33
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 “ए मानिसको छोरा, तेरा मानिसहरूलाई यो घोषणा गर् । तिनीहरूलाई यसो भन्, ‘जब म आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु, तब त्‍यस देशका मानिसहरूले आफूमध्‍ये एक जनालाई लिन्‍छन् र उसलाई आफ्ना रक्षक बनाउँछन् ।3 त्‍यसले देशमा तरवार आउँदा त्‍यसलाई हेर्छ, र मानिसहरूलाई सजग गराउन आफ्नो तुरही फुक्छ !4 मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्‍यान दिँदैनन्, र तरवार आउँछ र तिनीहरूलाई मार्छ भने, ती प्रत्‍येकको रगत आफ्नै शिरमा पर्नेछ ।5 कसैले तुरहीको आवाज सुन्‍छ र ध्‍यान दिँदैन भने, त्‍यसको रगतको जिम्मेवार त्‍यो आफै हुनेछ । तर त्‍यसले ध्‍यान दिन्‍छ भने त्‍यसले आफ्नो ज्‍यान बचाउनेछ ।6 तर त्‍यो रक्षकले तरवार आउँदै गरेको देख्छ, तर त्‍यसले तुरही फुक्दैन, जसको कारणले मानिसहरूलाई सजग पारिँदैन, र तरवार आउँछ र कसैको जीवन लिन्‍छ भने, त्‍यो मानिस आफ्नै पापमा मर्छ, तर त्‍यसको रगतको साटो म त्‍यो रक्षकबाट लिनेछु ।’7 अब, ए मानिसको छोरा, मैले तँलाई नै इस्राएलको घरानाको निम्ति रक्षक बनाएको छु । तैँले मेरो मुखबाट वचन सुन्‍नेछस् र तिनीहरूलाई मेरो तर्फबाट चेतावनी दिनेछस् ।8 मैले दुष्‍ट मानिसलाई भनेँ, ‘ए दुष्‍ट मानिस, तँ निश्‍चय नै मर्नेछस् ।’ तर त्‍यो दुष्‍ट मानिसलाई सजग गराउनलाई त्‍यसको चालको बारेमा तैँले त्‍यसलाई भनिनस् भने, त्‍यो दुष्‍ट मानिस आफ्नो पापमा मर्नेछ, तर त्‍यसको रगतको साटो म तँबाट लिनेछु ।9 तर तैँले त्‍यो दुष्‍ट मानिसलाई उसको दुष्‍ट चालको बारेमा भनिस् ताकि त्‍यसबाट त्‍यो फर्किन सकोस्, र त्‍यो आफ्नो चालबाट फर्केन भने, त्‍यो आफ्नो पापमा मर्नेछ, तर तँ आफूले आफ्नो प्राण बचाउनेछस् ।10 यसैले, ए मानिसको छोरो, इस्राएलको घरानालाई भन्, 'तिमीहरू यसो भन्‍छौ, "हाम्रा अपराधहरू र पापहरू हामीमाथि आएका छन्, र हामी तीनमा सडिरहेका छौँ ! हामी कसरी बाँच्‍न सक्छौँ" ?'11 तिनीहरूलाई भन्, ‘यो परमप्रभु परमेश्‍वरको घोषणा हो, म जिउँदो भएको हुनाले, म दुष्‍टहरूको मृत्‍युमा प्रसन्‍न हुन्‍नँ, किनकि दुष्‍टले आफ्नो चालबाट पश्‍चात्ताप गरी फर्कन्‍छ भने त्‍यो बाँच्‍नेछ ! पश्‍चात्ताप गर् । तेरा दुष्‍ट चालबाट पश्‍चात्ताप गर् । ए इस्राएलको घराना तँ किन मर्ने ?’12 यसैले, ए मानिसको छोरा, तेरा मानिसहरूलाई भन्, ‘धर्मी मानिसले पाप गर्छ भने त्‍यसको धार्मिकताले त्‍यसलाई बचाउनेछैन ! दुष्‍ट मानिसले आफ्नो पापबाट पश्‍चात्ताप गर्छ भने त्‍यसको दुष्‍टताले त्‍यो नष्‍ट हुनेछैन ! किनकि धर्मी मानिसले पाप गर्छ भने त्‍यो आफ्नो धार्मिकताको कारणले बच्‍नेछैन ।13 मैले धर्मीलाई यसो भनेँ, “त्‍यो निश्‍चय नै बाँच्‍नेछ !” र त्‍यसले आफ्नो धार्मिकतामा विश्‍वास गरेर अन्‍याय गर्छ भने, त्‍यसको कुनै पनि धार्मिकतालाई म सम्झना गर्नेछैनँ । त्‍यसले गरेको दुष्‍टताको कारणले त्‍यो मर्नेछ ।14 यसैले मैले दुष्‍टलाई यसो भनेँ, “तँ निश्‍चय नै मर्नेछस्,” तर त्‍यसपछि त्‍यसले आफ्नो पापको पश्‍चात्ताप गर्छ र न्‍यायपूर्ण र ठीक काम गर्छ भने,15 र त्‍यसले ऋणको निम्ति आफूले दुष्‍टतापूर्वक राखेको धितो फिर्ता गर्छ, वा त्‍यसले चोरेको कुरालाई फिर्ता गर्छ, र जीवन दिने विधिहरू पालना गर्छ र फेरि पाप गर्दैन भने, तब त्‍यो निश्‍चय नै जिउनेछ । त्‍यो मर्नेछैन ।16 त्‍यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्‍यसले न्‍यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्‍यो निश्‍चय नै जिउनेछ ।17 तर तेरा मानिसहरू भन्‍छन्, “परमप्रभुको चाल न्‍यायपूर्ण छैन !” तर तिमीहरूका चाल पो न्‍यायपूर्ण छैनन् !18 जब कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट तर्केर पाप गर्छ, तब त्‍यो त्‍यही पापमा मर्नेछ !19 जब कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्केर न्‍यायपूर्ण र धर्मी काम गर्छ भने, यी कुराहरूका कारणले त्‍यो जिउनेछ !20 तर तिमीहरू भन्‍छौ, “परमप्रभुको चाल न्‍यायपूर्ण छैन !” ए इस्राएलको घराना, म तिमीहरूको चालअनुसार नै हरेकको न्‍याय गर्नेछु !’21 हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा, यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो र भन्‍यो, “त्‍यो सहरलाई कब्जा गरिएको छ !22 त्‍यो भगुवा आउन भन्‍दा अगिल्लो साँझमा परमप्रभुको हात ममाथि थियो, र बिहानीको झिसमिसेमा त्‍यो मकहाँ आउँदासम्म मेरो मुख खोलिएको थियो । यसैले मेरो मुख खोलियो । म फेरि चुप भइनँ !23 त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,24 “ए मानिसको छोरो, इस्राएलको भूमिमा भग्‍नावशेषमा बसोबास गर्नेहरू यसो भन्‍दै छन्, ‘अब्राहाम मात्र एक जना मानिस थिए, र उनले यो देश अधिकार गरे, तर हामीहरू धेरै जना छौँ ! यो देश हामीलाई सम्पत्तिको रूपमा दिइएको छ ।’25 यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरू रगत खान्‍छौ, र तिमीहरू आफ्ना मूर्तिहरूतिर आफ्ना आँखा उठाउँछौ, अनि तिमीहरू मानिसहरूका रगत बगाउँछौ । के तिमीहरूले यस देशमाथि अधिकार गर्ने ?26 तिमीहरू आफ्ना तरवारहरूमा भर परेका छौ र घिनलाग्दा कुरा गरेका छौ । हरेक मानिसले आफ्नो छिमेकीकी पत्‍नीलाई अशुद्ध पार्छ । के साँच्‍चै तिमीहरूले यस देशमाथि अधिकार गर्ने ?’27 तैँले तिनीहरूलाई यस्तो भन्‍नू, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो म जीवित छु, भग्‍नावशेषमा जिउनेहरू तरवारद्वारा मारिनेछन्, र मैदानमा भएकाहरूलाई म जीवित पशुहरूकहाँ आहाराको रूपमा दिनेछु, र किल्लाहरू र गुफाहरूमा भएकाहरू महामारीले मर्नेछन् ।28 तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्‍यसको शक्तिको घमण्डको अन्‍त्‍य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्‍यागिनेछन्, र त्‍यहाँबाट भएर कोही पनि जानेछैन ।’29 यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्‍ने जान्‍नेछन् ।30 यसैले, ए मानिसको छोरा, मन्‍दिरहरूका पर्खालहरू र ढोकाहरूका छेउमा तेरा मानिसहरू तेरो बारेमा कुरा गरिरहेका छन्, र हरेकले अर्को मानिस, र हरेक मानिसले आफ्नो भाइलाई यस्तो भन्‍छ, ‘जाऔँ र परमप्रभुको मुखबाट निस्कने अगमवक्ताको वचन सुनौँ !’31 यसैले मानिसहरूले सधैँ गरेझैँ धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्‍नेछन् र तेरा वचनहरू सुन्‍नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठीक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्‍यायपूर्ण फाइदाको पछि छन् ।32 किनकि तिनीहरूका निम्ति तँ मनपर्ने गीत, र बाजामा बजाइएको एउटा सुन्‍दर धुनझैँ छस्, यसैले तिनीहरूले तेरा वचन सुन्‍नेछन्, तर तिनीहरू कसैले पनि ती पालना गर्नेछैनन् ।33 यसैकारण यी सबै कुरा हुँदा – हेर, त्‍यो हुन आउनेछ – तब तिनीहरूका बीचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्‍नेछन् ।”