40
हाम्रो निर्वासनको पच्‍चीसौँ वर्षमा, वर्षको सुरुमा, महिनाको दशौँ दिनमा, सहर कब्जा भएको चौधौँ वर्षमा, त्‍यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्‍यहाँ लानुभयो ।2 परमेश्‍वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्‍च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरू जस्‍तै देखिएका थिए ।3 अनि उहाँले मलाई त्‍यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसा जस्ता देखिन्‍थे । तिनको हातमा सूतीको डोरी र नाप्‍ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।4 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, आफ्नो आँखाले हेर् र आफ्नो कानले सुन्, र मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्नो मन लगा, किनकि तँलाई यहाँ ल्याइयो ताकि तँलाई म यी कुरा प्रकट गर्न सकूँ। तैँले देख्‍ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे ।5 त्‍यहाँ मन्‍दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो । ती मानिसको हातमा भएको नाप्‍ने लौरोको लमाइ छ हात लामो थियो । हरेक हातमा एक हात लमाइ र चार औँला चौडाइ थियो । तिनले त्‍यो पर्खालको नाप लिए, र त्‍यो एक नाप्‍ने लौरोजति चौडा र एक लौरो अग्लो थियो ।6 त्‍यसपछि तिनी पूर्व फर्किएको मन्‍दिरको ढोकामा गए । तिनी त्‍यसको खुड्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्‍यो एक लौरो गहिरो थियो ।7 रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बीचमा पाँच हातको दूरी थियो, र मन्‍दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो ।8 तिनले ढोकाको दलानको नाप लिए, त्‍यो एक लौरो लामो थियो ।9 तिनले ढोकाको दलानको नाप लिए, त्‍यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिँ दुई हात चौडा थिए । योचाहिँ मन्‍दिरतर्फ फर्किएको ढोकाको दलान थियो ।10 त्‍यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तीन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।11 त्‍यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्‍यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्‍यो तेह्र हात थियो ।12 ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्‍यो एक हात उच्‍च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए ।13 तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्‍चीस हात थियो ।14 रक्षक कोठाहरूका बीचबाट गएको पर्खाललाई तिनले नापे, त्‍यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे ।15 ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो ।16 ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्‍द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्‍यस्तै थिए । त्‍यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए ।17 त्‍यसपछि ती मानिसले मलाई मन्‍दिरको बाहिरी चाकमा ल्याए । हेर, त्‍यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्‌गाहरू छापिएको थियो, र ढुङ्‌गाहरू छापिएको ठाउँ भन्‍दा उता त्‍यहाँ तीस वटा कोठाहरू थिए ।18 ढोकाहरूको छेउसम्म ती ढुङ्‌गाहरू छापिएका थिए, त्‍यसको चौडाइ ढोकाको लमाइझैँ थियो । त्‍यो ढुङ्‌गाहरू छापिएका तल्लो भुइँ थियो ।19 त्‍यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दूरी नापे । त्‍यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्‍यति नै थियो ।20 त्‍यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।21 त्‍यस ढोकाको दुवैपट्टि तीन वटा कोठा थिए, र त्‍यो ढोकाको र त्‍यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्‍चीस हात थियो ।22 त्‍यसका झ्यालहरू, दलान, कोठाहरू र त्‍यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्दो थियो । त्‍यहाँ र त्‍यसको दलानसम्म सात खुड्किला थिए ।23 उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्‍तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्‍यसको दूरी एकसय हात थियो ।24 त्‍यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्‍यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।25 ढोकामा बन्‍द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैँ झ्यालहरू थिए । दक्षिणको ढोकाको र त्‍यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।26 त्‍यो ढोकाको र दलानसम्म सात खुड्किला थिए, र दुवैपट्टि पर्खालहरूमा खजूरको रूखको चित्र खोपिएका थिए ।27 दक्षिण भागमा भित्री चोकमा एउटा ढोका थियो, र ती मानिसले त्‍यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्‍यो एक सय हात थियो ।28 अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो ।29 त्‍यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।30 भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्‍चीस हात र चौडाइमा पाँच हात थिए ।31 यो दलान बाहिरी चोकतिर फर्केको थियो, र त्‍यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो र त्‍यहाँसम्म आठ वटा खुड्किला थिए ।32 तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।33 त्‍यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्‍यसको वरिपरि झ्यालहरू थिए । भित्री ढोकाको र त्‍यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।34 त्‍यसको दलान बाहिरी चोकतिर फर्केको थियो । त्‍यसको दुवैपट्टि खजूरको रूखहरूका चित्र थियो र त्‍यहाँसम्म आठ खुड्किला थिए ।35 त्‍यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्‍यसको नाप लिए । त्‍यसको नाप अरू ढोका बराबर थियो ।36 त्‍यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्‍यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्‍यसको दलानको लमाइ पचास हात र चौडाइ पच्‍चीस हात थियो ।37 त्‍यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्‍यसको दुवैपट्टि खजूरको रूखहरूका चित्र थिए र त्‍यहाँसम्म आठ खुड्किला थिए ।38 सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्‍यहाँ तिनीहरूले होमबलि धुन्‍थे ।39 हरेक दलानको दुवैतिर दुई-दुई वटा टेबिल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्‍थ्यो ।40 चोकको पर्खालको छेउमा, उत्तरको ढोकातर्फ दुई वटा टेबिल थिए । ढोकाको दलानको अर्कोपट्टि पनि दुई वटा टेबिल थिए ।41 ढोकाको छेउमा दुवैपट्टि चार-चार वटा टेबिल थिए । त्‍यहाँ तिनीहरूले आठ वटा टेबिलमा पशुहरूलाई मार्थे ।42 त्‍यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्‌गाहरूले बनेका चार वटा टेबिल थिए । त्‍यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे ।43 दलानको चारैतिर चार-अङ्‌गुल चौडा दुई वटा चुच्‍चा भएका अङ्‌कुसेहरू बाँधिएका थिए, र बलिको मासु टेबिलहरूमाथि राखिन्‍थे ।44 भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिँ उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिँ दक्षिणमा उत्तरतिर फर्केको थियो ।45 तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिँ पूजाहारीहरूका निम्ति हो जो मन्‍दिरमा काम गर्दै रहन्‍छन् ।46 उत्तरतिर फर्केको कोठाचाहिँ वेदीको जिम्मा पाएका पूजाहारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्‍येका हुन् ।47 अनि तिनले चोकको नाप लिए । त्‍यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिँ मन्‍दिरको अगाडि थियो ।48 अनि ती मानिसले मलाई मन्‍दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिँ चौध हात चौडा थियो, र त्‍यसको सबैतिरका भित्ता तीन हात चौडा थिए ।49 दलानको लमाइ बीस हात थियो, र त्‍यसको गहिराइ एघार हात थियो । त्‍यसमा जानलाई खुड्किलाहरू थिए र त्‍यसको दुवैपट्टि खम्बाहरू थिए ।