45
उत्तराअधिकारको रूपमा देशलाई भाग लगाउन जब तिमीहरूले चिट्ठा हाल्छौ, तब तिमीहरूले परमप्रभुको निम्ति एउटा जग्गा अलग गर्नू । यो दानको जग्गा पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा देशको एउटा पवित्र जमिन हुनेछ । त्‍यो र त्‍यसको वरिपरिको क्षेत्र सबै पवित्र हुनेछ ।2 यसबाट पाँच सय हात लमाइ र चौडाइको वर्गाकार क्षेत्र हुनेछ जसले पवित्र स्थानलाई घेर्नेछ, र त्‍यसको वरिपरिको सिमाना पचास हात चौडा हुनेछ ।3 यस क्षेत्रबाट तिमीहरूले पच्‍चीस हजार हात लमाइ र दश हजार हात चौडाइ नाप्‍नू । त्‍योचाहिँ पवित्र-स्थान, र महा-पवित्र स्थान हुनेछ ।4 योचाहिँ परमप्रभुको सेवा गर्ने पूजाहारीहरूका निम्ति देशमा एउटा पवित्र ठाउँ हुनेछ, जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । यो तिनीहरूका निम्ति घरहरू र पवित्र ठाउँको निम्ति एउटा पवित्र क्षेत्र हुनेछ ।5 यसरी त्‍यो पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्‍यो मन्‍दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्‍यो हुनेछ ।6 सहरको लागि एउटा क्षेत्र अलग गर्नू जुन पाँच हजार हात चौडा र पच्‍चीस हजार हात लामो होस् । त्‍योचाहिँ पवित्र ठाउँको निम्ति अलग गरिएको क्षेत्रको छेउमा हुनेछ । यो सहर इस्राएलका सबै घरानाको हुनेछ ।7 शासकको जमिनचाहिँ पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्‍यो तिनीहरूको पश्‍चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्‍चिमसम्म यी भागहरूमध्‍ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ ।8 यो जमिनचाहिँ इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्‍यो जमिन दिनेछन् ।9 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः अब अति भयो, इस्राएलका शासकहरू हो ! हिंसा र झै-झगडा हटाओ । न्‍याय गर र धार्मिकता देखाओ । मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।10 तिमीहरूका नाप ठीक, ठीक एपा र ठीक बाथ हुनुपर्छ !11 एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्दो हुनेछ ।12 शेकेलचाहिँ बीस गेरा होस् । साठी शेकेलको एक मीना हुनेछ ।13 तिमीहरूले दिनुपर्ने योगदान यही होः गहूँको एक होमेरसँग एपाको छैटौँ भाग, र जौको एक होमेरसँग एपाको छैटौँ भाग तिमीहरूले दिनेछौ ।14 तेलको तोकिएको भेटीचाहिँ हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौँ भाग हुनेछ (एक कोर दश बाथ हुन्‍छ), किनभने एक होमेर भनेको पनि दश बाथ हो ।15 इस्राएलका राम्रो पानी पाएका क्षेत्रहरूका हरेक दुई सय पशुहरूका निम्ति बगालबाट एउटा भेडो वा बोको मानिसहरूका निम्ति प्रायश्‍चित गर्नलाई होमबलि वा मेलबलिको निम्ति प्रयोग हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।16 देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् ।17 चाडहरू र औँसीका उत्सवहरू र शबाथ दिनहरू - इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्ध गर्नेछन् ।18 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनू ।19 पूजाहारीले पापबलिको रगतबाट केही लिनेछन् र मन्‍दिरको ढोकाका चौकोसहरू, वेदीको सिमानाका चार किनारहरू, र भित्री चोकको ढोकाको चौकोसहरूमा लगाउनेछन् ।20 हरेक मानिसबाट अजानमा वा अज्ञानतामा हुने पापको निम्ति महिनाको सातौँ दिनमा यस्तो गर्नू । यसरी तिमीहरूले मन्‍दिरको निम्ति प्रायश्‍चत गर्नेछौ ।21 पहिलो महिनाको चौधौँ दिनमा, तिमीहरूको निम्ति सात दिनको एउटा पर्व हुनेछ । तिमीहरूले अखमिरी रोटी खानुपर्छ ।22 त्‍यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् ।23 सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्ः सात दिनसम्म हरेक दिन सात वटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको ।24 अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्‍नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ ।25 सातौँ महिनाको पन्ध्रौँ दिनमा, चाडमा, शासकले यी सात दिनहरूमा यी बलिहरू चढाउनेछन्ः पापबलि, होमबलि, अन्‍नबलि, र तेलको बलि ।