4
नबूकदनेसर राजाले पृथ्वीमा बस्ने सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूलाई यो उर्दी पठाएः तिमीहरूमा प्रशस्त शान्ति होस् ।2 सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नुभएका चिन्हहरू र आश्चर्य कामहरू बारेमा तिमीहरूलाई बताउनु मलाई असल लागेको छ ।3 उहाँका चिन्हहरू कति महान् छन्, र उहाँका आश्चर्यका कामहरू कति शक्तिशाली छन् ! उहाँको राज्य अनन्तको राज्य हो, र उहाँको प्रभुत्व पुस्ता-पुस्तासम्म रहन्छ ।4 म, नबूकदनेसर, मेरो महलमा खुसीसाथ बसिरहेको थिएँ, र म आफ्नो दरबारमा समृद्धिमा आनन्दित थिएँ ।5 तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए ।6 त्यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्थित हुनलाई मैले एउटा उर्दी निकालेँ ताकि तिनीहरूले उक्त सपनाको अर्थ मलाई बताउन सकून् ।7 त्यसपछि जादूगरहरू, मृतकहरूसँग बोल्न सक्छौँ भनेर दाबी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्न सकेनन् ।8 तर अन्तमा दानिएल आए - जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन् - र मैले तिनलाई सपना सुनाएँ ।9 “ए बेलतसजर, जादूगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्नो सपनामा के देखेँ र त्यसको अर्थ के हो सो मलाई बताऊ ।10 म आफ्नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्ः मैले हेरेँ, र पृथ्वीको बीचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो ।11 त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्लो छेउबाट पनि त्यो देख्न सकिन्थ्यो ।12 त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छहारी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे ।13 म आफ्नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखेँ, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए ।14 तिनले ठूलो स्वरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् ।15 तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बीचमा जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बीचमा रहने पशुहरूसित रहोस् ।16 त्यसको मनलाई मानिसको मनबाट बदलियोस् र सातवर्ष नबितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस् ।17 यो निर्णय समाचारवाहकले बताएका उर्दीअनुसार हो । यो निर्णय पवित्र जनहरूले गरेका हुन्, ताकि बाँचेकाहरूले यो जानून् कि सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबै भन्दा निम्न स्तरका मानिसहरूका अधीनमा पनि उहाँले ती दिनुहुन्छ ।’18 म, राजा नबूकदनेसरले यो सपना देखेँ । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।19 तब बेलतसजर भनिने दानिएल केही समय धेरै चिन्तित भए, र आफ्ना विचारहरूले तिनलाई त्रसित पार्यो । राजाले भने, “ए बेलतसजर, त्यो सपना वा त्यसको अर्थले तिमी त्रसित नहोऊ ।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यो सपना हजूरलाई घृणा गर्नेहरूका निम्ति होस्, र त्यसको अर्थ हजूरका शत्रुहरूका निम्ति होस् ।20 हजूरले देख्नुभएको त्यो रूख, जुन बढेर धेरै बलियो भयो, र जसको टुप्पो आकाशसम्मै पुग्यो, र जुन पृथ्वीको छेउबाट पनि देखिन्थ्यो,21 र जसका पातहरू सुन्दर थिए, र जसको फल प्रशस्त थियो, जसले गर्दा सबैले यसैमा खानेकुरो पाउँथे, र यसको मुनि जमिनका पशुहरूले छहारी पाउँथे, र जसमा आकाशका चराहरूले वास गर्थे,22 हे महाराजा, त्यो रूख हजूर नै हुनुहुन्छ, जो ज्यादै शक्तिशाली हुनुभएको छ । हजूरको महान्ता बढेर आकाशसम्म पुगेको छ, र हजूरको अधिकार पृथ्वीको पल्लो छेउसम्मै पुगेको छ ।23 हे महाराजा, हजूरले एउटा पवित्र सन्देशवाहकलाई स्वर्गबाट तल आएको अनि यसो भनेका देख्नुभयो, ‘त्यो रूखलाई काटेर ढाल र त्यसलाई नष्ट गर, तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधेर मैदानका कलिला घाँसहरूका बीचमा जमिनमा नै छोड । त्यो आकाशको शीतले भिजोस्, र सात वर्ष नबितेसम्म जमिनमै जङ्गली पशुहरूसँग रहोस् ।’24 हे महाराजा, यसको अर्थचाहिँ यो हो । यो सर्वोच्च परमेश्वरको घोषणा हो, जुन मेरा मालिक, महाराजा हजूरकहाँ आएको छ ।25 हजूर मानिसहरूका बीचबाट हटाइनुहुनेछ, र हजूर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्नुहुनेछ । गोरुले झैँ हजूरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजूरलाई भिजाउनेछ, र सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्ने कुरा हजूरले स्वीकार गर्दासम्म सात वर्ष बित्नेछ ।26 रूखको जरासहितको फेदलाई त्यहीँ छोड्ने आज्ञा भएझैँ, स्वर्गले शासन गर्नुहुन्छ भनेर हजूरले स्वीकार गरेपछि हजूरको राज्य हजूरलाई फर्काइनेछ ।27 यसकारण, महाराजा, मेरो सल्लाह हजूरको निम्ति स्वीकारयोग्य होस् । पाप गर्न छोड्नुहोस् र जे ठीक छ त्यही गर्नुहोस् । थिचोमिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना अपराधहरूबाट मुक्त हुनुहोस्, र हजूरको समृद्धि अझै बढोस् ।28 यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो ।29 बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिँडिरहेका थिए,30 अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्नो राजकीय निवास, र आफ्नो ऐश्वर्यको महिमाको निम्ति निर्माण गरेँ ?31 राजाका यी शब्दहरू तिनको ओठमै हुँदा नै, स्वर्गबाट यस्तो आवाज आयो, “राजा नबूकदनेसर, तँलाई यो घोषणा गरिन्छ कि तँबाट यो राज्य खोसिएको छ ।32 तँ मानिसहरूबाट निकालिनेछस्, र तेरो वासस्थान खेतमा वन-पशुहरूसँग हुनेछ । तैँले गोरुले झैँ घाँस खानेछस् । सर्वोच्च परमेश्वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्ने कुरा तैँले स्वीकार गर्दासम्म सात वर्ष बित्नेछ ।33 नबूकदनेसरको विरुद्धमा भएको यो उर्दी तुरुन्तै पूरा भयो । तिनी मानिसहरूबाट निकालिए । तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो । तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राहरूझैँ भयो ।34 ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरेँ, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।35 सम्पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँको अगि निम्न स्तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बीचमा उहाँले आफूलाई ठीक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’ ?36 मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्क्यो । मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्छा गरे । मलाई आफ्नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्ता दिइयो ।37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठीक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्छन् । आफ्नै घमण्डमा हिँड्नेहरूलाई उहाँले नम्र बनाउन सक्नुहुन्छ ।