2
नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्‍न सकेनन् ।2 त्‍यसपछि राजाले जादूगरहरू र मृतहरूसँग बोल्न सक्‍छौँ भनेर दाबी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान् मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए ।3 राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेँ, र त्‍यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको छ ।4 तब ती बुद्धिमान् मानिसहरूले आरमेइक भाषामा राजालाई भने, “महाराजा, अमर रहून् ! हामी तपाईंका सेवकहरूलाई उक्त सपना भन्‍नुहोस्, र हामी त्‍यसको अर्थ खोल्नेछौँ ।5 राजाले ती बुद्धिमान् मानिसहरूलाई जवाफ दिए, “निर्णय यो भएको छ । तिमीहरूले त्‍यो सपना मलाई प्रकट गरेनौ अनि त्‍यसको अर्थ खोलेनौ भने, तिमीहरूका शरीरहरू टुक्राटुक्रा पारिनेछन् र तिमीहरूका घरहरू भग्‍नावशेषको थुप्रो हुनेछन् ।6 तर तिमीहरूले मलाई सपना र त्‍यसको अर्थ भन्‍यौ भने, तिमीहरूले मबाट उपहारहरू, इनाम अनि उच्‍च सम्मान पाउनेछौ । यसैले उक्त सपना र त्‍यसको अर्थ मलाई भन ।7 तिनीहरूले फेरि जवाफ दिए र यसो भने, “महाराजाले हामी आफ्ना सेवकहरूलाई त्‍यो सपना भन्‍नुहोस् र तपाईंलाई हामी त्‍यसको अर्थ भन्‍नेछौँ ।8 राजाले जवाफ दिए, “मलाई यो निश्‍चय थाहा छ कि तिमीहरू धेरै समय चाहन्‍छौ किनकी यस विषयमा मेरो निर्णय कति दृढ छ भनी तिमीहरूले देखेका छौ ।9 तर तिमीहरूले मलाई सपना भनेनौ भने, तिमीहरूका निम्ति एउटै मात्र सजाय छ । मैले आफ्नो मन नबदलेसम्म तिमीहरूले झूटो र छलपूर्ण शब्दहरू मलाई भन्‍ने तयारी गर्नलाई तिमीहरूले मिलेर निर्णय गरेका छौ । यसैले, मलाई सपना बताओ, र त्‍यसको अर्थ तिमीहरूले भन्‍न सक्छौ भनी मलाई थाहा हुनेछ ।10 ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पूरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन । कुनै यस्तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादूगर, वा मृतसँग बोल्न सक्छु भनेर दाबी गर्ने कुनै व्यक्ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन् ।11 महाराजाले जे माग गर्नुभएको छ त्‍यो अत्‍यन्‍तै कठिन छ, र यो कुरा महाराजालाई देवहरूले बाहेक अरू कसैले बताउन सक्दैन, र तिनीहरू मानिसहरूका बीचमा बस्दैनन् ।12 यस कुराले राजालाई रीस उठायो र अत्‍यन्‍तै क्रोधित बनायो, र तिनले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्ने एउटा आदेश दिए ।13 यसैले आफूमा भएका बुद्धिको निम्ति प्रख्यात भएका सबै जनालाई मार्नको निम्ति उर्दी जारी भयो । यही उर्दीको कारणले, तिनीहरूले दानिएल र तिनका साथीहरूलाई पनि खोजे ताकि तिनीहरूलाई मार्न सकियोस् ।14 तब बेबिलोनका आफूमा भएको बुद्धिको निम्ति प्रख्यात सबै जनालाई मार्नको निम्ति आएका राजाका अङ्‌गरक्षकका कप्‍तान अर्योकलाई दानिएलले विवेकपूर्ण र बुद्धिमान् किसिमले जवाफ दिए ।15 दानिएलले राजाका कप्‍तानलाई सोधे, “किन महाराजाबाट तुरुन्‍तै यस्तो उर्दी आयो ?” अनि अर्योकले जे भएको थियो त्‍यो दानिएललाई बताए ।16 त्‍यसपछि दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे ताकि तिनले सपनाको अर्थ राजालाई बताउन सकून् ।17 त्‍यसपछि दानिएल आफ्नो घरमा गए र जे भएको थियो त्‍यो हनन्‍याह, मीशाएल र अजर्याहलाई बताए ।18 यो रहस्यको विषयमा स्वर्गका परमेश्‍वरको कृपा खोज्‍न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्‍य ख्यातिप्राप्‍त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् ।19 त्‍यो रात एउटा दर्शनमा दानिएललाई त्‍यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे,20 र यसो भने, “परमेश्‍वरको नाउँको सदासर्वदा प्रशंसा होस्, किनकि बुद्धि र शक्ति उहाँकै हुन् ।21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्‍छ । उहाँले राजाहरूलाई हटाउनुहुन्‍छ र राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्‍छ । उहाँले बुद्धिमान्‌लाई बुद्धि र समझदारहरूलाई ज्ञान दिनुहुन्‍छ ।22 उहाँले गहिरा र लुकेका कुराहरू प्रकट गर्नुहुन्‍छ किनभने अन्धकारमा के छ भनी उहाँले जानुहुन्‍छ र उज्‍यालोले उहाँसँग वास गर्छ ।23 हे मेरा पुर्खाहरूका परमेश्‍वर, म तपाईंलाई धन्‍यावाद दिन्‍छु र तपाईंको प्रशंसा गर्छु,किनकि तपाईंले मलाई बुद्धि र शक्ति दिनुभयो । हामीले तपाईंसँग जे बिन्‍ती गर्‍यौँ त्‍यो तपाईंले मलाई प्रकट गर्नुभएको छ, राजाको चिन्‍ताको विषयलाई तपाईंले हामीलाई जानकारी गराउनुभएको छ ।24 त्‍यसपछि दानिएल अर्योकलाई भेट्न गए (जसलाई बेबिलोनका सबै बुद्धिमान्‌लाई मार्नका लागि राजाले नियुक्त गरेका थिए) । तिनी गए र उनलाई भने, “बेबिलोनका बुद्धिमान् मानिसहरूलाई नमार्नुहोस् । मलाई राजाकहाँ लानुहोस् र राजाको सपनाको अर्थ म उहाँलाई खोलिदिनेछु ।25 त्‍यसपछि अर्योकले तुरुन्‍तै दानिएललाई राजाको सामु लगे र यसो भने, “मैले यहूदाका निर्वासितहरूका बीचमा एक जना मानिस भेट्टाएको छु जसले महाराजाको सपनाको अर्थ खोल्नेछ ।26 राजाले दानिएललाई (जसको नाउँ बेलतसजर थयो) सोधे, “मैले देखेको सपना र त्‍यसको अर्थ के तिमी मलाई भन्‍न सक्छौ ?27 दानिएलले राजालाई जवाफ दिए र यसो भने, “राजाले सोध्‍नुभएको रहस्यलाई बुद्धि भएकाहरूले प्रकट गर्न सक्दैनन्, न त मृतकहरूसँग बोल्न सक्‍छौँ भनेर दाबी गर्नेहरूले, न त जादूगरहरूले र ज्‍योतिषीहरूले नै गर्न सक्छन् ।28 तापनि, त्‍यहाँ एक यस्तो परमेश्‍वर हुनुहुन्‍छ जो स्वर्गमा वास गर्नुहुन्‍छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्‍छ र आउने दिनहरूमा के हुनेछ भनी उहाँले हजूर महाराजा नबूकदनेसरलाई प्रकट गर्नुभएको छ । हजूर आफ्नो ओछ्यानमा पल्टनुहुँदा हजूरले देख्‍नुभएको सपना र हजूरका मनका दर्शनहरू यस प्रकार थिए ।29 हजूरचाहिँ, महाराजा, ओछ्यानमा हुँदा हजूरमा भएका विचारहरू हुन आउने कुराहरूका बारेमा थिए, र भविष्यमा के हुँदैछ भनेर रहस्य खोल्नुहुनेले नै हजूरलाई प्रकट गर्नुभएको छ ।30 मलाई चाहिँ, अरू कुनै जीवित मानिस भन्‍दा धेरै बुद्धि मसँग भएको कारण मलाई त्‍यो रहस्य प्रकट भएको होइन । हजूर, महाराजाले त्‍यसको अर्थ बुझ्‍न सक्‍नुभएको होस्, र आफूभित्रका गहिरा कुराहरू हजूरले जान्‍न सक्‍नुभएको होस् भनेर हजूरलाई त्‍यो रहस्य प्रकट भएको हो ।31 महाराजा, हजूरले माथि हेर्नुभयो र हजूरले एउटा ठूलो सालिक देख्‍नुभयो । त्‍यो धेरै शक्तिशाली र उज्‍यालो सालिक हजूरको सामु खडा भयो । त्‍यसको चमक डरलाग्दो थियो ।32 त्‍यस सालिकको शिर निक्‍खर सुनले बनेको थियो । त्‍यसको छाती र हातहरू चाँदीका थिए । त्‍यसको पेट र तिघ्राहरू काँसाका थिए,33 र त्‍यसका गोडाहरू फलामका थिए । त्‍यसका पाउहरू केही फलाम र केही माटोले बनेका थिए ।34 हजूरले माथि हेर्नुभयो, र एउटा ढुङ्‌गो काटियो । तापनि त्‍यो मानिसको हातले होइन, अनि फलाम र माटोले बनेको सालिकको पाउहरूमा त्‍यो ठोक्कियो, र त्‍यसले ती चकनाचूर पार्‍यो ।35 तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्राटुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैँ भए । बतासले तिनलाई उडायो र त्‍यहाँ तिनका कुनै नाउँ निशान रहेन । तर त्‍यो सालिकलाई हिर्काउने ढुङ्‌गोचाहिँ एउटा ठूलो पर्वत बन्‍यो र त्‍यसले सम्पूर्ण पृथ्वीलाई ढाक्यो ।36 हजूरको सपना यही थियो । अब हामी महाराजालाई अर्थ बताउँछौँ ।37 महाराजा, हजूर राजाहरूका महाराजा हुनुहुन्‍छ जसलाई स्वर्गका परमेश्‍वरले राज्‍य, शक्ति, बल र सम्मान दिनुभएको छ ।38 मानवजातिहरू बस्‍ने ठाउँ उहाँले हजूरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजूरका हातमा दिनुभएको छ, र ती माथि हजूरलाई शासन गर्ने बनाउनुभएको छ । हजूर नै त्‍यस सालिकको सुनको शिर हुनुहुन्‍छ ।39 हजूरपछि, अर्को एउटा राज्‍य खडा हुनेछ जुन हजूरको भन्‍दा कमजोर हुनेछ, र त्‍यसपछि अझै काँसाको अर्को तेस्रो राज्‍यले सबै पृथ्वीमाथि शासन गर्नेछ ।40 त्‍यहाँ फलामझैँ बलियो चौथो राज्‍य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्राटुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्‍यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ ।41 जसरी हजूरले देख्‍नुभयो, पाउहरू र बुढी औँलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्‍यसरी नै त्‍यो एउटा विभाजित राज्‍य हुनेछ । त्‍यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजूरले फलाम र नरम माटो मिसिएको देख्‍नुभयो ।42 जसरी पाउहरूका बुढी औँलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्‍यो राज्‍य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।43 जसरी हजूरले फलामलाई नरम माटोसँग मिसिएको देख्‍नुभयो, त्‍यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्‍नेछैनन्, जसरी फलाम माटोसँग मिल्न सक्दैन ।44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्‍वरले एउटा राज्‍य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नता कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्‍यसले अरू राज्‍यहरूलाई टुक्राटुक्रा पार्नेछ र तिनीहरू सबैको अन्‍त्‍य गर्नेछ, र त्‍योचाहिँ सदाको निम्ति रहनेछ ।45 जसरी पर्वतबाट एउटा ढुङ्‌गो काटिएको हजूरले देख्‍नुभयो, तर मानिसको हातले होइन । त्‍यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्राटुक्रा पार्‍यो । महाराजा, महान् परमेश्‍वरले हजूरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्‍यसको अर्थ विश्‍वासयोग्य छ ।46 राजा नबूकदनेसर दानिएलको अगि घोप्‍टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए ।47 राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिँ देवताहरूका परमेश्‍वर, राजाहरूका प्रभु हुनुहुन्‍छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।48 अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबै भन्‍दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रधान मुखिया भए ।49 दानिएलले राजासँग एउटा अनुरोध गरे, र राजाले शद्रक, मेशक, र अबेद्‌नगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासकहरू नियुक्त गरे । तर दानिएल राजाको दरबारमा नै रहे ।