34
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 “ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर गोठालाहरूलाई यसो भन्नुहुन्छः इस्राएलका गोठालाहरूलाई धिक्कार जसले आफ्नै हेरचाह गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र ?3 तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ ।4 रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।5 तब तिनीहरू गोठालाबिना छरपष्ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने ।6 मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वीको सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।7 यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः8 यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, किनभने मेरो बगाल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालाहरूमध्ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् ।9 यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः10 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै हेरचाह पनि गर्नेछैनन् किनभने म मेरो बगाललाई तिनीहरूका मुखबाट खोस्नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् ।11 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, मेरो बगालको खोजी म आफै गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु,12 जसरी गोठालाले आफ्नो छरपष्ट भएको बगालको बीचमा भएको दिनमा उसले आफ्नो बगालको खोजी गर्छ । त्यसरी नै म आफ्नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु ।13 तब तिनीहरूलाई मानिसहरूका बीचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्नै देशमा ल्याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्नेछु ।14 तिनीहरूलाई असल खर्कमा म राख्नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् ।15 मेरो बगालको हेरचाह म आफैले गर्नेछु र तिनीहरूलाई म आफैले बसाल्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो,16 म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु ।17 यसैले, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बीचमा, र भेडा र बोकाको बीचमा म एक जना न्यायकर्ता हुनेछु ।18 के असल खर्कमा चर्नु पर्याप्त छैन र तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ, अनि स्वच्छ पानीबाट पिउनु पर्याप्त छैन र नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ ?19 के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ ?20 यसकारण, परमप्रभु परमेश्वर तिनीहरूलाई यसो भन्नुहुन्छः हेर, मोटा र दुब्ला भेडाहरूका बीचमा म आफैले न्याय गर्नेछु,21 किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सीङले हान्छौ ।22 म आफ्नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बीचमा म न्याय गर्नेछु !23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको रेखदेख गर्नेछ, त्यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बीचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु ।25 त्यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्थानमा सुरक्षित बस्नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्नेछन् ।26 तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्नो आशिष् ल्याउनेछु, किनकि म ठीक ऋतुमा झरी पठाउनेछु । यी आशिष्का झरी हुनेछन् ।27 तब मैदानका रूखहरूले आफ्ना फल उब्जाउनेछन् र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् । जब तिनीहरूका जुवाको काठ म भाँचिदिन्छु र जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई म बचाउँछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।28 तिनीहरू फेरि जातिहरूका निम्ति लूट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन ।29 किनकि प्रशस्त अन्न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन ।30 तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसँग छु भनी जान्नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।31 किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिसहरू हौ, र म तिमीहरूका परमेश्वर हुँ, यो परमप्रभु परमेश्वरको घोषणा हो’ ।”