22
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः2 "अब ए मानिसको छोरो, के तँ न्‍याय गर्छस् ? के तँ त्‍यो रगतको सहरको न्‍याय गर्छस् ? त्‍यसका सबै घृणित कुराहरू त्‍यसलाई जानकारी दे ।3 तैँले यसो भन्‍नुपर्छ, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै अन्‍त्‍यको समय आओस् भनेर आफ्नो बीचमा रगत बगाउने सहर यही हो । आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने सहर यही हो ।4 तैँले बगाएको रगतको कारणले तँ दोषी भएको छस्, र तैँले बनाएका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको छस् । तैँले आफ्ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य आएको छ । यसैकारण म तँलाई जातिहरूका बीचमा गिल्ला र सबै देशमा हाँसोको पात्र बनाउनेछु ।5 तेरो नजिक हुनेहरू र टाढा हुनेहरू दुवैले तेरो गिल्ला गर्नेछन् - तँ अपवित्र सहर - अलमल पार्ने कुराहरूले भरिएको सहरको रूपमा चिनिएको छस् ।6 हेर्, इस्राएलका शासकहरू, रगत बगाउन हरेक व्यक्ति आफ्नै शक्तिले तँकहाँ आएका छन् ।7 तँभित्रै तिनीहरूले बाबुहरू र आमाहरूसँग अपमानको व्यवहार गरेका छन्, र तिनीहरूले तेरो बीचमा भएका विदेशीहरूमाथि अत्‍याचार गरेका छन् । तेरो बीचमा भएका टुहुरा-टुहुरी र विधवाहरूलाई तिनीहरूले दुर्व्यवहार गरेका छन् ।8 मेरा पवित्र कुराहरूलाई तैँले घृणा गरेको छस् र मेरा शबाथहरूलाई अपवित्र पारेको छस् ।9 रगत बगाउनलाई हत्‍या गर्ने मानिसहरू तँभित्र आएका छन्, र तिनीहरूले डाँडाहरूमा खान्‍छन् । तिनीहरूले तेरो बीचमा दुष्‍ट काम गर्छन् ।10 तेरो भित्र भएका मानिसहरूले आफ्ना पिताको नग्‍नता प्रकट गर्छन् । तेरो भित्र भएका मानिसहरू रजस्वला भएकी स्‍त्रीसँग सम्भोग गरेर अशुद्ध भएका छन् ।11 आफ्नो छिमेकीकी पत्‍नीसँग घिनलाग्दा काम गर्ने मानिसहरू, र आफ्नी बुहारीहरूलाई लाज हुने किसिमले अशुद्ध पार्ने मानिसहरू, आफ्नै बहिनीहरू - आफ्ना बुबाकी छोरीहरूलाई बिगार्ने मानिसहरू - यी सबै जना तँभित्रै छन् ।12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन् र तैँले बढी ब्याज लिएको छस् र धेरै मुनाफा कमाएको छस् , र थिचोमिचो गरेर तैँले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैँले मलाई बिर्सेको छस् - यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।13 हेर्, तैँले अन्‍यायसित नाफा गरेको र तेरो बीचमा भएको रक्तपातलाई मैले आफ्नो हातले प्रहार गरेको छु ।14 मैले तँसित व्यवहार गरेको दिनमा के तेरो हृदय स्थिर रहला, अनि तेरो हात दह्रिलो होला र ? म परमप्रभुले यो घोषणा गर्दैछु, र म त्‍यसै गर्नेछु ।15 यसैले म तँलाई जातिहरूका बीचमा छरपष्‍ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु ।16 यसरी तँ जातिहरूका दृष्‍टिमा तँ अशुद्ध हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैँले जान्‍नेछस्' ।17 त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो,18 "ए मानिसको छोरो, इस्राएलको घराना मेरो निम्ति थेग्रो भएको छ । ती सबै जना तिमीहरूका बीचमा काँसा, जस्ता, फलाम र सीसाका उब्रेका कुरा भएका छन् । तिनीहरू तेरो भट्टीमा चाँदीका थेग्राझैं हुनेछन् ।19 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'तिमीहरू सबै जना थेग्रा जस्ता भएका हुनाले, म तिमीहरूलाई यरूशलेमको बीचमा जम्मा गर्न लागेको छु ।20 जसरी चाँदी, काँसा, फलाम, सीसा र जस्तालाई भट्टीमा गलाउनलाई मानिसहरूले जम्मा गर्छन्, त्‍यसरी नै म पनि मेरो रीस र मेरो क्रोधमा तिमीहरूलाई जम्मा गर्नेछु, र म तिमीहरूलाई त्‍यहाँ हाल्नेछु र तिमीहरूलाई गाल्नेछु ।21 म तिमीहरूलाई भेला गर्नेछु, र मेरो क्रोधको आगोमा तिमीहरूलाई फुक्‍नेछु, र तिमीहरू त्‍यसैभित्र गल्नेछौ ।22 जसरी भट्टीमा चाँदी गल्छ, र तिमीहरू त्‍यसभित्र गल्नेछौ, र म परमप्रभुले नै तिमीहरूमाथि आफ्नो क्रोध खन्‍याएको हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।23 परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,24 "ए मानिसको छोरो, त्‍यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्‍यहाँ वर्षा हुँदैन ।25 गर्जने सिंहले शिकार टुक्र्याएझैँ त्‍यसको बीचमा भएका त्‍यसका अगमवक्ताहरूले एउटा षड्‌यन्‍त्र रच्‍छन् । तिनीहरूले मानिसहरूलाई निल्छन् र बहुमूल्य धन लुट्छन् । त्‍यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन् ।26 त्‍यसका पूजाहारीहरूले मेरो व्यवस्था भङ्‌ग गर्छन् र तिनीहरूले मेरा पवित्र चीजहरूलाई तुच्‍छ ठान्‍छन् । तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बीचमा भिन्‍नता छुट्‌याउँदैनन्, अनि अशुद्ध र शुद्धको बीचको भिन्‍नता सिकाउँदैनन् । तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् जसले गर्दा तिनीहरूका बीचमा म तुच्‍छ भएको छु ।27 त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्नो शिकार फहराउने ब्वाँसाहरू जस्ता छन् । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन् ।28 त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चूनले पोतेका छन्। तिनीहरूले असत्‍य दर्शन देख्छन् र तिनीहरूका निम्ति झूटा अगमवाणी बोल्छन् । तिनीहरू भन्‍छन्, “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ', जबकि परमप्रभु बोल्नुभएकै हुँदैन ।29 देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन् ।30 यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्‍ट नहोस् भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बीचमा मैले हेरेँ, तर मैले कोही पनि पाइनँ ।31 त्‍यसैले तिनीहरूमाथि म आफ्नो क्रोध खन्‍याउनेछु । मेरो रीसको आगोले म तिनीहरूलाई खतम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्लोमा हाल्नेछु - यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।"