3
नबूकदनेसर राजाले तीस मिटर अग्लो र तीन मिटर चौडा एउटा सुनको मूर्ति बनाए । तिनले त्यो बेबिलोन प्रदेशमा दूराको मैदानमा खडा गरे ।2 त्यसपछि नबूकदनेसरले आफूले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति प्रदेशका बडाहाकिमहरू, क्षेत्रीय अधिकारीहरू, र स्थानीय बडाहाकिमहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्ला अधिकारीहरू र प्रान्तहरूका सबै उच्च पदस्थ अधिकारीहरूलाई भेला गराउन सन्देशहरू पठाए ।3 तब प्रदेशका बडाहाकिमहरू, क्षेत्रीय अधिकारीहरू, र स्थानीय बडाहाकिमहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, जिल्ला अधिकारीहरू र प्रान्तहरूका सबै उच्च पदस्थ अधिकारीहरू नबूकदनेसरले स्थापना गरेका मूर्ति अर्पण गर्नका निम्ति एकसाथ भेला भए । तिनीहरू त्यसको सामु खडा भए ।4 तब एक जना उद्घोषकले ठूलो स्वरले कराएर भन्यो, “जाति-जातिका मानिसहरू र धेरै भाषाहरू बोल्ने, तपाईंहरूलाई यो हुकुम छ,5 कि तपाईंहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै तपाईंहरू सबै जनाले आफूलाई भुइँमा घोप्टो पार्नुपर्छ अनि नबूकदनेसर महाराजाले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु लम्पसार हुनुपर्छ ।6 जो भुइँमा घोप्टो पर्दैन र आराधना गर्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फालिनेछ ।7 त्यसैले जब मानिसहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुने, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू भुइँमा घोप्टो परे र नबूकदनेसर राजाले स्थापना गरेका सुनको मूर्तिको सामु आफूलाई लम्पसार पारे ।8 यति बेला केही कल्दीहरू आए र यहूदीहरूको विरुद्धमा अभियोगहरू लगाए ।9 तिनीहरूले नबूकदनेसर राजालाई यसो भने, “महाराजा, अमर रहून् !10 हजूर महाराजाले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने सबै मानिसहरू घोप्टो पर्नुपर्छ र त्यो सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्नुपर्छ भनेर उर्दी निकाल्नुभएको छ ।11 जो भुइँमा घोप्टो पर्दैन र आराधना गर्दैन, उसलाई त्यसै बेला नै दन्किरहेको आगोको भट्टीमा फालिनुपर्छ ।12 यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजूरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजूरका कुरामाथि ध्यान दिँदैनन् । तिनीहरूले हजूरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजूरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्पसार पार्दैनन् ।13 त्यसपछि नबूकदनेसर रीस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए । त्यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए ।14 नबूकदनेसरले तिनीहरूलाई सोधे, “ए शद्रक, मेशक, र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको पूजा नगर्ने वा मैले स्थापना गरेको सुनको मूर्तिको सामु आफूलाई लम्पसार नपार्ने निर्णय गरेका छौ ?15 अब तिमीहरू नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा, र सबै किसिमका बाजाका धुन सुन्ने बित्तिकै घोप्टो पर्यौ र मैले बनाएको मूर्तिको सामु लम्पसार पर्यौ भने, सबै कुरा ठीक हुनेछ । तर तिमीहरूले पूजा गरेनौ भने, तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीमा फालिनेछौ । त्यो कुन देवता होला जसले तिमीहरूलाई मेरा हातबाट बचाउन सक्छ ?16 शद्रक, मेशक, र अबेद्नगोले राजालाई जवाफ दिए, “हे नबूकदनेसर, हामीले हजूरलाई यस बारेमा जवाफ दिनु आवश्यक छैन ।17 त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्न सक्नुहुन्छ, र उहाँले नै हामीलाई हजूर महाराजाको हातबाट बचाउनुहुनेछ ।18 तर उहाँले त्यस्तो गर्नुभएन भने पनि, महाराजालाई यो थाहा होस्, कि हामी हजूरका देवताहरूको पुजा गर्नेछैनौँ र हजूरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफैलाई लम्पसार पार्नेछैनौँ ।19 तब नबूकदनेसर रीसले चूर भए । शद्रक, मेशक, र अबेद्नगोप्रति तिनको अनुहारको भाव बद्लियो । अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउने भन्दा सात गुणा बढी तताउने आदेश दिए ।20 तब तिनले आफ्ना सेनामा अत्यन्तै बलिया मानिसहरूलाई शद्रक, मेशक, र अबेद्नगोलाई बाँध्न र दन्किरहेको आगोको भट्टीमा फाल्न आदेश दिए ।21 तिनीहरूका वस्त्रहरू, अलखाहरू, फेटाहरू र अन्य लुगाहरूसमेत तिनीहरूलाई बाँधियो, र तिनीहरूलाई दन्किरहेको भट्टीमा फालियो ।22 राजाको आज्ञालाई सख्त रूपमा पालना गरिएको हुनाले र त्यो भट्टी अत्यन्तै तातो भएको हुनाले शद्रक, मेशक, र अबेद्नगोलाई त्यहाँ लाने मानिसहरूलाई आगोको ज्वालाले मार्यो ।23 यी तीन मानिसहरू, शद्रक, मेशक, र अबेद्नगो बाँधिएकै अवस्थामा दन्किएको भट्टीमा फालिए ।24 अनि राजा नबूकदनेसर आश्चर्यचकित भए र झट्टै खडा भए । तिनले आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले ती तीन जना मानिसहरूलाई बाँधेर आगोमा फालेका होइनौँ र ?” तिनीहरूले राजालाई जवाफ दिए, “निश्चय नै महाराजा ।25 तिनले भने, “तर चार जना मानिसलाई नबाँधिएर आगोमा हिँडिरहेका म देख्दैछु, र तिनीहरूलाई कुनै हानी भएको छैन । अनि चौथोचाहिँ देवताहरूका पुत्रझैँ चम्किरहेका छन् ।26 अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्नगो, अति उच्च परमेश्वरका सेवकहरू हो, बाहिर निस्क ! यहाँ आओ !” अनि शद्रक, मेशक, र अबेद्नगो आगोबाट बाहिर आए ।27 त्यहाँ भेला भएका प्रदेशका बडाहाकिमहरू, क्षेत्रीय अधिकारीहरू, अन्य अधिकारीहरू र राजाका सल्लाहकारहरूले यी मानिसहरूलाई देखे । आगोले तिनीहरूका शरीरलाई कुनै हानि गरेको थिएन । तिनीहरूका शिरको रौँ खहरिएको थिएन । तिनीहरूका लुगालाई केही भएको थिएन । अनि तिनीहरूमा आगोको कुनै गन्ध नै थिएन ।28 नबूकदनेसरले भने, “हामी शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको प्रशंसा गरौँ, जसले आफ्नो सन्देशवाहक पठाउनुभएको छ र आफ्ना सेवकहरूलाई आफ्नो सन्देश दिनुभएको छ । तिनीहरूले मेरो आज्ञा नमानेर उहाँमा विश्वास गरे, र आफ्ना परमेश्वरबाहेक अरू कुनै देवताको पूजा गर्नु र तिनका सामु लम्पसार पर्नुको साटोमा तिनीहरूले आफ्ना शरीरलाई नै त्यागे ।29 त्यसैले म एउटा उर्दी जारी गर्छु, कि शद्रक, मेशक, र अबेद्नगोका परमेश्वरको विरुद्ध बोल्ने कुनै जाति, राष्ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्राटुक्रा पारिनेछ, र तिनीहरूका घरहरू भग्नावशेषका थुप्रो हुनेछन्, किनभने यसरी बचाउन सक्ने अरू कुनै देवता छैन ।30 त्यसपछि राजाले शद्रक, मेशक, र अबेद्नगोलाई बेबिलोनको प्रदेशमा पदोन्नति गरिदिए ।