31
एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 “ए मानिसको छोरा, मिश्र देशको राजा फारो, र त्यसको वरिपरि भएका धेरै भीडलाई यसो भन्, ‘तेरो महान्तामा, तँ को जस्तो छस् ?3 हेर् ! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबै भन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।4 धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए ।5 मैदानका अरू सबै रूख भन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए ।6 आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शीतल छहारीमा जमिनका सारा प्राणीहरूले बच्चा जन्माए । धेरै जातिहरूबाटका सबैले त्यसको छायामुनि वास गरे ।7 त्यसको महान्तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए ।8 परमेश्वरका बगैँचाका देवदारुहरू पनि त्यो बराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैँ थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिँदैनथ्यो । परमेश्वरको बगैँचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन ।9 मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्वरको बगैँचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे ।10 यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बीचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।11 त्यसको दुष्टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बीचमा एउटा शक्तिशाली व्यक्तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।12 सारा जातिहरूका बीचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए । पहाडहरू र सबै बेँसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठूला-ठूला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे । तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए ।13 आकाशका सबै चरा त्यो ढलेको रूखको मुढोमाथि बसे, र जमिनका सबै पशु त्यसका हाँगाहरू भएको ठाउँमा आए ।14 प्रशस्त पानीको छेउको त्यो अग्लो रूख भन्दा धेरै उचाइमा अरू कुनै रूखहरू नहोऊन्, र त्यो उचाइसम्म पुग्नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीहरूमध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।15 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः त्यो देवदारु चिहानमा गएको दिन, मैले पृथ्वीमा शोक ल्याएँ । मैले त्यसमाथि गहिरो पानीले ढाकेँ, र मैले समुद्रको पानी थुनेँ । मैले विशाल पानीलाई रोकेँ, र त्यसको कारण लेबनानमाथि मैले शोक ल्याएँ । यसैले त्यसको कारणले मैदानका सबै रूखले विलाप गरे ।16 मैले त्यसलाई खाडलमा जानेहरूसँगै चिहानमा फ्याँकेपछि, त्यसको पतनको आवाजद्वारा मैले जातिहरूमा डर ल्याएँ । यसैले मैले पृथ्वीका तल्लो भागहरूमा अदनका सबै रूखलाई सान्त्वना दिएँ । यी लेबनानका चुनिएका र उत्कृष्ट रूखहरू थिए । ती प्रशस्त पानी पिएका रूखहरू थिए ।17 किनकि तिनीहरू त्यससँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए । यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए ।18 अदनको कुन चाहिँ रूख महिमा र महान्तामा तेरो बराबर थियो र ? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बीचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्वरको घोषणा गर्नुहुन्छ ।”