35
त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 “ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्नो मुख फर्का र त्‍यसको विरुद्धमा अगमवाणी गर् ।3 त्‍यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु ।4 तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिँ उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।5 किनभने तैँले सधैँ इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूको ठूलो दण्डको समयमा तैँले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् ।6 यसकारण, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्‌नेछ । तैँले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपातले तँलाई खेद्‌नेछ ।7 सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्यक्तिलाई जब म हटाउँछु तब म त्‍यसलाई पूरा उजाड बनाउनेछु ।8 मारिएकाहरूले म त्‍यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिँ तेरा अग्ला पहाडहरू र बेँसीहरू र तेरा सबै खोलाहरूमा ढल्नेछन् ।9 तँलाई म सधैँको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही वास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् ।10 तैँले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौँ ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।11 यसकारण यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रीसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्‍याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।12 यसरी म परमप्रभु हुँ भनी तैँले जान्‍नेछस् । तैँले इस्राएलका पर्वतहरूको विरुद्धमा भनेका सबै अपमानहरू मैले सुनेको छु, जब तैँले भनिस्, “तिनीहरू नष्‍ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ ।”13 तैँले जे भनिस् त्‍यसले तैँले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैँले भनेका कुरामा तैँले धेरै बढाइस् । अनि मैले ती सबै सुनेँ ।14 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।15 इस्राएलका मानिसहरूको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्‍दित भइस्, तँलाई म त्‍यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछौ । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्' ।"