24
नवौँ वर्षको दशौँ महिना र महिनाको दशौँ दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो, आफ्नो निम्ति आजको दिन, आजकै मिति लेख्, किनकि आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ ।3 यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्‍टान्‍त तिनीहरूलाई भन् । तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पकाउने भाँडो राख् । त्‍यसलाई राख्, र त्‍यसमा पानी हाल् ।4 त्‍यसभित्र भएका खानेकुरा, हरेक असल टुक्रा - तिघ्रा र ह्याकुलो जम्मा गर र त्‍यसलाई असल हाडहरूले भर् ।5 बगालको सब भन्‍दा असल पशु छान्, त्‍यसमुनि हाडको थुप्रो लगा । त्‍यसलाई उमाल्ने ठाउँमा ल्या र त्‍यसमा हाडहरू पका ।6 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो रगतको सहरलाई धिक्कार ! त्‍यो खिया लागेको भाँडालाई र त्‍यसबाट त्‍यो खिया जानेछैन ! त्‍यसमा भएका टुक्राबाट नछानिकन एक-एक गर्दै निकाल् ।7 किनकि त्‍यसको रगत त्‍यसकै बीचमा छ । त्‍यसले त्‍यो रगत चिल्लो चट्टानमा बगाई । धूलोले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाइन,8 यसैले त्‍यसले साटो लिने क्रोध ल्याउँछ । त्‍यसको रगत ढाक्‍न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्‍यो पोखाइन ।9 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः त्‍यस रगतको सहरलाई धिक्कार । म दाउराको थुप्रोलाई पनि बढाउनेछु ।10 दाउरा थुपार् र आगो सल्का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डढ्न दे ।11 त्‍यसपछि त्‍यसलाई तताउन र तामालाई तताएर आगो जस्‍तै बनाउन भाँडो खाली गरेर भुङ्‌ग्रोमाथि राख्, ताकि त्‍यसभित्र भएको अशुद्धता पग्लोस्, र त्‍यसको थेग्रो डढेर जाओस् ।’12 परिश्रमको कारणले त्‍यो थकित भएकी छे, तर त्‍यसको बाक्लो थेग्रो आगोले पनि गएन ।13 तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरेँ, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्म म आफ्नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्‍तुष्‍ट हुन्‍नँ, तबसम्म तँ फेरि शुद्ध हुनेछैनस् ।14 म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन् - यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।15 त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः16 "ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्‍छालाई म विपत्तिबाट हटाउँदैछु, तर तैँले शोक गर्नु हुँदैन न त रुनु हुन्‍छ, र तेरा आँखाबाट आँसु झार्नुहुँदैन ।17 तैँले चूपचाप सुस्केरा हाल्नुपर्छ । मृतकको अन्‍त्‍येष्‍टि नगर् । आफ्ना फेटा आफ्नो टाउकोमा बाँध र आफ्ना जुत्ता आफ्ना खुट्टामा लगा, तर आफ्नो मुखका रौँ नढाक् वा आफ्ना पत्‍नीको मृत्‍युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।18 यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनेँ, र त्‍यही बेलुकी मेरी पत्‍नीको मृत्‍यु भयो । भोलिपल्ट बिहान मलाई जे गर्ने आज्ञा दिइएको थियो, मैले त्‍यही गरेँ ।19 मानिसहरूले मलाई सोधे, "यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्‍नुहुन्‍न ?20 यसैले मैले तिनीहरूलाई भनेँ, "परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,21 ‘इस्राएलको घरानालाई यसो भन्ः परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म आफ्नो पवित्रस्थान - तिमीहरूका शक्तिको गर्व, तिमीहरूका आँखाको खुसी, र तिमीहरूका प्राणको इच्‍छालाई अपवित्र तुल्याउनेछु, र तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरीहरू तरवारले मारिनेछन् ।22 तब मैले गरेझैँ तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्नो अनुहारका रौँ छोप्‍नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।23 त्‍यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्केरा हाल्नेछ ।24 यसरी इजकिएलचाहिँ तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ । उसले जे गरेको छ ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ । तब म नै परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।25 "तर ए मानिसको छोरो, तिनीहरूका आनन्‍द, गर्व, तिनीहरूले हेर्ने र इच्‍छा गर्ने तिनीहरूका मन्‍दिरलाई मैले कब्जा गरेको दिनमा - र मैले तिनीहरूका छोराछोरी लिएर जाँदा -26 त्‍यस दिनमा तँलाई समाचार दिनलाई एक जना शरणार्थी तँकहाँ आउनेछ ।27 त्‍यो दिनमा त्‍यो शरणार्थीसँग तैँले मुख खोल्नेछस् र तँ बोल्नेछस् - तँ फेरि चूपचाप रहनेछैनस् । तँ तिनीहरूका निम्ति एउटा चिन्ह हुनेछस्, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् ।"