30
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो, यो अगमवाणी गर् र यसो भन्ः 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः विलाप गर्, "आउने दिनको निम्ति हाय।3 त्यो दिन नजिकै छ । परमप्रभुको निम्ति त्यो दिन नजिकै छ । जातिहरूका निम्ति त्यो बादल लागेको, अन्त्यको दिन हुनेछ ।4 तब मिश्र देशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्नेछन् तब कूश देशमा पनि सङ्कष्ट आइपर्नेछ - जति बेला तिनीहरूले त्यसका धन-सम्पत्तिहरू लानेछन्, र जब त्यसका जगहरू भत्काइनेछन् ।5 कूश र पूत, लूद र सारा अरब देश,र लिबिया, करार गरिएका मानिसहरूसँगै तरवारले ढालिनेछन् ।6 परमप्रभु यसो भन्नुहुन्छः मिश्र देशलाई सहयोग गर्नेहरूचाहिँ पतन हुनेछन्, र त्यसको बलको घमण्ड तल जानेछ । मिग्दोलदेखि आश्वानसम्मै तिनीहरूका फौज तरवारले ढालिनेछन् - यो परमप्रभु परमेश्वरको घोषणा हो ।7 उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बीचमा हुनेछन् ।8 जब म मिश्र देशमा आगो लगाउनेछु, र जब त्यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।9 त्यो दिन सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु र मिश्र देशको अन्त्यको दिनमा तिनीहरूलाई वेदना हुनेछ । किनभने हेर्, त्यो आउँदै छ ।10 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः "'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्र देशका भीडहरूलाई अन्त्य गरिदिनेछु ।11 त्यो र त्यससँग भएको त्यसको सेना, जातिहरूका त्रासलाई, यो देश नाश गर्नलाई ल्याइनेछन् । तिनीहरूले मिश्र देशको विरुद्धमा आफ्ना तरवार थुत्नेछन्, र मारिएकाहरूका सङ्ख्याले यो देशलाई भर्नेछन् ।12 नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्ट मानिसहरूका हातमा बेचिदिनेछु । त्यो देश र त्यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु - म परमप्रभुले यो भनेको हुँ ।13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्यर्थका मूर्तिहरूको अन्त्य गर्नेछु । मिश्र देशमा फेरि कहिल्यै शासक हुनेछैन, र यसरी म मिश्र देशमा डर हालिदिनेछु ।14 तब म फारोलाई निर्जन पारिदिनेछु र सोअनमा आगो लगाउनेछु, र थेबसमा म न्यायको फैसला गर्नेछु ।15 किनकि मिश्र देशको किल्ला, पेलुसियममाथि मेरो क्रोध खन्याउनेछु, र थेबसको सहरका धेरै भीडलाई नष्ट गर्नेछु ।16 तब म मिश्र देशमा आगो लगाउनेछु, र पेलुसियम ठूलो पीडामा पर्नेछ, थेबसलाई भत्काइनेछ, र मेम्फिसले हरेक दिन शत्रुहरूको सामना गर्नेछ ।17 हेलीओपोलिस र बुबास्तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका सहरहरू कैदमा जानेछन् ।18 तहपनेसमा जब म मिश्र देशको जुवा भाँचिदिनेछु, तब त्यो दिनले आफ्नो उज्यालो दिनेछैन, र त्यसको बलको घमण्ड सकिनेछ । त्यसलाई एउटा बादलले ढाक्नेछ, र त्यसका छोरीहरू कैदमा जानेछन् ।19 म मिश्र देशलाई दण्डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।20 एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,21 "ए मानिसको छोरा, मैले मिश्र देशको राजा फारोको हात भाँचेको छु । हेर्, त्यसलाई बाँधिएको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्यो बलियो होस् ।22 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, म मिश्र देशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुवै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।23 तब मिश्रीलाई जातिहरूका बीचमा म छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु ।24 म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्न सकूँ । त्योचाहिँ बेबिलोनको राजाको अगि मरणान्त चोट लागेको मानिसझैँ पीडाले सुस्केरा हाल्नेछ ।25 किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्यसले मिश्र देशको विरुद्धमा त्यसद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।26 यसरी मिश्रीलाई जातिहरूका बीचमा म छरपष्ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।"