41
त्‍यसपछि ती मानिसले मलाई मन्‍दिरको पवित्र स्थानमा ल्याए र ढोकाका चौकोसहरू नापे । ती दुवैपट्टि छ हात चौडा थिए ।2 ढोकाको चौडाइ दश हात थियो । हरेक तर्फको भित्ता पाँच हात थियो । तब ती मानिसले पवित्र स्थानको क्षेत्रफल नापे । त्‍यो चालीस हात लामो र बीस हात चौडा थियो ।3 त्‍यसपछि ती मानिस महा-पवित्र स्थानभित्र गए र ढोकाको चौकोसहरू नापे । ती दुई हात थिए, र ढोकाको चौडाइ छ हात थियो । दुवैतिरका भित्ताको चौडाइ सात हात थियो ।4 तब तिनले कोठाको लमाइ बीस हात नापे । मन्‍दिरको सभामन्‍दिरको अगाडिको भागसम्म त्‍यो बीस हात चौडा थियो । अनि तिनले मलाई भने, “यो महा-पवित्र स्थान हो ।5 त्‍यसपछि ती मानिसले मन्‍दिरको भित्ता नापे । त्‍यो छ हात बाक्लो थियो । मन्‍दिर वरिपरि भएका छेउका कोठाहरू चार हात चौडा थिए ।6 छेउका कोठाहरू तीन तहमा थिए, एउटामाथि अर्को कोठा, र दुवैतिर तीस कोठा थिए । छेउका सबै कोठालाई टेवा दिनको निम्ति मन्‍दिर भित्तामाथि पालीहरू थिए, किनभने मन्‍दिरका भित्तामा टेवाको निम्ति केही पनि राखिएको थिएन ।7 ती छेउका कोठाहरू जति माथि-माथि गए ती त्‍यति नै फराकिलो भए, र त्‍यो मन्‍दिर चारैतिर झन्-झन् अग्लो हुँदै गयो र मन्‍दिर जति अग्लो हुँदै गयो कोठाहरू पनि त्‍यति नै फराकिलो हुँदै गए, र तल्लो तहदेखि माथिल्लो तहसम्म एउटा भर्‍याङ थियो ।8 अनि मैले मन्‍दिरको चारैतिर उठेको भाग देखेँ, जुन छेउका कोठाहरूका निम्ति जग थिए । त्‍यो एक लौरो अग्लो अर्थात् छ हात थियो ।9 छेउका कोठाहरूका बाहिरी भागको चौडाइ पाँच हात थियो । पवित्र-स्थानमा यी कोठाहरूको बाहिरपट्टि खुला ठाउँ थियो ।10 यस खुला ठाउँको अर्कोपट्टि पूजाहारीहरूका बाहिरी भागका कोठाहरू थिए । पवित्र-स्थानभरि नै त्‍यसको चौडाइ बीस हात थियो ।11 भित्री कोठाहरूका निम्ति अर्को खुला ठाउँबाट ढोकाहरू थिए । एउटा ढोका उत्तर भागमा थियो र अर्कोचाहिँ दक्षिण भागमा । यो खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो ।12 पश्‍चिमबाट चोक तर्फ फर्केको भवन सत्तरी हात चौडा थियो । त्‍यसको भित्ता सबैतिर पाँच हात बाक्लो थियो, र त्‍यसको लमाइ नब्बे हात थियो ।13 अनि ती मानिसले पवित्र-स्थानको नाप लिए । त्‍यसको लमाइ एक सय हात थियो । बेग्लै रहेको भवनको भित्ता र चोक पनि एक सय हात लामो थियो ।14 पवित्र-स्थानको अगाडिको चोकको अगाडि भागको चौडाइ पनि एक सय हात थियो ।15 अनि ती मानिसले पवित्र-स्थानको पछाडिको पश्‍चिममा रहेको भवन, र दुवैपट्टिको बार्दलीको लमाइ नापे, ती एक सय हात थिए । पवित्र-स्थान र दलान,16 भित्री भित्ताहरू र झ्यालहरू, साना झ्यालहरू, र तीनै तहमा वरिपरि भएका बार्दलीहरू काठले मोहोरिएका थिए ।17 भित्री पवित्र-स्थानको ढोकामाथि र भित्ताहरूमा भएका खाली ठाउँमा एउटा ढाँचा थियो ।18 त्‍यो करूबहरू र खजूरका रूखहरूले सुसज्‍जित थिए । हरेक करूबका बीचमा एउटा खजूरको रूख थियो, र हरेक करूबका दुई अनुहारहरू थिएः19 एकापट्टि मानिसको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो, र अर्कोपट्टि जवान सिंहको अनुहारले खजूरको रूखतिर हेरिरहेको थियो । ती मन्‍दिरको सबैतिर खोपिएका थिए ।20 जमिनदेखि माथि ढोकासम्म, करूबहरू र खजूरका रूखहरू मन्‍दिरको बाहिरी भित्तामा खोपिएका थिए ।21 पवित्र-स्थानका ढोकाको चौकोस वर्गाकार थिए । हेर्दा तिनीहरूको बनावट,22 पवित्र-स्थानको अगाडिको काठको वेदी जस्‍तो थियो, जुन सबैतिर तीन हात अग्लो र दुई हात लामो थियो । त्‍यसको कुनाका चौकोसहरू, आधार, र पाटाहरू काठले बनेका थिए । अनि ती मानिसले मलाई भने, “यो त्‍यो टेबिल हो जुन परमप्रभुको सामु रहन्‍छ ।23 पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुई वटा ढोका थिए ।24 यी ढोकाहरूमा दुई वटा खापा थिए, एउटा ढोकाको निम्ति दुई वटा खापा र अर्कोको निम्ति दुई वटा ।25 पवित्र-स्थानका ढोकाहरूमा खोपिएका करूबहरू र खजूरका रूखहरू भित्ताहरूका जस्‍तै थिए, र अगाडिको भागमा दलानमाथि काठको पाली-छानो थियो ।26 दलानको दुवै भागमा साँघुरा झ्यालहरू र खजूरका रूखहरू थिए । यी मन्‍दिरका छेउका कोठाहरू थिए, र यी कोठाहरूमा पनि पाली-छानोहरू थिए ।