44
त्यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र-स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।2 परमप्रभुले मलाई भन्नुभयो, “यो ढोका बन्द गरी मोहोर लगाइएको छ । यो खोलिनेछैन । कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ ।3 इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।4 तब तिनले मलाई उत्तरी ढोकाको बाटो हुँदै मन्दिरको अगाडि लगे । मैले हेरेँ, र हेर, परमप्रभुको महिमाले परमप्रभुको मन्दिरलाई ढाक्यो, र मैले आफ्नो शिर घोप्टो पारेँ ।5 तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई घोषणा गर्ने सबै कुरा, परमप्रभुको मन्दिरका सबै विधि र त्यसका सबै नियमतिर आफ्नो हृदयलाई तयार पार् र ती आफ्ना आँखाले हेर् र कानले सुन् । मन्दिरका भित्र आउने ढोका र बाहिर निस्कने ढोकाहरूका बारेमा विचार गर् ।6 तब विद्रोही इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ए इस्राएलको घराना, तेरा सबै घिनलाग्दा कामहरू अब अति भएका छन्,7 तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्दिरलाई अशुद्ध बनायौ । तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ ।8 मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पूरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्न अरूहरूलाई नियुक्त गर्यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र-स्थानको रेखदेख गर्न लगायौ ।9 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएलका मानिसहरूका बीचमा बसोबास गर्ने कोही परदेशी जसको हृदय र शरीरको खतना भएको छैन, त्यो मेरो पवित्र ठाउँमा प्रवेश नगरोस् ।10 तापनि लेवीहरू भने मबाट टाढा भए - आफ्ना मूर्तिहरूका पछि लागेर तिनीहरू मबाट टाढा भड्किए, तर तिनीहरूले आफ्ना पापको मोल तिर्नेछन् ।11 तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्छन् र तिनीहरूको सेवा गर्छन् ।12 तर तिनीहरूले आफ्ना मूर्तिहरूका अगाडि बलिदान चढाएका हुनाले, इस्राएलको घरानाको निम्ति तिनीहरू पापको कारण बने । यसैकारण म आफ्नो हात उठाएर तिनीहरूको विरुद्धमा शपथ खान्छु कि तिनीहरूले आफ्नो दण्ड पाउनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।13 तिनीहरू मेरा पूजाहारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् । बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्नेछन् ।14 तर म तिनीहरूलाई मेरो मन्दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु ।15 अनि इस्राएलका मानिसहरू मबाट टाढा भड्किरहेका बेलामा, मेरो पवित्र-स्थानका कर्तव्यहरूलाई पूरा गर्ने सादोकका छोराहरू अर्थात् लेवी पूजाहारीहरू मेरो अगि मेरो आराधना गर्न आउनेछन् । मलाई बोसो र रगत चढाउन तिनीहरू मेरो अगि खडा हुनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।16 तिनीहरू मेरो पवित्र-स्थानमा आउनेछन् । मेरो आराधना गर्न र मेरो निम्ति आफ्ना कर्तव्यहरू पूरा गर्न तिनीहरू मेरो टेबिल नजिक आउनेछन् ।17 यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्दिरभित्र आउन तिनीहरूले ऊनको वस्त्र लगाउनु हुँदैन ।18 तिनीहरूका शिरमा सूतिको फेटा र कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ । तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनु हुँदैन ।19 जब तिनीहरू मानिसहरूकहाँ बाहिरी चोकमा जान्छन्, तब तिनीहरूले सेवा गर्दा लगाइरहेको वस्त्र खोल्नुपर्छ । तिनीहरूले ती खोल्नैपर्छ र ती पवित्र कोठामा राख्नुपर्छ, ताकि ती विशेष पहिरनको छुवाइले तिनीहरूले अरू मानिसहरूलाई पवित्र नबनाऊन् ।20 तिनीहरूले आफ्नो कपाल खौरिन पनि हुँदैन, न त ती खुला छोड्न हुन्छ, तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून् ।21 भित्री चोकमा आउँदा कुनै पनि पूजाहारीले दाखमद्य पिएको हुनु हुँदैन ,22 त्यसले विधवा वा सम्बन्ध-विच्छेद भएकी स्त्रीलाई आफ्नी पत्नी बनाउनु हुँदैन, तर त्यसले इस्राएलको घरानाको कन्ये केटी वा पूजाहारीसँग विवाह गरेर विधवा भएकीसँग मात्र विवाह गरोस् ।23 किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बीचको भिन्नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् ।24 कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् । तिनीहरू न्यायपूर्ण हुनुपर्छ । तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन् ।25 तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कुमारी दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।26 कुनै पूजाहारी अशुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्नेछन् ।27 अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।28 तिनीहरूको उत्तराधिकार यही हुनेछः म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू । म नै तिनीहरूको सम्पत्ति हुनेछु ।29 तिनीहरूले अन्नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ ।30 सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पूजाहारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्ट अन्नबलि पूजाहारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस् ।31 जङ्गली पशुले मारेको चरा वा पशुको सिनुबाट पूजाहारीहरूले खानु हुँदैन ।