32
बाह्रौँ वर्षको बाह्रौँ महिनाको पहिलो दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 “मानिसको छोरा, मिश्र देशको राजा फारोको सम्बन्धमा विलाप गर् । त्‍यसलाई यसो भन्, 'तँ जातिहरूका बीचमा जवान सिंहझैँ छस्, तर समुद्रमा तँ विशाल पशुझैँ छस् । तैँले पानीलाई मन्‍थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् ।'3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिँजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् ।4 तँलाई म देशमा त्‍याग्‍नेछु । म तँलाई मैदानमा फाल्नेछु र आकाशका सबै चरालाई तँमाथि बस्‍न लगाउनेछु । पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ ।5 किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो कीरा परेको लाशहरूले बेँसीहरूलाई भर्नेछु ।6 तब पर्वतहरूमाथि म तेरो रगत खन्‍याउनेछु, र खोँचहरू तेरो रगतले भरिनेछ ।7 त्‍यसपछि जब तँलाई म नष्‍ट गर्नेछु, तब म आकाश ढाक्‍नेछु र त्‍यसका ताराहरूलाई अँध्‍यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्‍द्रमाले आफ्नो प्रकाश दिनेछैन ।8 आकाशमा भएका सबै चम्कने ज्‍योतिलाई म तँमाथि अँध्‍यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।9 यसरी जातिहरूका बीचमा, तैँले नजानेका देशहरूका बीचमा जब म तेरो सर्वनाश ल्याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसहरूका हृदयलाई म भयभीत पार्नेछु ।10 तेरो विषयमा म धेरै जना मानिसहरूलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्‍येक व्यक्ति हर घडी काँप्‍नेछ ।11 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।12 तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्नेछु । हरेक योद्धा जातिहरूका बीचमा आतङ्‌क बन्‍नेछ । यी योद्धाहरूले मिश्र देशको घमण्डलाई तोड्नेछन् र त्‍यसका सबै भीडलाई सर्वनाश गर्नेछन् ।13 किनकि प्रशस्त पानीको छेउमा भएका सारा पशुलाई म सर्वनाश गर्नेछु । मानिसको खुट्टाले अबदेखि कहिल्यै पानीलाई हल्लाउनेछैन, न त पशुहरूका खुरले त्‍यो हल्लाउनेछ ।14 तब म तिनीहरूका पानीलाई शान्‍त पार्नेछु र तिनीहरूका नदीलाई तेलझैँ बगाउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।15 जब म मिश्र देशलाई त्‍यागिएको ठाउँ बनाउनेछु, जब त्‍यो देश आफ्नो प्रशस्तताबाट उजाड बनाइनेछ, जब म त्‍यसका सारा बासिन्‍दाहरूलाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।16 त्‍यहाँ विलाप हुनेछ । जातिका छोरीहरूले त्‍यसमाथि विलाप गर्नेछन् । मिश्र देश र त्‍यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’17 अनि बाह्रौँ वर्षमा, महिनाको पन्ध्रौँ दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,18 “ए मानिसको छोरा, मिश्र देशको भीडको निम्ति रो, र त्‍यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा ।19 ‘के तँ अरू कुनै व्यक्ति भन्‍दा धेरै सुन्‍दर छस् र ? तल जा र खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस् ।’20 तरवारद्वारा मारिएकाहरूका बीचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ ! त्‍यो तरवारलाई दिइएको छ । तिनीहरूले त्‍यसलाई र त्‍यसका भीडलाई कब्जा गर्नेछन् ।21 चिहानमा भएको सबै भन्‍दा शक्तिशाली योद्धाले मिश्र देश र त्‍यसका मित्र राष्‍ट्रहरूका बारेमा यो घोषणा गर्नेछन्, ‘तिनीहरू यहाँ तल आएका छन् ! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् ।’22 अश्शूर देश आफ्ना सारा मानिसहरूसँगै त्‍यहाँ छ । त्‍यसको चिहानले त्‍यसलाई घेर्दछ । तिनीहरू सबै जना तरवारले मारिएका थिए ।23 त्‍यो खाडलका भित्तामा चिहान भएकाहरू त्‍यसका सबै मानिसहरूसँगै त्‍यहाँ छन् । जीवितहरूका देशमा आतङ्‌क ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्‍यसको चिहानले घेर्दछ ।24 एलाम आफ्नो सबै भीडसँगै त्‍यहाँ छ । त्‍यसको चिहानले त्‍यसलाई घेर्दछ । ती सबै जना मारिएका थिए । तरवारले मारिएकाहरू, पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू, जीवितहरूको देशमा आतङ्‌क ल्याएकाहरू, र आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्‍छन् ।25 मारिएकाहरूका बीचमा तिनीहरूले एलाम र त्‍यसका सबै भीडका निम्ति एउटा विश्राम-स्थल तयार गरे । त्‍यसको चिहानले त्‍यसलाई घेर्छ । तिनीहरू सबै खतना नभएका, तरवारद्वारा घोचिएका हुन्, किनभने तिनीहरूले जीवितहरूका देशमा आतङ्‌क ल्याएका थिए । यसैले मारिएकाहरूका बीचमा तल खाडलमा जानेहरूसँगै तिनीहरूले आफ्नो लाज आफै बोक्छन् । एलाम मारिएकाहरूका बीचमा छ ।26 मेशेक, तूबल, र तिनीहरूका सारा भीड त्‍यहाँ छन् ! तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ । तिनीहरू सबै जना खतना नभएका र तरवारले मारिएकाहरू हुन्, किनभने तिनीहरूले जीवितहरूको देशमा आतङ्‌क ल्याएका थिए ।27 युद्धका आफ्ना सारा हतियारहरू, र आफ्ना शिरमुनि राखेका तरवारहरू, र आफ्ना हड्‌डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् । किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतङ्‌क थिए ।28 यसैकारण तँ, मिश्र देश, खतना नभएकाहरूका बीचमा टुक्रिनेछस् ! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस् ।29 एदोम आफ्ना राजाहरू र आफ्ना सबै अगुवाहरूसँगै त्‍यहाँ छ । तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको छ । खतना नभएकाहरू, तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्‍छन् ।30 उत्तरका शासकहरू सबै जना र छेडिएकाहरूसँगै तल गएका सबै सिदोनीहरू त्‍यहाँ छन् । तिनीहरू शक्तिशाली थिए र अरूलाई भयभीत पारे, तर अब खतना नभएकै अवस्थामा तरवारद्वारा छेडिएकाहरूसँगै तिनीहरू त्‍यहाँ लाजमा परेका छन् । तल खाडलमा जानेहरूसँगै तिनीहरू आफ्नो लाज आफै बोक्छन् ।31 फारोले हेर्नेछ, अनि त्‍यो र त्‍यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्‍त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।32 जीवितहरूका देशमा मैले त्‍यसलाई आतङ्‌क फैलाउनलाई राखेँ, तर त्‍यो र त्‍यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बीचमा ढल्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”