39
“अब, ए मानिसको छोरो, गोगको विरुद्धमा अगमवाणी गर् र यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर्, मेशेक र तूबलको मुखिया गोग, म तेरो विरुद्धमा छु ।2 तँलाई म फर्काउनेछु र तँलाई लानेछु । टाढा उत्तरबाट म तँलाई माथि ल्याउनेछु र तँलाई इस्राएलका पर्वतहरूमा पुर्याउनेछु ।3 तब तेरो देब्रे हातमा भएको धनुलाई म हिर्काउनेछु र तेरो दाहिने हातबाट काँडहरूलाई खसाल्नेछु ।4 तँ र तेरा सबै फौज, अनि तँसँग भएका सिपाहीहरू इस्राएलका पर्वतहरूमा मर्नेछन् । तँलाई म शिकारी चराहरू र जमिनका जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु ।5 यो परमप्रभु परमेश्वरको घोषणा हो, तँ खुला मैदानमा मर्नेछस्, किनकि म आफैँले यो घोषणा गर्छु ।6 तब म मागोग र किनारहरूमा सुरक्षित बसेकाहरूमाथि आगो पठाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।7 किनकि मेरा मानिसहरू, अर्थात् इस्राएलका बीचमा आफ्नो पवित्र नाउँलाई चिनाउनेछु, र मेरो पवित्र नाउँलाई फेरि म अशुद्ध हुन दिनेछैन । जातिहरूले म नै परमप्रभु, इस्राएलमा परम पवित्र हो भनी जान्नेछन् ।8 हेर्, त्यो दिन आउँदैछ, र त्यो हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।9 इस्राएलका सहरहरूमा बस्नेहरू बाहिर जानेछन् र तिनीहरूले आगो सल्काउन र ती बाल्नको निम्ति हतियारहरू अर्थात् साना ढालहरू र ठूला ढालहरू, धनुहरू, काँडहरू, लाठीहरू र भालाहरू प्रयोग गर्नेछन् । तिनीहरूले सात वर्षसम्म यिनैले आगो बाल्नेछन् ।10 तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्न इच्छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।11 त्यसपछि त्यो दिन यस्तो हुनेछ । गोगको निम्ति इस्राएलमा म एउटा चिहान तयार गर्नेछु जुनचाहिँ समुद्रको पूर्वपट्टि यात्रा गर्नेहरूको निम्ति एउटा बेँसी हो । त्यसले त्यहाँबाट भएर जान इच्छा गर्नेहरूको बाटो छेक्नेछ । त्यहाँ तिनीहरूले गोगलाई त्यसका सारा भीडसहित गाड्नेछन् । तिनीहरूले त्यसलाई हामोन-गोगको बेँसी नामाकरण गर्नेछन् ।12 किनकि देशलाई शुद्ध गर्नलाई इस्राएलको घरानाले तिनीहरूलाई सात महिनासम्म गाड्नेछन् ।13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । म महिमित भएको त्यो दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।14 अनि तिनीहरूले मानिसहरूलाई निरन्तर त्यो देशबाट जानको निम्ति नियुक्त गर्नेछन् । तिनीहरूले त्यहाँबाट भएर जानेहरूको खोजी गर्नेछन् । भूमिलाई शुद्ध गर्नलाई तिनीहरूले त्यहाँ मरेका र त्यो देशमा रहेका लाशहरूलाई खोजी गरेर गाड्नेछन् । सातौँ महिनाको अन्त्यमा तिनीहरूले आफ्नो खोजी सुरु गर्नेछन् ।15 यी मानिसहरू ती देशबाट हिँड्दा, जब तिनीहरूले मानिसको हाड देख्छन्, तब चिहान खन्नेहरू आएर त्यसलाई हामोन-गोगको बेँसीमा लगेर नगाडेसम्म त्यहाँ तिनीहरूले एउटा चिन्ह राख्नेछन् ।16 त्यहाँ हामोनाहको नाउँमा एउटा सहर हुनेछ । यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन् ।17 ए मानिसको छोरो, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः पखेटा भएका सबै चराहरू र जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन्, ‘एकसाथ भेला होओ र आओ । मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठूलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ, ताकि तिमीहरूले मासु खान सक र रगत पिउन सक ।18 तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बोकाहरू, र साँढेहरू हुनेछन् ।19 तब तिमीहरू अघाउञ्जेलसम्म बोसो खानेछौ । नमातेसम्म तिमीहरूले रगत पिउनेछौ । तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ ।20 तिमीहरू मेरो टेबिलमा घोडा, रथ, योद्धा र युद्ध गर्ने मानिसहरूद्वारा तृप्त हुनेछौ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’21 जातिहरूका बीचमा म आफ्नो महिमा स्थापित गर्नेछु र सबै जातिहरूले मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्नेछन् ।22 त्यो दिनदेखि इस्राएलको घरानाले म नै परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन् ।23 जातिहरूले यो जान्नेछन्, कि इस्राएलको घरानाले आफ्ना अपराधले मलाई धोका दिएका हुनाले तिनीहरू कैदमा गए । यसैले मैले तिनीहरूबाट आफ्नो मुहारलाई लुकाएँ र तिनीहरूका शत्रुहरूका हातमा तिनीहरूलाई दिएँ, जसले गर्दा तिनीहरू सबै तरवारले मारिए ।24 जब मैले आफ्नो मुहार तिनीहरूबाट लुकाएँ, तब मैले तिनीहरूकै अशुद्धता र पापअनुसार तिनीहरूसँग व्यवहार गरेँ ।25 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः अब म आफ्नो पवित्र नाउँको निम्ति जोशसाथ काम गर्दा म याकूबको सुदिन फर्काउनेछु, र इस्राएलका सारा घरानामाथि दया देखाउनेछु ।26 तब तिनीहरूका लाज र तिनीहरूले मलाई धोका दिएका सबै विद्रोह तिनीहरूले नै भोग्नेछन् । तिनीहरू आफ्नो देशमा सुरक्षित बसेको समयामा यी सबै तिनीहरूले बिर्सिनेछन् । त्यहाँ तिनीहरूलाई त्रसित गर्ने कोही हुनेछैन ।27 जब मानिसहरूबाट म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूका शत्रुहरूका देशहरूबाट म तिनीहरूलाई भेला गराउनेछु, तब धेरै जातिहरूका नजरमा म आफैँलाई पवित्र देखाउनेछु ।28 तब म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्, किनकि मैले नै तिनीहरूलाई जातिहरूका बीचमा कैदमा पठाएँ, तर तिनीहरूलाई म तिनीहरूकै देशमा भेला गराउनेछु । तीमध्ये कसैलाई पनि म जातिहरूका बीचमा छोड्नेछैन ।29 इस्राएलको घरानामा मैले आफ्नो आत्मा खन्याउँदा, म फेरि तिनीहरूबाट आफ्नो मुहार लुकाउनेछैनँ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”