23
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,2 "ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्‍यहाँ थिए ।3 आफ्नो जवानी दिनमा तिनीहरूले मिश्र देशमा वेश्यावृति गरे । तिनीहरूले त्‍यहाँ वेश्याको काम गरे । त्‍यहाँ तिनीहरूका स्तन मिचिए र तिनीहरूको कुमारी अवस्थाको मुन्टाहरू खेलाइए ।4 तिनीहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरीहरू जन्‍माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो ।5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्यावृत्ति गरी । आफ्ना प्रेमी, प्रभावशाली अश्शूरीहरूसित त्‍यो मोहित भई,6 नीलो वस्‍त्र लाउने बडाहाकिम र तिनका अधिकारीहरू, जो बलिया र सुन्‍दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए ।7 यसरी तिनीहरू, सबै असल अश्शूरी मानिसहरूलाई त्‍यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्यक्तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्‍यसले आफैलाई अशुद्ध पारी ।8 किनकि त्‍यसले मिश्र देशमा हुँदा पनि त्‍यसको वेश्यावृत्तिको व्यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍यससित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्ट त्‍यसका कुमारी अवस्‍थाका स्तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्ना यौनका छाडा व्यवहार गर्न सुरु गरेका थिए ।9 यसकारण त्‍यसका प्रेमीहरूका हातमा अर्थात् अश्शूरीहरूका हातमा मैले त्‍यसलाई सुम्पिदिएँ, जससँग त्‍यो मोहित भई ।10 तिनीहरूले त्‍यसलाई नाङ्‌गो पारे, त्‍यसका छोराछोरीहरूलाई लगे, त्‍यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्‍यो कुख्यात भई । यसरी तिनीहरूले त्‍यसलाई दण्ड दिए ।11 त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी, तर त्‍यो झन् बढी कामुक भई र आफ्नी दिदी भन्‍दा पनि बढी वेश्यावृत्तिको काम गर्न लागी ।12 अश्शूरीहरू, तिनका बडाहाकिमहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्‍यो कामुक भई, जो घोडा चढ्ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्‍दर मानिसहरू थिए ।13 त्‍यसले आफैलाई अशुद्ध पारेकी मैले देखेँ । ती दुवै जना दिदीबहिनी उस्तै थिए ।14 त्‍यसपछि त्‍यसले आफ्नो वेश्यावृत्ति झन् बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्‌गले बनाइएका कल्दीहरूका चित्रहरू त्‍यसले देखी,15 आफ्ना कम्मर वरिपरि पटुका बाँधेका र आफ्ना शिरमा लट्कने फेटा बाँधेका । ती सबै जना कल्दी फौजका रथी अधिकारीहरू जस्ता, बेबिलोनियाका छोराहरू जस्‍तै देखिन्‍थे, जसको आफ्नो देश कल्दीया हो ।16 त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्ति त्‍यो कामुक भई । यसैले कल्दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई ।17 त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्‍छ्यानमा आए र आफ्ना छाडा कामवासनाले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।18 जब त्‍यसले आफ्ना वेश्यावृत्तिका कामहरू गरी र आफ्नो नग्‍नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग म टाढा भएको थिएँ, त्‍यसरी नै म त्‍यससँग पनि टाढा भएँ ।19 तब मिश्र देशमा त्‍यो वेश्या हुँदाको, आफ्ना युवावस्थाका समयलाई सम्झेर त्‍यसले आफ्नो वेश्यावृत्ति झन् बढाई ।20 यसरी त्‍यो आफ्ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्‌गहरू गधाहरूका जस्ता थिए, अनि जसका वीर्य घोडाहरूका झैँ निस्कन्‍थ्यो ।21 मिश्रीहरूले तेरा स्तनका मुन्टाहरू खेलाउँदा र तेरा जवानीका स्तनहरू मिच्दा, तैँले आफ्ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस् ।22 यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्याउनेछुः23 बेबिलोनीहरू र सबै कल्दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्शूरहरू, बलिया, सुन्‍दर मानिसहरू, बडाहाकिमहरू, सेनापतिहरू, ती सबै जना अधिकारीहरू र इज्‍जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।24 उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठूलो भीडलाई साथमा लिएर आउनेछन् । ठूला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्नेछन् । तँलाई दण्ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्ना कामहरूले तँलाई दण्ड दिनेछन् ।25 मेरो डाहको रीस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्यवहार गर्नेछन् । उनीहरूले तेरा नाक र कान काट्नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्नेछन् । उनीहरूले तेरा छोराछोरीहरूलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्म पार्नेछ ।26 उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्‌गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन् ।27 यसरी तेरा लाजमर्दो व्यवहार र मिश्र देशदेखि तैँले सुरु गरेका तेरा वेश्यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैँले यी कुराहरूतिर आफ्ना कुदृष्‍टि लगाउनेछैनस्, र मिश्र देशको सम्झना फेरि तैँले गर्नेछैनस् ।'28 किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् ।29 उनीहरूले तँसित घृणापूर्वक व्यवहार गर्नेछन् । तेरा सबै धन-सम्पत्ति उनीहरूले लानेछन्, र तँलाई नाङ्‌गो र उजाड पारेर छोड्नेछन् । अनि तँ कामुक र वेश्यावृत्तिमा संलग्‍न हुँदा भएझैँ तँलाई नाङ्‌गो पारिनेछ ।30 वेश्याले झैँ तैँले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछन् ।31 तँ आफ्नी दिदीकै चालमा हिँडेकी छेस्, यसैले त्‍यसको दण्डको कचौरा म तेरो हातमा दिनेछु ।'32 परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तैँले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठूलो र गहिरो छ । तँ गिल्लाको पात्र र हाँसोको विषय हुनेछेस् - यो कचौरामा धेरै अट्छ ।33 मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस् । तेरी दिदी सामरियाको कचौरा ।34 तैँले त्‍यो पिउनेछेस् र त्‍यसलाई रित्तो पार्नेछेस् । त्‍यसपछि तैँले त्‍यो कचौरा टुक्राटुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्ना स्तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ - यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।'35 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैँले मलाई बिर्सेको छस् र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्नो लज्‍जास्पद व्यवहार र यौनको अनैतिक कामहरूका दुष्परिणामहरू तैँले सहनुपर्नेछ' ।36 परमप्रभुले मलाई भन्‍नुभयो, "ए मानिसको छोरो, के तैँले ओहोला र ओहोलिबाको न्‍याय गर्नेछस् ? त्‍यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर,37 किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्ना मूर्तिहरूसित व्यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्ना छोराहरूलाई आगोबाट हिँड्न पनि लगाएका छन् ।38 त्‍यसपछि तिनीहरूले अहिले निरन्‍तर मलाई यसो गर्छन्ः तिनीहरूले मेरो पवित्रस्थानलाई अशुद्ध पार्छन्, र त्‍यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् ।39 किनभने तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आफ्ना मूर्तिहरूका निम्ति बलि चढाएका छन्, अनि त्‍यसै दिन तिनीहरू मेरो पवित्रस्थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्‍दिरको बीचमा यसो गरेका छन् ।40 अब हेर - दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैँले बोलाइस् । तिनीहरू साँच्‍चै आए जसका निम्ति तैँले नुहाइस्, आँखामा गाजल लगाइस् र आफूलाई गहनाले सिँगारिस् ।41 त्‍यहाँ तँ एउटा सुन्‍दर पलङ्‌गमा बसिस्, र त्‍यसको अगाडि सजाइएको टेबिलमा मेरो धूप र मेरो तेल राखिस् ।42 यसैले हल्ला गर्ने भीड त्‍यसको वरिपरि थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्ना हातमा चुराहरू लगाए र शिरमा सुन्‍दर मुकुटहरू लगाए ।43 तब व्‍यभिचारले दिक्क भएकी स्‍त्रीको विषयमा मैले यसो भनेँ, 'अब उनीहरूले त्‍यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्‍यसले उनीहरूसँग गर्नेछे ।’44 जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्‍छन् त्‍यसरी उनीहरू त्‍यसकहाँ गए र त्‍यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्‍त्रीहरू, ओहोला र ओहोलिबासित सुते ।45 तर धार्मिक मानिसहरूले न्‍याय गर्नेछन् र व्यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्ड दिनेछन् अनि हत्‍या गर्नेहरूलाई सुनाउने दण्डले तिनीहरूले उनीहरूलाई दण्ड दिनेछन्, किनभने तिनीहरू व्यभिचारिणीहरू हुन् र तिनीहरूका हातमा हत्‍याको रगत छ ।46 यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्पिदिनेछु ।47 तब त्‍यो भीडले तिनीहरूलाई ढुङ्‌गाले हान्‍नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खतम पार्नेछन् । तिनीहरूका छोराछोरीहरूलाई उनीहरूले मार्नेछन् र तिनीहरूका घरहरू जलाउनेछन् ।48 किनकि देशबाट लज्‍जास्पद व्यवहारलाई म खतम गर्नेछु, र सबै स्‍त्रीहरूलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्‍तो काम नगरून् ।49 यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैँले आफ्ना मूर्तिहरूसित गरेका पापको दोष तैँले भोग्‍नेछेस्, र यसरी म नै परमप्रभु परमेश्‍वर हुँ भनी तैँले जान्‍नेछेस् ।"