25
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो, अम्मोनका मानिसहरूतिर आफ्नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन् ।3 अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वरको वचन सुन । परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो पवित्रस्थान तुच्छ पारिँदा त्यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, "आहा !" भन्यौ,4 यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्पत्तिझैँ सुम्पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्नेछन्, र तिमीहरूकै बीचमा आफ्ना पालहरू खडा गर्नेछन् । उनीहरूले तिमीहरूका फल खानेछन् र तिमीहरूको दूध पिउनेछन् ।5 म रब्बालाई ऊँटहरू चर्ने खर्क र अम्मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ ।6 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्ना ताली बजाएका छौ र आफ्ना खुट्टा बजारेका छौ र आनन्दित बनेका छौ ।7 यसकारण, हेर, म आफ्ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैँ दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बीचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ' ।8 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, "हेर, यहूदाको घरानाचाहिँ अरू हरेक जाति जस्तै छ ।9 यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर - बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव - मोआबको भिरालो भागलाई म खुलस्त पार्नेछु -10 अम्मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई । म तिनीहरूलाई सम्पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बीचमा अम्मोनका मानिसहरूको सम्झना गरिनेछैन ।11 यसैले मोआबको विरुद्धमा न्याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।12 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्यसो गरेर त्यसले गलत गर्यो ।13 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्मै म त्यसलाई भग्नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्नेछन् ।14 मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रीस र मेरो क्रोधअनुसार एदोममाथि व्यवहार गर्नेछन्, र तिनीहरूले मेरो बदला कस्तो रहेछ भनी जान्नेछन् - यो परमप्रभु परमेश्वरको घोषणा हो' ।15 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'पलिश्तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे ।16 यसैले परमप्रभु परमेश्वर भन्नुहुन्छः हेर्, पलिश्तीहरूका विरुद्धमा आफ्नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु ।17 किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्ड दिँदै म ठूलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिँदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।"