43
त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।2 हेर, इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आयो । उहाँको आवाज धेरै पानीको झैँ थियो, र पृथ्वीले उहाँको महिमाको प्रकाश दियो ।3 त्‍योचाहिँ मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शन जस्‍तो थियो, र मैले आफ्नो शिर घोप्‍टो पारेँ ।4 यसरी पूर्वपट्टि खोलिएको ढोकाको बाटोबाट परमप्रभुको महिमा मन्‍दिरभित्र आयो ।5 तब आत्माले मलाई उचाल्नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्‍दिरलाई भरिरहेको थियो ।6 ती मानिस मेरो छेउमा खडा थिए, र मैले मन्‍दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनेँ ।7 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यो मेरो सिंहासनको ठाउँ र मेरो पाउका पैताला रहने ठाउँ हो, जहाँ म इस्राएलका मानिसहरूका बीचमा सदासर्वदाको निम्ति रहनेछु । इस्राएलको घराना, अर्थात् तिनीहरू र तिनीहरूका राजाहरूले आफ्ना विश्‍वासहीनता वा उच्‍च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् ।8 तिनीहरूको सँघारलाई मेरो सँघारको नजिक, र तिनीहरूको ढोकाका चौकोसहरूलाई मेरो ढोकाका चौकोसहरूका नजिक राखेर, अनि म र तिनीहरूका बीचमा एउटा भित्ता मात्र राखेर अबदेखि तिनीहरूले मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् । तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूद्वारा मेरो नाउँलाई अशुद्ध बनाए, यसैले मैले तिनीहरूलाई आफ्नो क्रोधमा नाश गरेँ ।9 अब तिनीहरूले आफ्ना विश्‍वासहीनता र तिनीहरूका राजाहरूका लाशहरूलाई मेरो नजिकबाट हटाऊन्, र म तिनीहरूका बीचमा सदासर्वदालाई रहनेछु ।10 ए मानिसको छोरो, यस मन्‍दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्‍नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् । तिनीहरूले यो वर्णनमाथि विचार गरून् ।11 तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्‍जित छन् भने यस मन्‍दिरको सारा संरचना, सबै विवरण, बाहिर जाने र भित्र आउने ढोकाहरू, र त्‍यसका सारा नमूना, र विधि र नियमहरू तिनीहरूलाई प्रकट गराउनू । अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्‍यसको सारा संरचना र नियमहरूलाई सुरक्षित राखून्, यसरी ती पालना गरून् ।12 मन्‍दिरको नियम यही होः पहाडको टुप्‍पोदेखि त्‍यसको वरिपरिको क्षेत्र पवित्र हुनुपर्छ । हेर, मन्‍दिरको नियम यही नै हो ।13 वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन् - लामो हातको नाप एक हात र चार अङ्‌गुलको चौडाइ बराबर हुन्‍छ । वेदीको वरिपरिको नाल एक हात गहिरो, र त्‍यसको चौडाइ एक हात हुनेछ । त्‍यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ । योचाहिँ वेदीको आधार हो ।14 भुँइको नालदेखि वेदीको तल्लो किनारसम्म दुई हात, र किनार आफैचाहिँ एक हात चौडा छ । अनि वेदीको सानो किनारदेखि ठूलो किनारसम्म चार हात, र ठूलो किनारचाहिँ एक हात चौडा छ ।15 होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चार वटा सीङ छन् ।16 अगेनो बाह्र हात लामो र बाह्र बात चौडा, वर्गाकार छ ।17 त्‍यसको चारैतिर त्‍यसको बिट चौध हात लामो र चौध हात चौडा छ, र त्‍यसको किनार आधा हात चौडा छ । नालचाहिँ पूर्वतिर फर्केका खुड्किलासहित सबैतिर एक हात चौडा छ ।18 त्‍यसपछि तिनले मलाई भने, “ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिनीहरूले वेदी बनाएको दिनमा त्‍यसमा होमबलि चढाउने, र रगत छर्किने विधिहरू यी नै हुन् ।19 सादोकको वंशबाट मेरो सेवा गर्न मेरो नजिक आउने लेवी पूजाहारीहरूलाई पापबलिको रूपमा एउटा साँढे दिनू, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।20 तब तैँले त्‍यसको केही रगत लिनू र वेदीका चार वटा सीङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्‍यसलाई शुद्ध गरेर त्‍यसको निम्ति प्रायश्‍चित गर्नू ।21 अनि तैँले साँढेलाई पापबलिको निम्ति लैजानू र पवित्र- स्थानको बाहिरपट्टि मन्‍दिरको तोकिएको ठाउँमा त्‍यसलाई जलाउनू ।22 अनि दोस्रो दिनमा तैँले एउटा निष्खोट बोकोलाई पापबलिको रूपमा चढाउनु । पूजाहारीहरूले साँढेले वेदीलाई शुद्ध गरे जस्‍तै वेदीलाई शुद्ध गर्नेछन् ।23 त्‍यसलाई तैँले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु ।24 ती परमप्रभुको अगि चढाउनू । पूजाहारीहरूले तीमाथि नून राख्‍नेछन् र परमप्रभुको निम्ति होमबलिझैँ चढाउनेछन् ।25 सात दिनसम्म तैँले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पूजाहारीहरूले पनि एउटा बथानका त्‍यो निष्खोट साँढे र बगालको त्‍यो निष्खोट भेडो तयार गरून् ।26 तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् र त्‍यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्‍यसलाई पवित्र पार्नुपर्छ ।27 तिनीहरूले यी दिनहरू पूरा गर्नैपर्छ, र आठौँ दिन र त्‍यसपछि पूजाहारीहरूले तिमीहरूका होमबलि र तिमीहरूका मेलबलिलाई वेदीमा तयार गर्नेछन्, र म तिमीहरूलाई ग्रहण गर्नेछु, यो परमप्रभु परमेश्‍वर घोषणा हो ।”