यो फिर्ता लिनेछु । त्यसको नग्नतालाई ढाक्न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।10 तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।11 त्यसका सबै उत्सवहरू, त्यसका भोजहरू, त्यसका औँसीका उत्सवहरू, त्यसका शबाथहरू, र त्यसका निर्धारित सबै चाडलाई म अन्त गरिदिनेछु ।12 “म त्यसका दाखका बोटहरू र अञ्जीरका रूखहरूलाई नष्ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।13 बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।"14 यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्नेछु ।15 त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेँसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैँ, र मिश्र देशबाट बाहिर आएको दिनहरूमा झैँ, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।16 “यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्तो हुनेछ, तैँले मलाई ‘मेरो पति’ भन्नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्नेछैनस् ।17 किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र त्यसको नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।18 त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्टिन दिनेछु ।19 सदासर्वदाको निम्ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।20 विश्वस्ततामा प्रतिज्ञा गरेर म आफैँलाई तँकहाँ सुम्पनेछु, र तैँले परमप्रभुलाई चिन्नेछस् ।21 त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्डललाई जवाफ दिनेछु, र तिनले पृथ्वीलाई जवाफ दिनेछन् ।22 पृथ्वीले अन्न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।23 आफ्नो निम्ति म त्यसलाई जमिनमा रोप्नेछु, र म लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्नेछन्, ‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ’ ।”