5
बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए ।2 जब बेलसजरले दाखमद्ये चाखे, तिनले आफ्ना बुबा नबूकदनेसरले यरूशलेमको मन्‍दिरबाट निकालेर ल्याएका सुन वा चाँदीका भाँडाहरू ल्याउन आज्ञा दिए, जसबाट तिनी, तिनका भारदारहरू, तिनका पत्‍नीहरू र उप-पत्‍नीहरूले पिउन सकून् ।3 यरूशलेममा भएको परमेश्‍वरको मन्‍दिरबाट ल्याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए ।4 तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्‌गाले बनेका आफ्ना मूर्तिहरूको प्रशंसा गरे ।5 त्‍यही समय पानसको अगाडि एउटा मानिसको हातका औँलाहरू देखा परे र राजाको दरबारका लिपिएका भित्तामा लेख्‍न थाले । त्‍यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे ।6 तब राजाको अनुहार बद्लियो र तिनका आफ्ना विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन्, र तिनका घुँडाहरू कामेर ठोक्किन थाले ।7 मृतकहरूसँग बोल्न सक्‍छौँ भनेर दाबी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्‍योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए । बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ । त्‍यसलाई यस राज्‍यको तेस्रो उच्‍च शासकको अधिकार दिइनेछ ।8 अनि आफ्नो बुद्धिको निम्ति ख्याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्‍यो लेख पढ्न अनि राजालाई त्‍यसको अर्थ बताउन सकेनन् ।9 अनि राजा बेलसजर धेरै डराए र तिनको अनुहारको स्वरूप परिवर्तन भयो । तिनका भारदारहरू अलमल्ल भए ।10 राजा र तिनका भारदारहरूले भनेका कुरा सुनेर रानी भोजको घरमा आइन् । रानीले भनिन्, “राजा, अमर रहून् ! हजूरका विचारहरूले हजूरलाई विचलित नपारोस् । हजूरको अनुहारको स्वरूपमा परिवर्तन नहोस् ।11 हजूरको राज्‍यमा एक जना मानिस छन् जसमा पवित्र देवताहरूको आत्मा छ । हजूरका बुबाका समयमा, उनमा देवताहरूका जस्‍तै प्रकाश र समझ र बुद्धि पाइएको थियो । महाराजा नबूकदनेसर, हजूरका बुबा, महाराजाले उनलाई जादूगरहरू, मृतकहरूसँग बोल्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्‍योतिषीहरूका प्रमुख बनाउनुभयो ।12 यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो । अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजूरलाई बताउनेछन् ।13 तब दानिएललाई राजाको सामु ल्याइयो । राजाले तिनलाई भने, “तिमी यहूदाका निर्वासितमध्‍ये एक जना मानिस, त्‍यही दानिएल हौ, जसलाई मेरा बुबाले यहूदाबाट ल्याउनुभयो ।14 देवताहरूका आत्मा र प्रकाश तथा समझ र उत्कृष्‍ट बुद्धि तिमीमा छन् भनेर मैले तिम्रो विषयमा सुनेको छु ।15 बुद्धिको निम्ति ख्याति पाएका मानिसहरू र मृतकहरूसँग बोल्न सक्‍छौँ भनेर दाबी गर्नेहरूलाई यो लेख पढ्न र त्‍यसको अर्थ खोल्नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्‍यसको अर्थ जानकारी गराउन सकेनन् ।16 तिमीले अर्थहरू खोल्न सक्छौ र समस्याहरू हल गर्न सक्छौ भनी मैले सुनेको छु । अब तिमीले यो लेख पढ्न सक्यौ र मलाई यसको अर्थ बतायौ भने, तिमीलाई बैजनी कपडा पहिराइनेछ र तिम्रो घाँटीमा सुनको सिक्री लगाइनेछ, र यस राज्‍यमा तिमीलाई तेस्रो उच्‍च शासकको अधिकार हुनेछ ।17 तब दानिएलले राजाको सामु जवाफ दिए, “हजूरका उपहारहरू हजूरकै निम्ति होऊन्, र हजूरका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म यो लेख, महाराजा, हजूरको निम्ति पढिदिनेछु, र हजूरलाई यसको अर्थ बताउनेछु ।18 हे महाराजा, सर्वोच्‍च परमेश्‍वरले हजूरका पिता नबूकदनेसरलाई राज्‍य, महान्‌ता, आदर, र ऐश्‍वर्य दिनुभयो ।19 परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो ।20 तर जब उहाँको हृदय अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए ।21 उहाँ मानिसजातिबाट लखेटिनुभयो । उहाँमा पशुको मन थियो, र उहाँ जङ्‌गली गधाहरूसँग रहनुभयो । उहाँले गोरुले झैँ घाँस खानुभयो । सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्‍यमाथि शासन गर्नुहुन्‍छ र उहाँले आफ्नो इच्‍छाअनुसार मानिसहरूमाथि शासक नियुक्त गर्नुहुन्‍छ भनेर उहाँले स्वीकार नगरेसम्म आकाशका शीतहरूले उहाँको शरीर भिज्‍यो ।22 हजूर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन ।23 हजूरले आफैलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजूर, हजुरका भारदारहरू, हजूरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजूरले चाँदी र सुन, काँसा, फलाम, काठ र ढुङ्‌गाका मूर्तिहरूलाई पुज्‍नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्‍दैनन्, र केही पनि जान्‍दैनन् । हजूरको सास आफ्नो हातमा लिनुहुने र हजूरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजूरले आदर गर्नुभएको छैन ।24 अनि परमेश्‍वरले आफ्नो उपस्थितिबाट एउटा हात पठाउनुभयो र यो लेख लेखियो ।25 त्‍यो लेखिएको कुरा यस्तो छः ‘मेने, मेने, टेकेल, पर्सिन ।’26 यसको अर्थ यो होः ‘मेने’, ‘परमेश्‍वरले हजूरको राज्‍यको गन्‍ती गर्नुभएको छ र त्‍यसको अन्‍त्‍य गर्नुभएको छ ।’27 ‘टेकेल’, ‘तराजुमा हजूरको नाप लिइयो र हजूरमा कमी भेट्टाइयो ।’28 ‘पेरेस’, ‘हजूरको राज्‍य विभाजित भएको छ र त्‍यो मादी र फारसीहरूलाई दिइएको छ ।’ ।29 अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो । उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्‍यस राज्‍यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे ।30 त्‍यही रात बेबिलोनका राजा बेलसजर मारिए,31 अनि मादी दाराले करिब बैसट्ठी वर्षको उमेरमा त्‍यो राज्‍य प्राप्‍त गरे ।